सत्ताका लागि जुट्नु र फुट्नु नेपालका राजनीतिक दलको आधारभूत चरित्र नै बनेको छ।
यो शृंखलामा जोडिन आइपुगेको छ, जनता समाजवादी पार्टी नेपाल।
पार्टीका वरिष्ठ नेता अशोक राईसहित ८ केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएपछि जसपा विभाजित बन्यो।
राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १५ जना संघीय सांसदमध्ये ७ जना राई पक्षतिर लागेका छन्।
अहिले राजनीतिक दलसम्बन्धी कानून निष्क्रिय अवस्थामा छ।
नयाँ विधेयक संसदमा विचाराधीन छ। २०७८ मा ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएको थियो। पुरानो कानुनलाई जगाइएको छैन। राजनीतिक दलसम्बन्धी नियमावलीमा टेकेर अशोक राई, राजेन्द्र श्रेष्ठहरूले नयाँ दल जसपा दर्ता गर्न लागेका हुन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सत्ता गठबन्धन बनेदेखि नै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रूष्ट छन्।
नेकपाकाल जस्तै आफूसँग केही सरसल्लाह नगर्ने, दुई नेता (माओवादी केन्द्रका अध्येक्षसमेत रहेका प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली) को सल्लाहमा गठबन्धन चल्ने अवस्था बनेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
त्यसो त उनी पछिल्लो समय नेपाली कांग्रेससँगको संवादमा पनि थिए। सुदूरपश्चिम प्रदेशमा पार्टी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न एमालेले आनाकानी गरेपछि अध्यक्ष नेपाल कांग्रेससँगको संवादमा पुगेका थिए।
त्यसबेला कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको हात्तीगौंडास्थित निवासमा अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल पनि गरेका थिए।
कांग्रेसले सुदूरपश्चिम मुख्यमन्त्रीमा समर्थन गर्ने वचन दिएपछि उनको गठबन्धनसँगको मोलमोलाइ ह्वात्तै बढेको थियो।
सत्ता गठबन्धनभित्र अध्यक्ष नेपालको यस्तो मुभको धक्का भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यहोर्नुपरेको छ, त्यो पनि अमेरिका भएका बेला!
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको बैठकमा भाग लिने उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव वैशाख १५ गते न्युयोर्क गएका थिए। पार्टी विभाजनको खबर सुनेपछि भ्रमण छोट्याएर यादव सोमबार राति स्वदेश फर्कंदैछन्।
यादवले अमेरिका उड्नुअघि जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता राजेन्द्र श्रेष्ठलाई दिएका थिए। उनै श्रेष्ठकै अगुवाइमा पार्टी विभाजन हुन पुग्यो।
जसपा नेपाल यसपालि किन फुट्यो? यो फुटमा पक्कै धेरै कारण होलान्। तर प्रधान कारण के हो?
