प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेल भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रोस्टम घेराउ र प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोज्दा धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।
प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजेका लागि डाकिएको थियो। तर गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमति नजिक पुग्ने अवस्था बनेपछि सभामुख घिमिरेले बैठक चार बजेका लागि सारेका थिए। यद्यपी दलहरुले चार बजेसम्म कुनै सहमति जुटाउन सकेनन्। फलस्वरुप अपराह्न चार बजेका लागि डाकिएको बैठक झन्डै ६ बजे मात्र सुरू भयो।
सभामुख घिमिरेले 'बैठकको कारबाही सुरू हुन्छ' भनेलगत्तै कांग्रेस सांसदहरू रोस्टम घेराउ गर्न आइपुगे। सभामुख घिमिरे अवरोधबीच बैठक अघि बढाउने मुडमा देखिन्थे जस कारण मुठभेडको स्थिति उत्पन्न भयो।
उनले कांग्रेस सांसद रोस्टममा आइपुग्दा नपुग्दै शून्य र विशेष समय हटाइएको जानकारी गराए। शून्य समयमा सांसदहरूले बोल्न १ मिनेट समय पाउँछन् भने विशेष समयमा दलीय आधारमा समय दिइन्छ।
कांग्रेसको नाराबाजीबीच सभामुख घिमिरेले प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू प्रस्तुत गर्नुपर्ने, अध्यादेश टेबल गर्नुपर्ने र नीति तथा कार्यक्रममा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल हुन नसकेको बताए। उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण सम्बन्धी पहिलो पत्र पढेर सुनाए। कांग्रेस सांसदहरूले जोडतोड साथ नारा लगाए।
सभामुख घिमिरे केहीबेर रोकिए। उनले फेरि राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाए। सत्तापक्षका सांसदहरूले टेबल ठोकेर सभामुखले कार्यसूची अघि बढाएकोमा समर्थन जनाए।
सभामुखले फेरि पनि केहीबेर रोकिएर नाराबाजीतर्फ हेरे अनि बैठक अघि बढाउनतर्फ लागे।
उनले गृहमन्त्री रवि लामिछानले सदनमा उठेका विषयमा बोल्न समय माग गरेको र उनलाई बोल्न दिनुपर्छ भन्ने कुरा आइरहेको बताए।
'उहाँले बोल्न समय माग गर्नुभएको छ,' घिमिरेले भने, 'त्यसैले म रवि लामिछानेलाई बोल्न समय दिन्छु।'
गृहमन्त्री लामिछाने बोल्न भनेर रोस्टमतर्फ जान आफ्नो स्थानबाट उठेपछि उपसभामुख इन्दिरा रानामगरले बाटो छाडिदिइन्। उपसभामुखको आसन प्रधानमन्त्री र मन्त्रीहरू बस्ने लहरको देब्रेतर्फ हुन्छ। उपप्रधान एवं गृहमन्त्री बोल्न रोस्टम जाने बेला उपसभामुखले बाटो छाडिदिनुपर्छ।
उपसभामुख आसनबाट उठेपछि गृहमन्त्रीलाई बाटो छेक्न कांग्रेस सांसद धनराज गुरूङ र देवप्रसाद तिमिल्सिना पुगे। नेकपा एमालेका सांसदहरू त्यति बेला आफ्नो ठाउँबाट उठिसकेका थिए। सांसदद्वयले गृहमन्त्रीको बाटो छेकेपछि एमाले दलका नेता केपी शर्मा ओलीले कांग्रेस सांसद धनराज गुरूङलाई बोलाएर सो ठाँउबाट हट्न भने।
बुधबार नै नेकपा एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदमा पहिला गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने धारणा राखेका थिए। उनले 'कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने भन्दै कांग्रेसलाई बोल्न नदिने' बताएका थिए।
एमाले दलको बैठकमा ओलीको अभिव्यक्ति अनुसार नै बिहीबारको बैठकमा एमाले कांग्रेसको प्रतिवाद गर्ने मुडमा देखिन्थ्यो। ओलीले हट्न भनेपछि कांग्रेस सांसद गुरूङले थप जोडतोडका साथ नारा लगाए।
