नेकपा (एकीकृत समाजवादी) दसौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ।
२०७८ भदौमा नेकपा (एमाले) बाट विभाजित भएर एकीकृत समाजवादी गठन भएको थियो।
तथापि उसले आफ्नो महाधिवेशनलाई एमालेकै निरन्तरताका रूपमा दसौंको रूपमा व्याख्या गरेको छ।
एकीकृत समाजवादीले यही असार १६ गते महाधिवेशनको उद्घाटन गर्दैछ।
काठमाडौंमौ हुने महाधिवेशन असार २० गतेसम्म चल्नेछ।
यसअघि एकीकृत समाजवादीले जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको थियो। तयारी नपुगेपछि असार दोस्रो साता पुर्याइएको हो।
एकीकृत समाजवादीले अहिले राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट दस्तावेज पारित गर्दै छलफल गर्न तल्ला कमिटीमा पठाएको छ।
ठूलो विपत्ति, प्राकृतिक प्रकोप लगायतका घटना नभए महाधिवेशन निर्धारित मितिमै हुने एकीकृत समाजवादीले बताएको छ। यद्यपि प्रतिनिधि चयनको भने टुंगो लागिसकेको छैन। बुधबार बस्ने सचिवालय बैठकले प्रतिनिधि संख्या र चयनको विधि टुंगो लगाउने छ।
सम्मानित नेता झलनाथ खनालका अनुसार असार ५ गते देशभर एकै दिन प्रतिनिधि चयन हुनेछन्। एकीकृत समाजवादीमा अध्यक्षदेखि सदस्यसम्म वडाबाटै महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था छ।
एकीकृत समाजवादीमा एक लाख ५० हजार सदस्य रहेका छन्। एक सय ५० पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि चुनिने केन्द्रीय सदस्य मोहन गौतमले बताए।
महाधिवेशनमा करिब १७ सय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए।
महाधिवेशनको तिथि नजिकिँदै जाँदा नेतृत्वलाई लिएर रस्साकस्सी पनि सुरू भइसकेको छ। त्यसको छनक भ्रातृ संगठन युवा संघ भित्रको विवादले पनि देखाइसकेको छ।
एकीकृत समाजवादीको युवा संघमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको छुट्टाछुट्टै कमिटी हुने अवस्था सिर्जना भएको छ।पार्टीले गत भदौ ९ गते युवा संघको संयोजकमा कृष्ण विश्वकर्मा र सहसंयोजकमा नितेश पौडेललाई जिम्मेवारी दिएको थियो।
त्यसबेला विदेश गएका, निष्क्रिय सदस्य हटाएर कमिटीको आकार एक हजार एक सय ८६ बनाउने, सचिवालयको गठन गर्ने र फागुनभित्र अधिवेशन गर्ने समझदारी थियो।
तर संयोजकको जिम्मेवारी पाएका विश्वकर्माले अधिवेशनको तयारी नगरी संगठन 'कब्जा गर्नतिर लागेको' भन्दै सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गरेका थिए।
गत शनिबार उनले आफ्नो नेतृत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेका थिए। पौडेल अध्यक्ष नेपालनिकट हुन्।
आवरणमा यो युवा संघभित्रको विवाद देखिए पनि एकीकृत समाजवादीका नेताहरू भने अध्यक्ष नेपाल र सम्मानित नेता खनालकै विवादका रूपमा बुझ्छन्।
‘नितेश पौडेलले पार्टी अध्यक्षसँग सल्लाह गरेरै समानान्तर कमिटी बनाएका हुन्। महाधिवेशनको मुखमा युवा संघभित्र विवाद सिर्जना गर्नुलाई हामीले कसरी बुझ्ने?,’ युवा संघका एक नेताले भने, ‘हामीले यसलाई महाधिवेशनकै रिहर्सलका रूपमा बुझेका छौं।’
महाधिवेशनमा अध्यक्ष नेपालले दोहोरिने चाहना राखेका छन्। सम्मानित नेता खनाल उनलाई चुनौती दिन मैदानमा उत्रने तयारी गर्दैछन्।
यसबीचमा पार्टीभित्र राजनीतिक, वैचारिक मतभिन्नता पनि देखापरेको थियो।