उपेन्द्र यादवले अहिलेको सत्तागठबन्धन छाडेर कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेकोले यो दल फुटेको वा फुटाइएको हो अथवा जसपाभित्र यादवको स्वेच्छाचारी हैकमविरुद्ध अरू नेतालेले विद्रोह गरेका हुन्? यी प्रश्नमा हामी एकछिनमा प्रवेश गर्नेछौं।
पहिले जसपाभित्र फुटको लामो शृंखलाबारे चर्चा गरौं।
सत्ताका लागि मधेस केन्द्रित दल जुट्दै र फुट्दै आएका छन्, त्यो नौलो कुरा भएन। त्यसमाथि यादवले नेतृत्व गरेको पार्टी त सम्भवत सबैभन्दा धेरै विभाजनको शृंखला व्यहोरेको दल हो।
यादवले २०५४ सालमा मधेसी जनअधिकार फोरम संस्था खोलेका थिए।
मधेसी समुदायको हित प्रबर्द्धनका लागि खोलिएको संस्था २०६३ माघ १ गते अन्तरिम संविधानप्रति विमति जनाएर एकाएक चर्चामा आयो।
फोरमकै अगुवाइमा २०६३ माघ १ गते माइतीघर मण्डलमा अन्तरिम संविधानको प्रतिलिपि जलाइएको थियो। त्यसबेला उपेन्द्रसहित २८ जना पक्राउ परेका थिए।
त्यसपछि मधेसमा आन्दोलन चर्कियो। त्यही आन्दोलनको तागतमा उपेन्द्रले फोरमलाई पार्टीको रूप दिए।
२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा ५४ सिटसहित मधेसी जनअधिकार फोरम चौथो दल बनेका थियो। त्यतिबेला फोरमले प्रत्यक्षमा ३० स्थान जितेको थियो। २२ सिट समानुपातिकबाट प्राप्त गरेको थियो। दुई सिट मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट प्राप्त गरेको थियो।
त्यसरी मधेसको शक्तिमान दलका रूपमा उदाएको फोरम एक वर्ष नपुग्दै विभाजित बन्न पुग्यो। भाग्यनाथ गुप्ता र किशोर विश्वासलगायत नेताहरू अलग भएर मधेसी जनअधिकार फोरम (मधेस) गठन गरे। त्यसको केही समयपछि अमर यादवले मधेस तराई फोरम गठन गरेका थिए।
यी दुई विभाजनले अर्थ नराखे पनि फोरमको क्षयीकरण विजयकुमार गच्छदार बहिर्गमित भएसँगै सुरू भएको थियो।
२०६६ सालमा तत्कालीन रुक्माङ्गद कटवाललाई प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापतिबाट हटान खोजे। उनको कदमलाई राष्ट्रपति रामवरण यादवले रोकिदिएपछि प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिए।
लगत्तै तत्कालीन नेकपा (एमाले) का नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। उनलाई समर्थन गर्ने सन्दर्भमा फोरमभित्र मतैक्य हुन सकेन। २०६६ साउनमा २५ सांसद लिएर फोरमबाट गच्छदार बाहिरिए। उनले लोकतान्त्रिक फोरम नामको नयाँ दल खोले।
त्यतिबेलाको प्रसंग सुनाउँदै जेपी गुप्ता भन्छन्, ‘उहाँ (उपेन्द्र यादव) मा राजनीतिक विचार दृष्टिकोणको ठूलो समस्या छ। जतिबेला रूक्माङ्गत कटवाल प्रकरण भयो, उहाँ चिलीमा हुनुहुन्थ्यो। फर्किएर आएपछि प्रचण्डलाई समर्थन गर्नुपर्छ भन्न थाल्नुभयो। प्रचण्डको सरकार ढलिसकेको थियो। बहुसंख्यक साथीहरू माधवकुमार नेपाललाई समर्थन गरेर जानुपर्छ भन्नेमा उभिनुभयो। अन्ततः पार्टी फुट्यो।’
तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएपछि पुनः फोरमले विभाजनको नियति व्यहोर्यो।
२०६८ जेठमा जयप्रकाशप्रसाद गुप्दा १३ सांसद लिएर बाटो लागे। उनले मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए।