'हामी वेल घेराउको क्रममा थियौं। सभामुख जबरजस्ती कार्यसूचीमा प्रवेश गर्नुभयो। त्यसपछि हामीले जबरजस्ती गर्न पाइँदैन भन्ने नारा लगाएका थियौं,' गुरूङले सेतोपाटीसँग भने, 'मैले जबरजस्ती गर्न पाइँदैन भनेको हुँ। औंला उठाएर मैले तीन-चार पटक त्यही नारा लगाएको थिएँ।'
गुरूङले आफूलाई उक्त स्थानबाट हट्न ओलीले भनेको बताए।
'जबरजस्ती गर्न पाइँदैन भनेर म नारा लगाइरहेको थिएँ। त्यही बेला सत्तारूढ एमाले अध्यक्ष ओलीजी उठ्नुभयो। तपाईं यहाँ आउन पाउनु हुन्न भन्नुभयो,' गुरूङले भने, 'यो चाहिँ संसदीय मर्यादाभित्र पर्दैन, मैले जानेको यत्ति हो।'
नेकपा एमाले सांसद ठाकुर गैरेले धनराज गुरूङले गृहमन्त्रीको बाटो छेकेको बताए।
'सभामुखज्यूले गृहमन्त्रीलाई बोल्न दिनुभयो। त्यसपछि उपसभामुख उठेर गृहमन्त्रीलाई बाटो छोडिदिनुभयो। तर नाराबाजी गरिरहेका सांसद धनराज गुरूङ आएर बाटो छेक्न खोज्नुभयो,' गैरेले सेतोपाटीसँग भने, 'त्यस क्रममा पार्टी अध्यक्ष केपी ओलीले त्यहाँ तपाईं आउन मिल्दैन, उपसभामुखको आसनमा नउभिनूहोस्, आफ्नै 'रो' मा गएर नाराबाजी गर्नुहोस् भन्दा औंला ठड्याउनुभयो।'
उपसभामुख इन्दिरा राना मगरले धनराज गुरूङ आफ्नो सिटमा आएपछि ओलीले 'उता जाऊ' भनेको बताइन्।
'सभामुखले समय दिएपछि मैले गृहमन्त्रीलाई बाटो छाडिदिनुपर्यो। म सधैं उभिएर बाटो छाड्छु। मेरो सिटमा धनराज गुरूङ पस्नुभयो,' रानाले सेतोपाटीसँग भनिन्, 'केपी ओलीले उहाँहरूलाई उता जाऊ भन्नुभयो।'
धनराज गुरूङ र ओलीबीच बहस चलेपछि एमाले सांसदहरू ओलीको अघि आइपुगे। सांसद ठाकुर गैरे र प्रमुख सचेतक महेश बर्तौला ओलीको अगाडि उभिए। त्यसबीच रोस्टममा रहेका कांग्रेस सांसदहरू पनि त्यहीँ आइपुगे। दुवै पक्षबीच धकेलाधकेलको स्थिति बन्यो।
त्यसपछि भने सभामुख घिमिरेले हतार हतार बैठक स्थगित गरे। तर अवस्था सामान्य हुन समय लाग्यो। बैठक सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई मर्यादापालक र सांसदहरूले सुरक्षा घेरा बनाएर बाहिर निकाले।
के के भयो दिनभर?
सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटाउन बिहानै देखि प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय बनेका थिए। बिहानै बालुवाटरमा कांग्रेस सांसद जीवन परियार र राष्ट्रिय स्वततन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदीय समिति बनाउने सम्बन्धी तीन बुदेँ ड्राफ्ट तयार पारेका थिए। उक्त ड्राफ्टमा दलहरुबीच छलफल चलिरहेकै कारण बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ४ बजेका सरेको थियो।
संसदीय समिति गठनमा सहमति नजिक पुगेकै अवस्थामा संसद भवनमा बिहान प्रधानमन्त्री 'प्रचण्ड' ले कांग्रेस सांसदहरूलाई गृहमन्त्री लामिछानेलाई बोल्न दिन आग्रह गरेका थिए। उनले संसदीय छानबिन समिति बनाउने आश्वासन कांग्रेसलाई दिए।
तर बालुवाटारमा तयार पारिएको ड्राफ्टमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख थिएन। सांसद जीवन परियारले सोही रवि लामिछानेको नाम उल्लेख नभएको ड्राफ्ट कांग्रेस सांसदहरु सामु पुर्याएका थिए। बालुवाटारमा तयार पारिएको ड्राफ्टमा 'प्रतिपक्षीले उठाएको माग अनुसार सहरकारीको रकम अपचलनका सम्बन्धमा कानुनी र संस्थागत विश्लेषण गर्ने र अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे अध्ययन गरि कानुनी कारवाहीको सुझाव र सिफारिस गर्ने उल्लेख थियो।
