कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएकी सत्तारूढ नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि मुद्दा नचलाउने निर्णय भएको जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले बताए।
उनकाअनुसार अभियोग लागेका अखिल (क्रान्तिकारी) की अध्यक्षसमेत रहेकी कालीकोट महावै गाउँपालिकाकी प्रतिमा भन्ने पञ्चा सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अली अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ बर्षीय रजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो।
उनको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो। किटानी जाहेरीमा ६ जनाको नाम उल्लेख थियो।
यो प्रक्ररणमा कालीकोटको महावै गाउँपालिकाकै टाइगर भनिने पदमबहादुर रावत पनि अभियुक्त थिए। उनलाई प्रहरीले केही समयअघि पक्राउ गरेको थियो। पक्राउ परेका रावतमाथि अनुसन्धान गर्ने क्रममा: नरेश सिंह भन्ने मेहरमान सिंह पनि अनुसन्धानमा तानिएका थिए। उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
रजबहादुर हत्या प्रक्ररणमा मुछिएका यी सात जनामध्ये टाइगर भन्ने पदमबहादुर र नरेश भन्ने मेहरमानविरुद्ध भने मुद्दा अघि बढेको जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका सूचना अधिकारी भण्डारीले बताए।
‘पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ, पञ्चा सिंहसहित बाँकी पाँच जनालाई मुद्दा नचलाउने प्रहरीको प्रतिवेदनपछि निर्णय भएको हो,’ भण्डारीले भने।
उनकाअनुसार मुद्दा चलाउने निर्णय भएकामध्ये सुर्खेत जिल्ला अदालतको आदेशअनुसार पदमबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
नरेश भन्ने मेहरमानलाई भने धरौटीमा छोडिएको छ। उनमा भएको जटिल प्रकृतिको अपांगताका कारण धरौटीमा छोडिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले यी दुई जनालाई प्रतिवादी बनाएर दर्ता गरेको मुद्दामा यही वैशाख २१ गते फैसला भएका थियो।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले यो फैसला गरेको हो।
धरौटीमा छुटेका मेहरमानलाई एक लाख ७५ हजार रुपैयाँ धरौटी रकम तोकिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले बताए।
पञ्चासहित पाँच जनाविरुद्ध मुद्दा नचलाउने निर्णय सदरका लागि जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले उच्च सरकारी वकिलको कार्यालय सुर्खेतमा पठाएको थियो।
सूचना अधिकारी भण्डारीका अनुसार वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको थियो। १८ गते उक्त निर्णय गरी सोही दिन उच्च सरकारी वकील कार्यालयलाई पठाइएको उनले बताए।
प्रतिवादी बनाइएका दुई जनाविरुद्ध पनि वैशाख १८ गते नै अदालतमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाबाट मुद्दा नचल्ने निर्णय भएर आएको पत्र बाँकी निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको छ।
वैशाख २१ गते जिल्ला सरकारी कार्यालयबाट आएको उक्त पत्र महान्याधिवक्ताको कार्यालयमा पठाइएको उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सूचना अधिकारी सहायक न्यायाधिवक्ता आरती चपाईले जानकारी दिइन्।
सरकारी वकील कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका पञ्चासहित पाँच जनाका बारेमा पीडितका तर्फबाट नै पुनः अर्को निवेदन दिएर उनीहरुको संलग्नता नदेखिएकाले आफूले लगाएको आरोप निराधार भएको बयान गरेको प्रतिवेदन आएपछि उक्त निर्णय भएको कार्यालयले जनाएको छ।
महान्यायाधिवक्ता सरकारी वकिल कार्यालयको निर्णय सदर भएमा उनीहरु पाँचै जना अभियोगबाट उम्किनेछन्।
यस्तो थियो घटना र पीडितको जाहेरी
२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमूना माविमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ वर्षीय रजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो। त्यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादका क्रममा उनको मृत्यु भएको थियो।
मल्ललाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकू र माओवादी निकटको अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुले हत्या गरेको जाहेरी पीडित परिवारले दिएको थियो।
जाहेरीमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित माओवादीनिकट कार्यकर्ताहरुको नाम किटान गरिएको थियो।
मल्लको हत्या हुनुअघि माओवादीनिकट विद्यार्थी नेताहरुविरुद्ध उनले आवाज उठाएको देखिन्छ। त्यतिबेला क्रान्तिकारीका सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरुले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा अध्ययनका लागि भर्ना भएको आरोप लागेको थियो। त्यो विषयमा मल्लले आवाज उठाएका थिए। त्यसपछि उनीहरुको भर्ना रद्द भएको थियो।
यस विषयमा विरोध गरेपछि २०६५ माघ ११ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ तातापानीमा आफन्तको घरमा बसिरहेका मल्ललाई तत्कालीन क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहको तत्कालीन जनमुक्ति सेनाको गाडी र लडाकूहरुलाई ल्याएर घर घेरा हालेको रजबहादुरका बुवाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख थियो।
‘सिंहको नेतृत्वमा तत्कालीन जनमुक्ति सेनाका लडाकूहरुले घर घेरा हालेपछि झ्यालबाट भागेर छोरो नेपालगञ्ज पुगेको थियो, केही समयपछि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय र इन्सेकको सहजीकरणपछि छोरो सुर्खेत आएको थियो,’ बुवा नन्दबहादुर मल्लले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ।
जाहेरीअनुसार नेपालगञ्जबाट सुर्खेत पुगेको केही समयपछि २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर बसपार्कमा खाना खाएर आफ्नो कोठातर्फ जाँदै गरेका रजबहादुरमाथि आक्रमण भएको थियो। त्योबेला उनीमाथि खुकुरी प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका रजबहादुरको उपचारका क्रममा वीरेन्द्रनगरकै देउती अस्पतालमा मृत्यु भएको थियो।
त्यसलगत्तै मृतक रजबहादुरका काका नवराज मल्लले सुरु जाहेरी दिएका थिए। जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले रजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख थियो। मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित पञ्चा सिंहसहित ६ जनाको नाम किटान गरी पूरक जाहेरी २०७९ साउन १३ गते दिएका थिए। त्यसमा नाम र यकिन ठेगाना नखुलेका दैलेखका दुई जनाको संलग्नता पनि रहेको उल्लेख थियो।
पूरक जाहेरीमा कालीकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह (अखिल क्रान्तिकारी अध्यक्ष), टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीको नाम किटान गरिएको थियो।
रजबहादुरको हत्या भएको भन्दै प्रहरीमा परेको सुरु जाहेरी परेयता प्रहरीले अनुसन्धानका लागि ३१ जना भन्दा बढी प्रहरी अधिकृतलाई ‘घटना अनुसन्धान अधिकारी’ तोकिसकेको छ।
यो घटनाको जाहेरीपछि प्रहरीले नाम किटान गरिएकाहरुलाई पक्राउ गर्न सुर्खेत जिल्ला अदालतबाट दुई पटक पक्राउ अनुमति पनि लिएको थियो। २०७९ साउन १३ गते पहिलो पटक अदालतले पक्राउ पुर्जी दिएको थियो। दोस्रो पटक २०८० माघ ५ गते पुर्जी लिएको थियो।
२०८० माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादीले पञ्चा सिंहलाई उम्मेदवार बनाउन खोजेको थियो। त्यसका लागि माओवादीको प्रदेश तहको नेतृत्व रजबहादुर हत्या प्रकरणमा उनी जोडिएको मुद्दाको प्रकृति बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगेको थियो।
उनीविरुद्ध गम्भीर आरोप लागेको र मुद्दा नटुंगिएको पाएपछि माओवादीले उनलाई उम्मेदवार बनाएन।