अध्यक्ष नेपाल २०४९ सालको पाँचौं महाधिवेशनबाट एमालेले अघि सारेको जनताको बहुदलीय जनवादलाई त्याग्न नसकिने बताउँदै आएका थिए।
यद्यपि महाधिवेशनका लागि तयार पारिएको दस्तावेजमा भने अध्यक्ष नेपालले मुलुकमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको उल्लेख गरेका छन्।
दलाल–नोकरशाही पुँजीपति वर्ग र आम नेपाली श्रमजीवी जनताबीचको अन्तर्विरोध नै वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध रहेको चित्रण गरेका छन्।
त्यस्तै उनले अहिलेको कार्यनीति जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर समाजवादको आधार निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्।
यो दृष्टिकोण एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवादभन्दा भिन्न होइन।
खनाल भने यसभन्दा भिन्न मत राख्छन्। उनले जनवादी क्रान्तिको कार्यभार पूरा भइसककाले अब वैज्ञानिक समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्नुपर्ने तर्क गर्छन्।
‘हामीले विकास गरेको आन्दोलनको सन्दर्भमा जनताको बहुदलीय जनवाद औचित्यहीन भइसक्यो। जनताको बहुदलीय जनवाद जनवादी क्रान्तिकै रूप हो। अब समाजवादको आधार तयार गर्दै वैज्ञानिक समाजवादका दिशा तय गर्न नयाँ दृष्टिकोण चाहिन्छ,’ उनले भने।
एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा यही हुने विश्वास पनि व्यक्त गरे।
‘समाजवादको आधार निर्माण गर्ने, त्यसका लागि दलाल पुँजीलाई प्रतिस्थापन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने, राष्ट्रिय स्वाधीन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने नै हाम्रो लक्ष्य हो,’ उनले भने, ‘जबजबाट हामी निकै पर पुगिसक्यौं।’
उनले घुमाउरो हिसाबेले दोस्रो र नवौं महाधिवेशनको अवस्था दोहोरिन नदिने बताए। अर्थात् महाधिवेशनले जसको नीति पास गर्छ, पार्टीको नेतृत्व उसैले गर्न पाउनुपर्ने उनको तर्क थियो।
नेकपाको दोस्रो महाधिवेशनमा २०१४ जेठ १५ देखि २५ गतेसम्म काठमाडौंको दरबारमार्गमा भएको थियो।
केशरजंग रायमाझीले ‘पार्टीको कार्यक्रममा परिवर्तन किन?’ नामको दस्तावेज अघि सारेका थिए। महाधिवेशनको हलले त्यसलाई अस्वीकार गरेको थियो।
तत्कालीन महासचिव पुष्पलालले पेश गरेको संविधान सभा र गणतन्त्रको कार्यक्रमिक नारासहितको दस्तावेज पारित गरेको थियो। तर महासचिव केशरजंग रायमाझी चुनिए। पछि उनी २०१७ पुस १ को राजा महेन्द्र शाहको जननिर्वाचित सरकारलाई 'कू'मार्फत् हटाउने कदमको समर्थन गर्दै दरबार पसेका थिए।
२०७१ सालको नवौं महाधिवेशनमा पनि माधवकुमार नेपाल, घनश्याम भूसालहरूले अघि सारेको राजनीतिक विचारधारा पारित भएको थियो। तर अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए। त्यतिबेला घनश्यामहरूले अघि सारेको विचारधारा नै अध्यक्ष नेपालले महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजको सार हो।
सम्मानित नेता खनालले राजनीतिक विचारधाराको कुरा उठाउँदै नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने मनशाय देखाएका छन्। ‘जसको नीति उसकै नेतृत्व हुने हो भने पार्टी आन्दोलनलाई राजनीति र विचारसँग सामञ्जस्य गराएर लैजान सकिन्छ,’ उनले भने।
