गृहमन्त्री रवि लामिछानेले योग्य हुँदाहुँदै पनि नागरिकता नपाएकाहरूसँग सरकारको तर्फबाट माफी मागेका छन्।
काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको नागरिकता र नागरिकता सम्बन्धी विषयवस्तुमा अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘मेरो सम्मान छ तमाम आमाहरूलाई जसले तपाईंहरूजस्ता नागरिकहरूलाई जन्म दिनुभएको छ। यो देशका सुयोग्य नागरिक र भविष्यलाई हुर्काउनुभएको छ,’ उनले भने, ‘जुन ढंगले राज्यले बेवास्ता गर्दा तदारूकता नलिँदा जुन पीडा तपाईंहरूले भोग्नुपर्यो म नेपाल सरकारको तर्फबाट हात जोडेर क्षमा माग्न चाहन्छु।’
नागरिकता सम्बन्धी कार्यविधि १ महिनाभित्र ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन्।
उक्त कार्यविधिको तयार गरिरहेको गृह मन्त्रालयले बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा उनले सरोकारवालाहरूसमक्ष यस्तो प्रतिबद्धता जनाएका हुन्।
‘हाम्रो सचिवज्यूले नागरिकता सम्बन्धी कार्यविधि १ महिनाभित्र ल्याउने भन्नुभएको छ। हामीले तपाईंहरूका समस्या सकेसम्म सम्बोधन गर्ने कार्यविधि ल्याउँछौं,’ उनले भने।
आफूले जति मानिसका दु:ख कसैले नसुनेको भन्दै उनले अब नागरिकको दु:खको भारी आफूले बोक्ने बताए।
‘देशमा विदेशमा शासकहरूले दिएका दुख, नियम कानुनका कारणले पाउनुपरेको पीडाबाट देशमा मात्र होइन विदेशमा पनि नागरिकले बगाएका आँसुको भेलले मलाई यहाँसम्म ल्याएको छ। मैले कति काम गर्नुपर्छ भन्ने मलाई हेक्का छ,’ नागरिकता नपाएर झन्झट झेलिरहका युवाहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसअघि तपाईंहरू धेरै ठाउँमा गएर दु:ख पोख्नुभयो होला। अरूले सुने सुनेनन् थाहा छैन। तर मैले बुझेको छु। म तपाईंको दु:खको भारी बोक्ने हो। नागरिकका दु:खको भारी जति गह्रौ भए पनि मैले बोक्छु। तपाईंका समस्या समाधान गर्न आजको कार्यक्रम राखिएको हो।’
कार्यक्रममा उनले शिक्षामन्त्री सुमना श्रेष्ठप्रति केपीओलीले गरेको टिप्पणी आपत्तिजनक रहेको पनि बताए।
‘पितृसत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय बिहेका लागि लड्नुपरेको थियो आज देशविदेशमा मान्छेहरू फैलिएका छन्। अन्तरदेशीय विवाह भइरहेको छ तर पितृसत्तालाई यो मन परेको छैन,’ उनले भने, ‘त्यसैले कैयौं टिप्पणीहरू आउने गरेका छन्। केहीदिन अघि शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौं। तपाईंले कसलाई माया गर्ने को सँग बिहे गर्ने तपाईंको निर्णय मात्र हो। त्यो निर्णयको सम्मान गर्ने बाहेक अरूले केही गर्न सक्दैन।’
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षामनत्री सुमना श्रेष्ठलाई लक्षीत गर्दै- विदेशीसँग विहे गरेर नेपाल घुम्न आएकी यहाँ समानुपातिक सांसद भइन्, मन्त्री भइन् भनेर टिप्पणी गरेका थिए।
