नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सरकार सञ्चालन र गठनका सन्दर्भमा प्याकेजमै सहमति चाहेको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच चरण–चरणमा छलफल भएको थियो।
खास गरी मधेसमा सरकार गठनमा परेको गाँठो फुकाउन उनीहरूबीच छलफल केन्द्रित थियो। त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिन माओवादी केन्द्र र एमाले सहमत भइसकेका छन्।
तीन दलबीच सरकार गठन गर्ने सहमति हुँदा एकीकृत समाजवादीसँग छलफल नगरिएको असन्तुष्टि अध्यक्ष नेपालको छँदैछ। कथम् एकीकृत समाजवादी सरकारमा सहभागी नभए लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गर्ने उनीहरूको विश्वास थियो।
त्यसपछि बाध्य भएर एकीकृत समाजवादी पनि समर्थन गर्न आइपुग्ने उनीहरूको विश्वास थियो। तर महन्थ ठाकुर नेतृत्वको लोसपाले जनमतको नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने बताइसकेको छ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद चाहिन्छ। अहिले एमालेसँग सभामुखसहित २५, जनमतसँग १३, माओवादीसँग ९, एकीकृत समाजवादीसँग ७, लोसपासँग ९ सांसद छन्।
एकीकृत समाजवादी सहभागी भए मधेसमा गठबन्धनको पक्षमा ५३ मत पुग्छ। नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसदले पनि समर्थन गर्ने सत्ता गठबन्धनका नेताहरूले बताएका छन्।
उता एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एमाले सहभागी नभएर अड्काइराखेको छ। त्यहाँ एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नहुने भन्दै अर्घेल्याइँ गरेको थियो। अध्यक्ष नेपालले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले स्वीकार्न बाध्य भएको थियो।
सुदूरपश्चिम सरकारले जेठ २० गते नीति कार्यक्रम ल्याइसकेको छ। अहिले एमाले सरकारमा सहभागी भइदिए बजेट निर्माणमा सघाउ पुग्नुका साथै कर्मचारीको मनोवृत्तिमा परेको सरकारको स्थायीत्वका आशंका पनि मेटिने एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीले बताए।
‘बजेट बनाउने बेला भएको छ, मन्त्रालय खाली छन्। अहिले बजेट त बन्ला तर भोलि आउने मन्त्रीले त्यसको अपनत्व लिएनन् भने कार्यान्वयनमा समस्या उत्पन्न हुन्छ। अर्को, बजेटले राजनीतिक नेतृत्व पनि पाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यकारण मैले पार्टी अध्यक्ष माधव नेपालसँग पनि कुरा गरेको छु। एमालेका नेताहरूलाई पनि भेटेर सरकारमा सहभागी हुनुपर्यो भनेको छु। जति चाँडो एमाले सरकारमा सहभागी भयो, उति सरकार सञ्चालन र बजेट निर्माणमा सहज हुन्छ।’
उनले मंगलबार साँझसम्म केन्द्रमा सहमति जुट्ने विश्वास व्यक्त गरे।
त्यसका अतिरिक्त कोशी प्रदेशमा सरकार गठन गर्ने बेलामा पनि एकीकृत समाजवादीसँग सरसल्लाह नगरिएको भन्दै अध्यक्ष नेपालले असन्तुष्टि पोख्दै आएका छन्। कर्णाली प्रदेशमा पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराइएको छैन।
‘सुदूरपश्चिम प्रदेशमा एमाले सरकारमा किन सहभागी नभएको हो? कोशीमा सरकार गठनका बेलामा एकीकृत समाजवादीको साथ किन खोजिएन? मधेसमा अप्ठ्यारो पर्यो भनेर हामीले सहयोग गर्ने कुरा आउँदैन,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमले भने।
उनले स्थान विशेषभन्दा पनि एकीकृत समाजवादीले समग्र प्रदेशहरूको प्याकेजमा सहमति खोजेको बताए। शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा अध्यक्ष नेपालले त्यही कुरा राखेको बताए।
‘सुदूरपश्चिम, मधेस र कोशी प्रदेशको समग्र सरकार गठन, सञ्चालनबारे प्याकेजमै सहमति हुनुपर्ने अध्यक्ष नेपालको मत छ,’ उनले भने।
सुदूरपश्चिम र मधेस प्रदेशका एकीकृत समाजवादी र एमालेका नेताहरूले केन्द्रकै निर्णय पर्खिइरहेका छन्।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एकीकृत समाजवादीले खुट्टा उचाल्दै हिँडेकाले सरकारमा सहभागी नभएको बताए।
‘हामी किन सहभागी भएनौं भन्ने प्रश्नै होइन। यो प्रश्न हामीलाईभन्दा उनीहरू (एकीकृत समाजवादी) लाई उपयुक्त हुन्छ। उनीहरूले खुट्टा उचाल्दै हिँडेका थिए,’ उनले भने।
उनले सोमबारको शीर्ष नेताहरूको संवाद, निष्कर्ष प्रदेशमा आइनपुगेको बताए। ‘राष्ट्रिय राजनीतिको प्रभाव केन्द्रसम्म आइपुगेको हो। प्रदेशको समस्या होइन। त्यसकारण केन्द्रमा जे सहमति हुन्छ। त्यो हामी कार्यान्वयन गर्छौं,’ उनले भने।
एकीकृत समाजवादी मधेस संसदीय दलका नेता गोविन्द न्यौपानेले मंगलबारसम्म पार्टी निष्कर्षमा पुग्ने बताए। ‘सोमबारको छलफल र त्यसको निष्कर्षबारे तल केही भन्नुभएको छैन। आज दिउँसो छलफल गरेर निचोडमा पुग्नुहोला। हामी केन्द्रकै नेताहरूको निर्देशनको प्रतीक्षामा छौं,’ उनले भने।
प्रधानमन्त्रीको सचिवालयले प्रदेश सरकारका विषयमा सैद्धान्तिक सहमति भइसकेको जिकिर गर्यो। मन्त्रालयहरूको टुंगो लाग्न बाँकी रहेको सचिवालयको भनाइ छ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टी नेतृत्वको वर्तमान सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएका छन्। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले बुधबार (जेठ २३ ) मा विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री यादवको पक्षमा जसपा, नेपालका १९ र नेपाली कांग्रेसका २२ सांसदको समर्थन देखिएको छ। लोसपाले समर्थन गर्दा पनि जसपा, नेपाललाई सरकार जोगाउन ४ मत अपुग हुने देखिन्छ।
हुन त नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि एक–एक सांसद छन्। तर उनीहरूले कता सहयोग गर्छन् भनेर टुंगो लागिसकेको छैन।
एकीकृत समाजवादी सत्ता गठबन्धनको पक्षमा उभिनेबित्तिकै मधेसमा जसपा नेपालको सरकार ढल्ने देखिन्छ।