उनले आफू नेतृत्वबाट तर्कने र भाग्ने अवस्था नरहेको बताए। ‘पार्टीको नेतृत्व गर्नुस्, पार्टीलाई राजनीतिक, वैचारिक हिसाबले सुदृढ तुल्याउनुस् भनेर साथीहरूले जिम्मेवारी दिनुहुन्छ भने म भाग्ने कुरा आउँदैन,’ उनले भने।
त्यस्तै एक लाख ५० हजार सदस्य भएको पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसक्नाको कारण खोजिने र त्यसको पनि समीक्षा हुने बताए।
‘पार्टीलाई राजनीतिक, वैचारिक र कार्यक्रमिक हिसाबले चुस्त र व्यवस्थित बनाउने हो भने आन्दोलनलाई पुनव्र्यवस्थित गर्न सकिन्छ भन्ने आत्मविश्वास छ। साथीहरू त्यो ऊर्जा पनि देखिन्छ,’ उनले भने।
पार्टीका एक केन्द्रीय सदस्यले खनालले अध्यक्षमा उम्मेदवारी दिने बताए। ‘अहिलेसम्मको अवस्था हेर्दा खनालले उम्मेदवारी दिने मनशाय बनाउनुभएको छ। एक–दुई दिनमा उहाँले यसबारे औपचारिक जानकारी दिनुहोला,’ ती नेताले भने।
त्यसो त महासचिव घनश्याम भूसालले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने सोच बनाएका थिए। तर विद्रोह गर्नेबेलामा दस बुँदे बोकेर एमालेमै रहेकाले उनले नैतिक साहस जुटाउन नसकेको अर्का एक नेताले बताए।
‘उहाँलाई त एउटै वाक्य काफी हुन्छ, अप्ठ्यारो बेलामा खुट्टा छाड्नुभयो कमरेड! भन्नेबित्तिकै उहाँको मुख बन्द हुने अवस्था हुन्छ,’ ती केन्द्रीय सदस्यले भने।
उनले पनि अध्यक्ष नेपाल र खनालका बीचमा प्रतिस्पर्धा हुन सक्ने बताए। अध्यक्ष नेपालसहित नेताले एमालेबाट विद्रोह गर्दै गर्दा खनाल स्वदेशमा थिएन्। उनी उपचारको सिलसिलामा दिल्ली थिए।
नेपाल आएर भने उनले अध्यक्ष नेपाललाई साथ थिए। तर अध्यक्ष खनाल र नेपालको सम्बन्ध भने त्यति सुमधुर छैन। ओअर्डिनेशन केन्द्र बनाउँदाका आठ नेतामध्ये हुन्- खनाल र नेपाल।
२०३२ जेठ १५ र १६ गते मिल्स एरिया विराटनगरमा कोके गठन हुँदा सिपी मैनाली महासचिव थिए। माधवकुमार नेपाल दोस्रो वरियताको पोलिट्ब्यूरो सदस्य थिए। रामचन्द्र यादव पोलिट्ब्यूरो सदस्य थिए।
मुकुन्द न्यौपाने, अमृत बोहोरा, झलनाथ खनाल, गोविन्द न्यौपाने, मणिलाल राई केन्द्रीय सदस्य थिए।
त्यसपछि २०३५ साउनमा धनुषाको कचुडीमा बसेको बैठकले मदन भण्डारी, जीवराज आश्रित, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रितलाई थप्यो र १२ सदस्य पुर्याएको थियो।
२०३९ सालमा सिपी मैनालीलाई महासचिवबाट हटाइयो। दोस्रो वरियतामा रहेका माधवकुमार नेपाललाई पार्टी महासचिव बन्ने अवसर आएको थियो। उनले आँट गरेनन्।
सिपीले माधव नेपाललाई महासचिवको जिम्मेवारी लिन भनेका थिए। त्यतिबेला माधव नेपाल पार्टीको पूर्वाञ्चल प्रमुख थिए। माधव नेपाल र वामदेव गौतमको प्रस्तावमा सिपीपछि झलनाथ खनाल महासचिव भएको एमालेका नेताहरू बताउँछन्।
२०३९ देखि २०४६ भदौसम्म खनालले नेकपा (माले) को महासचिव बने। २०४६ भदौ ९–१४ गते भएको चौथो अधिवेशनबाट मदन भण्डारी पार्टीको महासचिव बने।
भण्डारी पाँचौं महाविधेशनपछि पनि महासचिवमा दोहोरिए। २०५० सालमा दासढुंगामा भण्डारीको मृत्यु भएपछि महासचिव बनेका माधवकुमार नेपालले १५ वर्ष एमालेको नेतृत्व गरे।
२०६४ सालको संविधान सभाको निर्वाचनमा एमालेले धक्का व्यहोरेपछि नेपालले महासचिवबाट राजीनामा दिए। त्यसपछि नेतृत्व झलनाथ खनालको काँधमा आएको थियो। खनालले २०७१ सालसम्म एमालेको नेतृत्व गरेका थिए।
पार्टी नेतृत्व छाडेको १० वर्षपछि फेरि खनाल उक्त पदका लागि तयारी गर्दैछन्।