लैंगिक अल्पसंख्यको पनि मुद्दा आफूले सम्बोधन गर्ने गृहमन्त्री लामिछानेको भनाइ छ।
‘अहिले एलजिबिटीक्यूको समस्या पनि आइरहेको छैन उहाँहरूप्रति अझै समाज उदार भएको छैन। कुन दु:ख कुन पीडामा उहाँहरूले जिन्दगी गुजारिरहनुभएको छ,’ उनले भने, ‘मैले भनेको छु, तपाईंहरूको जिन्दगी तपाईंहरूको च्वइस छनोट। तपाईंले कसलाई माया गर्ने भन्ने कुरा यो समाजका ठेकेदारले भन्ने होइन तपाईंले भन्ने हो। तपाईंहरूको अधिकारको सुनिश्चितता गर्ने राज्यले हो। हामीले तपाईंको सुनिश्चितता गर्न लड्ने छौं। त्यो हाम्रो जिम्मेवारी हो।’
कार्यक्रममा उपस्थित युवाहरूलाई सम्बोधन गर्दै उनले भने- चाहे आमाका नामबाट नागरिकता पाउने विषय हुन् चाहे बावुको पहिचान नभएका विषय हुन् यी सबैलाई एउटै फरक फरक सम्बोधन गर्नु पनि पर्नेछ। तर राज्यले काम नगर्दा नागरिकले पीडा पाउनु अपराध हुन्छ। म आफ्नो कार्यकालमा तपाईंहरूलाई सुनिश्चित गर्न लाग्ने प्रतिबद्धता जनाउँछु।
जटिलता एउटा कानुनले र अर्को कर्मचारीले सल्टाउनुपर्ने गरि दुई किसिमका रहेको उनले बताए।
नागरिकबाट आफूहरूले पाएको अधिकार उनीहरूलाई नै दिन उनले कर्मचारीलाई आह्वान गरे।
उनले नागरिकता बाँड्ने सिडिओहरूलाई ढुक्कले काम गर्न निर्देशन समेत दिए।
‘मैले बारम्बार भनेको छु, नीति नियममा समस्या छैन भने, अदालतले आदेश दिइसकेको छ भने उस्तै प्रकृतिका अरू समस्या पनि त्यही नजिर हेरेर गरिदिनुहोस्,’ उनले भने, ‘म सिडिओ सापहरूलाई बाघ जस्तो हेर्न चाहन्छु, बिरालो जस्तो होइन। नागरिकको अधिकार दिनुहोस्। तपाईंहरूलाई अप्ठ्यारो परेको छ भने मलाई टिप्पणी उठाएर ल्याउनुहोस् म गर्छु कहाँ गर्नुपर्ने हो सही। म खेप्छु मुद्दा।‘
‘नागरिकहरूलाई यो कोठा र उ कोठा त्यो मन्त्रालय र उ मन्त्रालय, फलानो मन्त्री सचिव भेट भन्ने होइन,’ उनले अघि भने, ‘अब एकै ठाउँबाट हुन्छ काम। आजका दिनदेखि नागरिकलाई यसरी कार्यालय पठाउनु भयो भने तपाईंहरूको जिम्मा हुन्छ हामी त्यसलाई गम्भीर रूपमा लिन्छौँ।’
उनले कानुनले नागरिकता प्राप्तिमा पारेका बाधाहरू फुकाउन पनि आफूले पहल गर्ने बताए।
गृह मन्त्रालयले विभिन्न विषयगत ‘प्यानल डिस्कसन’ चलाएको थियो। ती विषयसँग सम्बन्धित समस्या भएका सर्वसाधारणहरू उपस्थित थिए।
अहिले पनि आमाको नामबाट मात्र नागरिकता पाउन, जन्मसिद्धका सन्तानले नागरिकता पाउन र विदेशी बाबु अनि नेपाली आमाका सन्तानले अंगीकृत नागरिकता पाउन आफूले झेलेका कार्यविधिगत समस्याहरू उनीहरूले सुनाएका थिए।
संविधान र कानुनले यी सबै अवस्थाका व्यक्तिहरूलाई नागरिकता दिने व्यवस्था भए पनि कतिपय नियमावली र कार्यविधिले बाधा पारेको उनीहरूको भनाइ थियो। सरकारी कर्मचारीका कारण पनि आफूहरू धेरै समस्यामा परेका गुनासा पनि कार्यक्रममा उपस्थित महिला तथा युवाहरूले सुनाएका थिए।