नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अहिलेको सत्ता गठबन्धनप्रति त्यति खुसी छैनन्।
विशेष गरी सत्तारूढ नेकपा (एमाले) को व्यवहारले उनी असन्तुष्ट छन्।
गत फागनु २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको सहकार्य तोड्दा पनि अध्यक्ष नेपालसँग सल्लाह गरेका थिएनन्।
एमालेसँग सहकार्यका हात बढाउँदै समीकरण फेरबदल गरेको तर आफूलाई थाहै नदिएको भनेर रूष्ट अध्यक्ष नेपाल फागुन ३० गते विश्वासको मत लिने बेलामा मात्र अहिलेको गठबन्धनमा जोडिएका थिए।
त्यतिबेला ७ बुँदे सहमति गरेर एकीकृत समाजवादी सत्ता गठबन्धनमा गएको थियो। त्यसपछि पनि अध्यक्ष नेपालको अनुहारमा खुसी देखिँदैन।
‘परिस्थिति जटिल छ, गठबन्धन कहिले ओल्टो, कहिले कोल्टो भइरहेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन,’ अध्यक्ष नेपालले असन्तुष्टि पोख्दै वैशाख १० गते भनेका थिए।
गठबन्धनको मुख्य घटक एमालेले एकीकृत समाजवादीको अस्तित्व नै अस्वीकार गरेको चित्त दुखाइ अध्यक्ष नेपालको छ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। सुरूमा एमालेले सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिनै चाहेको थिएन। नागरिक उन्मुक्ति पार्टीलाई त्यहाँको नेतृत्व दिने चाहना एमालेको थियो।
तर नागरिक उन्मुक्ति पार्टी नै अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा विभक्त भएपछि एमालेको त्यो चाहना पूरा भएन। रेशमले आफूनिकट सांसदलाई कांग्रेसको सहयोगमा मुख्यमन्त्री बन्न भनेका थिए। रञ्जिता भने प्रचण्ड नेतृत्वको अहिलेको गठबन्धनको पक्षमा उभिइन्।
गठबन्धनभित्र सहमति भइसकेपछि पनि एमालेले अर्घेल्याइँ गरेको एकीकृत समाजवादीको बुझाइ छ। एमालेको अर्घेल्याइँबाट आजित भएका नेपाल कांग्रेससँगको संवादमा पुगेका थिए।
गत वैशाख ६ गते कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच हात्तीगौंडास्थित पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काको निवासमा भेटवार्ता भएको थियो। त्यस भेटवार्तामा सभापति देउवाले सुदूरपश्चिको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउने वचन दिएपछि एमालेले बल्ल दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न तयार भएको थियो।
विश्वासको मतमा एमालेले पुनः आनाकानी गर्यो। जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि सशंकित बनेका नेपालको आवाज मत्थर भएपछि र अहिलेको गठबन्धनप्रति प्रतिबद्ध छु भन्ने सुनिन थालेपछि मात्रै सोडारीले विश्वासको मत लिने अवस्था बन्यो।
तर एमाले अहिलेसम्म सुदूरपश्चिम सरकारमा सहभागी भएको छैन। गठबन्धनभित्र असन्तुष्ट रहँदै आएका अध्यक्ष नेपाल बुधबार अपराह्न ५ बजे विपक्षी दलहरूको बैठकमा सहभागी भए। यसले राजनीतिक वृत्तमा सानोतिनो तरंग ल्यायो।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटमा वर्तमान समीकरणबारे कुराकानी भएको नेता खनालले बताए। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।
‘विपक्षीहरू यो गठबन्धन भत्काउन कस्सिएर लागेका छन्। त्यही सन्दर्भमा प्रधानमन्त्रीसँग कुराकानी गर्न गएको थिएँ,’ खनालले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले गठबन्धन दृढतापूर्वक अघि बढ्ने बताउनुभयो। वामपन्थीहरूका बीचको सहकार्यलाई अझ कसिलो बनाएर लैजाने बताउनुभयो। मैले यो गठबन्धन तलमाथि हुने कुनै सम्भावना देखिनँ।’
