‘विद्यार्थी आन्दोलनले लामो समय व्यवस्था परिवर्तनमा गुजार्यो। २०६२/०६३ को आन्दोलनपछि अधिकार प्राप्तिको संघर्ष करिब पूरा भएको छ। अब विद्यार्थी आन्दोलनलाई कसरी सिर्जनात्मक रूप दिने? विद्यार्थी आन्दोलनको मुख्य चुनौती यही हो,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले केही दिनअघि यस्तो बताएका थिए।
विद्यार्थी आन्दोलनमा देखिएको यही संकट चिर्न नेकपा (एमाले) को भ्रातृ संस्था अनेरास्ववियुले तीन दिने महोत्सव आयोजना गरिरहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने महोत्सवमा परम्परागत ढाँचा–ढर्राका कार्यक्रम हुने छैनन्। ब्यानरमा बाहेक अन्यत्र संगठनको झन्डा पनि प्रयोग गरिएको छैन। उद्घाटन सत्रमा बाहेक मन्तव्यका कार्यक्रम पनि नराखिएको अध्यक्ष बडालले बताए।
‘विद्यार्थी आन्दोलनको ६० वर्षे इतिहासमै हामी पृथक कार्यक्रम आयोजना गर्दैछौं। यो साँच्चै महोत्सव हुनेछ। जहाँ एक सय बढी स्टलहरू राखिनेछन्। नवप्रवर्तन, उद्यशीलतादेखि करिअर काउन्सेलिङसम्मका प्रस्तुतिहरूले महोत्सवलाई रोचक मात्र बनाउने छैनन्,विद्यार्थी आन्दोलनले नयाँ फड्को पनि मार्नेछ,’ बडालले भने।
जेठ १ अनेरास्ववियुको स्थापना दिवस हो। २०२२ सालमा स्थापना भएको संगठनले ६० वर्ष पूरा गरिसकेको छ।
६ दशकको इतिहासमा संगठनको औचित्यमाथि नै प्रश्न उठ्न थालेकाले आन्दोलनमा सिर्जनात्मक आयाम थप्नुपरेको बडालको भनाइ छ।
त्यसैले नयाँ पुस्ताका रुचि र चाहनाका क्षेत्रमा संगठन डोर्याउनुपरेको उनले बताए।
‘सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै युवाको रुचि इ–गेमिङतिर छ। आजका पुस्ता रोबोटसँग अन्तरघुलित हुन चाहन्छन्। उनीहरूसँगै खेलेर ज्ञानको आयातन विस्तार गर्न चाहन्छन्। त्यसकारण हामीले इ–गेमिङ, रोबोटिक्स वारजस्ता प्रस्तुति महोत्सवको अंग बनाएका छौं,’ बडालले भने।
महोत्सवमा १५ वटा विधामा प्रस्तुति रहने बडालले बताए।
जसमा अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर, वृत्तचित्र प्रर्दशनी हुनेछ। लाइभ म्युजिक, चित्रकारिता, कन्सर्टहरू, करिअर काउन्सिलिङ, बहस र संवादहरू हुनेछन्।
यसका अतिरिक्त सात वटै प्रदेशको पहिचान, संस्कृति प्रतिविम्बित हुने झाँकी, स्वास्थ्य शिविर, खानेकुराका परिकारहरूको प्रदर्शनी, पर्यटन भिजन, नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारी दिइने स्टलहरू राखिएका छन्।
इ–गेमिङ र रोबो सकर र रोबोटिक्स वारमा विद्यार्थीहरूको विशेष चासो रहेको अनुभव बस्नेतले जानकारी दिए।
पूर्वाञ्चल विश्वविद्यालको विज्ञान तथा प्रविधि संकायका विद्यार्थी रहेका बस्नेत रोबो सकर र रोबोटिक्स वारमा पारङ्गत मानिन्छन्। नेपालका अलावा उनी भारतसम्म पुगेर रोबोटिक्स वारमा प्रतिस्पर्धा गरेका छन्।
विद्यार्थी संगठनले आयोजना गरेको यस्ता प्रकृतिको कार्यक्रममा भने पहिलोपटक सहभागी भएको उनले बताए। ‘विद्यार्थी संगठन भन्नेबित्तिकै तालाबन्दी, बन्द, हड्ताल गर्ने बुझ्थ्यौं। तर, इगेमिङ र रोबोटिक्स वारजस्ता कार्यक्रम पनि गर्दो रहेछ!,’ उनले भने।
रोबो सकर र रोबोटिक्स वारजस्ता प्रविधिमा आधारित प्रतिस्पर्धामा सीमित समूह रहेको पनि उनले बताए।
‘विद्यार्थी संगठनले यस्ता मञ्चहरू बनाए सूचना प्रविधिमा सफलता प्राप्त गर्न सघाउ पुग्छ,’ उनले भने, ‘हामीले अरू देशसँगको प्रतिस्पर्धामा पनि सफलता पाउँछौं,’ उनले भने।
भृकुटीमण्डपको प्रदर्शनी केन्द्रभित्र इ–गेमिङको स्टल राखिएको छ। प्रदर्शनी केन्द्रभित्रका डेढ सय स्टलमध्ये इगेमिङमा सबैभन्दा बढी भीड रहेको अनेरास्ववियुका कार्यकर्ता रेयन्स पटेलले बताए।