तर कांग्रेस सांसदहरूले समिति बनाउने सम्बन्धी तीन बुँदे ड्राफ्टमा परिमार्जन गरेर रवि लामिछानेको नाम थपेर प्रधानमन्त्रीलाई दिए।
जसको पहिलो बुँदामा सहकारीमा देखिएको समस्याको समाधानको सिफारिस गर्ने उल्लेख थियो। दोस्रो बुँदामा संकटग्रस्त सहकारीबाट डुबेको बचतकर्ताको रकम फिर्ता गर्न आवश्यक उपाय सिफारिस गर्ने उल्लेख थियो। तेस्रो बुँदामा सुप्रिम, स्वर्णलक्ष्मी र सूर्यदर्शन सहकारीबाट अनुचित लाभ लिने गोर्खा मिडया नेटवर्क र प्रबन्ध निर्देशक रवि लामिछाने लागयतका शेयरधनी माथि कानुनी कारवाही सम्बन्धि सुझाव र सिफारिस गर्ने उल्लेख थियो।
कांग्रेसले रवि लामिछानेको नामै तोकेर ड्राफ्ट दिएपछि भने रास्वपाले तीव्र असन्तुष्टि जनायो।
प्रधानमन्त्री र कांग्रेसबीच संवाद भए पनि दिनभर एमाले कुनै दृश्यमा थिएन। एमाले समिति बनाउन नहुने अडानमै थियो। दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषदमा समिति बनाउने विषयमा छलफल गरे। संसदीय समिति गठनमा कांग्रेससँग समझदारीमा पुग्न सके ओलीलाई पनि मनाउन सकिने विश्वास प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको थियो। ओली बेगर नै दुवै नेताले संसदीय समिति गठनमा सक्रियता लिएका थिए।
तर सभापति रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति गठनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै हालतमा तयार थिएन। कांग्रेस सांसदहरूले तयार पारेको ड्राफ्ट प्रधानमन्त्रीलाई संसद भवनमै दिएका थिए। सत्तापक्षका सांसदहरूबीच कांग्रेसको ड्राफ्टलाई लिएर छलफल भएको थियो। तर लामिछानेको नामै किटेर छानबिन समिति गठन गर्न नसकिने अडान रास्वपाले लियो। समिति गठनको समझदारी बिलाएर गयो।
साँझ ६ बजे प्रतिनिधि सभा बैठकका लागि घण्टी बज्यो। बैठकमा मुठभेडको स्थिति बन्यो। सहमति नजिक पुगेर पनि दलहरू धकेलाधकेलको स्थितिमा पुगे।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्तापक्षको लहरमा कांग्रेस सांसद आइपुगेकाले सदनमा उत्तेजित अवस्था बन्न पुगेको बताए।
'गृहमन्त्रीलाई बोल्न दिने कुरा थियो। कांग्रेसले रोक्छ भन्ने पनि थियो,' बर्तौलाले भने, 'कांग्रेसले जबरजस्ती उपसभामुखको सिटमा आएर उभिएर नरोकेको भए हामी उठ्ने थिएनौं। हाम्रो अध्यक्षले उठेर त्यहाँ मिल्दैन भन्नुभयो। अनि हामी उठेको हो।'
उनले धनराज गुरूङ रूखो ढंगले प्रस्तुत भएको बताए।
कांग्रेस सांसद गगन थापाले भने धनराज गुरूङले नारा लगाइरहेका बेला ओलीले हप्काएको बताएका छन्।
कांग्रेसले अब संसदीय छानबिन समितिका विषयमा थप संवाद नगर्ने बताएको छ। सदनको तनावपछि पत्रकार सम्मेलन गरेर थापाले शुक्रबार ११ बजेको बैठकअघि नै सरकारले समिति ल्याउनुपर्ने बताएका छन्। उनले सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्।
'सभामुखको भूमिकाप्रति हाम्रो ठूलो प्रश्न र असन्तुष्टि छ। सदनमा मूठभेड सत्तापक्षले नै सिर्जना गर्न खोजेको हो,' थापाले भने, 'हामीले मुठभेड गर्न चाहेको भए सुरूको दिन नै वेल घेराउ गर्ने थियौं। हामी विभिन्न चरण पार गर्दै यहाँ आइपुगेका हौं।'