अहिलेको समीकरणमा कुनै समस्या नरहेको पनि खनालले बताए। यद्यपि बुधबार अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठ गएको दृश्यचाहिँ आफूलाई नमीठो लागेको खनालको भनाइ छ।
‘उहाँ (अध्यक्ष नेपाल) विपक्षीहरूको बैठकमा जानुभएको मैले पनि समाचारबाट थाहा पाएको हुँ। त्यो दृश्य मलाई मीठो लागेको छैन। उहाँ पार्टीका कसैसँग छलफल गरेर जानुभएको हो कि, एक्लै जानुभएको हो, यसबारे आगामी बैठकमा छलफल होला,’ उनले भने।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार अध्यक्ष नेपाल निम्तो मान्न बूढानीलकण्ठ पुगेको बताए।
‘विपक्षी दलका नेताले बोलाएको बैठकमा अध्यक्षज्यू निम्तो मान्न जानुभएको हो, गठबन्धनमा समस्या सिर्जना गर्ने र अविश्वास पैदा गर्ने हाम्रो कुनै उद्देश्य छैन,’ उनले भने।
स्रोतअनुसार मधेश प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको अहिलेको सरकारलाई जोगाउन एकीकृत समाजवादी तत्पर देखिएको छ।
त्यहाँ एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिइसकेका छन्। समर्थनसमेत फिर्ता लिइसकेका छन्। एकीकृत समाजवादी भने सत्तामै रहेको छ। एकीकृत समाजवादीबाट गोबिन्दबहादुर न्यौपाने भूमि, व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली श्रम तथा यातायात मन्त्री छिन्।
१०७ सदस्य प्रदेश सभामा सरकार जोगिन ५४ मत आवश्यक छ। जनता समाजवादी पार्टी, नेपालसँग १९ सांसद रहेका छन्। विभाजित जसपाको पक्षमा सांसदहरू खुलिसकेका छैनन्।
कांग्रेस, एकीकृत समाजवादी र लोसपाको समर्थन पाउँदा त्यहाँको सरकार जोगिने विश्वास जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रहेको छ।
कांग्रेसका २२, एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका ८ सांसदको समर्थन पाउँदा सरकार जोगिने उनको बुझाइ छ।
एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले प्रदेशको अलगअलग विशेषताअनुसार समीकरण बन्ने बताए।
त्यसपछि हामीले उनलाई पार्टीको नीति नै यही हो भने सोधेका थियौं।
उनले यसबारे छलफल भइरहेको बताए।
‘प्रदेशको विशेषताअनुसार समीकरण बन्न सक्छ। तर त्यसको प्रभाव केन्द्रमा पर्न दिँदैनौं। पार्टीले औपचारिक निर्णय नै त गरेको छैन,’ उनले भने, ‘तर पार्टीमा छलफल भने भइरहेको छ।’
विपक्षीहरूको गठबन्धनमा सहभागी भएपछि अध्यक्ष नेपालसँग आफूले कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। बिहीबार बिहान अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको उनको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष नेपालले यही गठबन्धनप्रति प्रतिबद्ध रहेको जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार विराटनगर विमानस्थलमा पनि यही विश्वास व्यक्त गरे। अध्यक्ष नेपालले वर्तमान समीकरणबाट दायाँबायाँ नजाने भनेर आश्वस्त पारेको प्रधानमन्त्रीले बताएका थिए।
‘माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो। तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालले भने।
गत जेठ ७ गते विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएका थिए। सिके राउत नेतृत्वको पार्टीले विश्वासको मत दिएकाले प्रधानमन्त्रीले गत फागुन ३० गते बराबरमै मत पाएका हुन्।
एकीकृत समाजवादी बाहिरिनेबित्तिकै पुनः विश्वासको मत लिनुपर्ने हुन्छ भने अर्कोतिर कांग्रेसको नेतृत्वमा बन्ने वैकल्पिक गठबन्धनमा पनि मत पुग्ने सम्भावना हुन्छ।
यही कमजोर सत्ता–गणितका कारण माधवकुमार नेपालले बूढानीलकण्ठको बाटोतिर पाइला सोझ्याउनेबित्तिकै गठबन्धनमा तरङ्ग आएको हो।