पटेल आफै पनि इगेमिङमा रुचि राख्छन्। महोत्सवमा इ–फुटबल, मोबाइल लेजेन्ड्स, डोटा–२, काउन्टर स्ट्राइक, पब्जी लगायतका खेल समाविष्ट छन्। जसले युवा र विद्यार्थीमा आकर्षण बढाएको पटेलले बताए।
‘इगेमिङलाई गेम नै नमान्नेहरू छन्। महत्त्वपूर्ण संगठनले चिनारी दिएपछि विद्यार्थीको रुचि बढ्ने नै भयो। यसले महोत्सवमा आकर्षण पैदा गरेको छ,’ उनले भने।
महोत्सवमा जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता युवा पुस्तामाझ परिचित ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन्।
‘विद्यार्थी आन्दोलन कहाँकहाँ अनुपस्थित छ। संगठन कहाँकहाँ पुग्न सकेको छैन। विद्यार्थीहरूको रूचि र हाम्रो कार्यशैलीबीच कहाँकहाँ तालमेल मिलिरहेको छैन, ती ठाउँमा अनेरास्ववियु पुर्याउने र उनीहरूको रूचि संगठनसँग जोड्ने प्रयासमा छौं,’ बडालले भने, ‘आन्दोलनमा अब नवीनता नथप्ने हो भने विद्यार्थी आन्दोलनले गति लिँदैन र विद्यार्थी संगठन आवश्यक नै छैन भन्ने विचारलाई बल पुग्छ।’
महोत्सवमा सरकारी–सामुदायिकका अतिरिक्त निजी शिक्षण संस्थाका स्टल राखिएका छन्। सामुदायिक शिक्षण संस्थाका स्टल निःशुल्क गरिएका छन्।
निजी र विदेशी सम्बन्धन शिक्षण संस्थाबाट पनि शुल्क लिइएको बडालले बताए। ‘३४ हजारभन्दा बढी विद्यार्थी विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थामा छन्। उनीहरूलाई यस अभियानमा जोडौं, त्यहाँ पनि संगठन पुर्याऔं भन्ने हाम्रो अभिप्रायः हो,’ बडालले थपे।
महोत्सवमा कानुनी सहायता कक्ष पनि राखिएको छ। जसको संयोजन अनेरास्ववियुको नेपाल ल क्याम्पस कमिटीले गरेको रक्षा क्षेत्रीले बताइन्।
‘हामीले यहाँ कानुनी परामर्श दिइरहेका छौं नै, हामीले आफैँले उत्पादन गरेको विभिन्न आकार–प्रकारका मैनहरूलाई पनि स्टलमा राखेका छौं,’ उनले भनिन्, ‘यस्ता महोत्सवले पढ्दै कमाउँदै गरेका विद्यार्थीहरूलाई हौसला बढाउँदो रहेछ।’
काठमाडौंको टेक्सास कलेजमा बिएससी सिएसआइटीमा अध्ययनरत निकेश तामाङको पनि यस्तै अनुभव छ। उनले पनि स्वचालित फायर फाइटर बनाएका छन्।
‘विगत एक वर्षदेखि अनुसन्धान गरेर फायर फाइटिङ रोबोट बनाएको थिएँ। महोत्सवमा विद्यार्थीहरूलाई देखाउन पाउँदा खुसी लागेको छ,’ उनले भने।
महोत्सवमा स्टलहरूका अतिरिक्त ६ वटा विषयमा संवाद राखिएको छ।
पहिलो दिन शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ शीर्षकमा बहस गराइएको थियो। वक्ताहरू नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत थिए। बहसको सहजीकरण कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले गरेका थिए।
जनमत अध्यक्ष राउतले यस्ता बहसले विद्यार्थी आन्दोलनमा सिर्जनात्मकता थप्ने र शिक्षा प्रणाली बदल्नुपर्ने बहसलाई थप पेचिलो बनाउने बताए।
त्यस्तै कांग्रेस नेता साउदले पनि विद्यार्थी आन्दोलने भाषणबाट सिर्जनात्मक गतिविधितिर केन्द्रित हुन थालेको बताए। एमाले महासचिव शंकर पोखरेलले सामाजिक अराजकता बढ्न थालेको बताउँदै विद्यार्थी संगठनको महत्व र उपादेयता झन् बढिरहेको बताए।
मंगलबार नै विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभारबारे बहस हुनेछ। यस बहसमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल, नेविसंघका पूर्वसभापति गुरूराज घिमिरे, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने सहभागी हुनेछन्। मध्यस्थता वाइपी आचार्यले गर्नेछन्।
बुधबार कसरी सम्भव छ राजनीतिक स्थायीत्व शीर्षकमा बहस हुनेछ। जसमा एमाले सचिव योगेश भट्टराई, कांग्रेसका नेता प्रदीप पौडेल, नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराई सहभागी छन्। यसको मध्यस्थता बसन्त बस्नेतले गर्नेछन्।