‘उपेन्द्रजीले आफू पार्टी चलाउन सक्नु भएन। तर विभाजनको दोषचाहिँ अरूलाई लगाउँदै आउनुभयो। जतिबेला भाग्यनाथ गुप्ताहरू निस्कनुभयो, भारतीय दूतावासले पार्टी फुटायो भनेर विज्ञप्ति नै निकाल्नुभयो। अमर यादव निस्कँदा कांग्रेसको दूत बनेर फोरमभित्र आएको आरोप लगाउनुभयो। विजय गच्छदार र म निस्कँदा पनि उहाँको त्यही आरोप थियो,’ उनले भने, ‘तर हाम्रो विचारधारा, कार्यशैली र चिन्तनशैलीका आधारभूत प्रश्नमा नै कुरा मिलेन।’
पहिलो संविधान सभा संविधान निर्माण सकसमा थियो। प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत शासकीय स्वरूप र समावेशीसहितको संघीयताको आधारभूत कुरामा माओवादी र फोरमबीच मतैक्य थियो। माओवादीसहितको समर्थनमा प्रधानमन्त्री बनेपछि झलनाथले संविधान सभामा वामपन्थीको दुई तिहाइ पुगेको र त्यस्तै संविधान बन्ने सार्वजनिक वक्तव्य दिए। त्यसमा हस्ताक्षर उपेन्द्र यादवको पनि थियो।
त्यही विषयमा पार्टीमा मत नमिलेपछि पार्टी छाड्नुपरेको गुप्ताले बताए। ‘तर उहाँले कांग्रेसी पृष्ठभूमिकाले पार्टी विभाजन गरेको भन्दै आरोप लगाउनुभयो,’ गुप्ताले भने।
२०७२ जेठको अन्तिम साता उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भयो।
पार्टीको नाम रह्यो– संघीय समाजवादी फोरम।
२०७६ वैशाख २३ गते त्यही पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बन्यो। मधेस केन्द्रित राजनीतिबाट बाहिर निस्कने र देशव्यापी संगठनको आकार दिने यादवको चाहना थियो। भट्टराईलाई उनले त्यही चाहना पूरा गर्न पार्टीमा जोडेका थिए।
पछि राजनीतिक घटनाक्रम यसरी एक्कासी अघि बढ्यो, २०७७ वैशाख १० गते महन्थ ठाकुर, राजेन्द्र महतो सहितले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीसमेत जोडेर यादवले जनता समाजवादी पार्टी बनाए। त्यो बेला अकस्मात मध्यरात एकीकृत दल जसपा गठनको घोषणा भएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यही अध्यादेशको आडमा समाजवादी पार्टीका प्रदीप यादव, मोहम्मद इस्तियाक राई र रेणुकुमारी यादवले पार्टी विभाजनको तयारी गरेको चाल पाएपछि यादवले त्यसरी रातारात राजपासँग मिलाएर नयाँ पार्टी घोषणा गरेका थिए। जसपा फुटाउन संख्या पुग्न नदिने ध्येयकाका साथ अकस्मात त्यो एकीकरण भएको थियो। त्यो एकीकरणमा त्यसबेला बाबुराम भट्टराईले प्रमुख भूमिका खेलेका थिए।
यसरी भट्टराईसहित मधेस आन्दोलनका हस्तिहरूलाई आफ्नो नेतृत्वको पार्टीमा जोडिसकेपछि पनि यादबको दलमा विग्रहको शृखंला रोकिएन। ‘पार्टी सञ्चालनमा यादवको हैकम मत्थर भएन। स्वेच्छाचारिता झन् बढ्दै गयो। त्यसबाट विद्रोह गर्ने क्रमले पनि निरन्तरता पाइरह्यो,’ जेपी गुप्ताले सुनाए।
२०७८ भदौमा महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीले उपेन्द्रको नेतृत्वबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे। २०७९ साउनमा बाबुराम भट्टराई पनि अलग भए। उनले महिन्द्रराय यादवलाई साथ लिएर नेपाल समाजवादी पार्टी गठन गरे।
त्यसको एक वर्ष नबित्दै फुटको पछिल्लो शृखंलासँगै उपेन्द्र यादव एक्लो हुने अवस्थामा पुगेका छन्। उनको साथमा अहिले प्रतिनिधि सभामा पाँच जना मात्रै सांसद हुने अवस्था छ।
यस्तो हुनुमा यादवको कार्यशैली नै मुख्य भएको जेपी गुप्ताले बताए।
‘अशोक राई एमालेको उपाध्यक्ष हुँदा उपेन्द्र यादव त्यही पार्टीको सुनसरी जिल्ला कमिटीका सदस्य मात्रै थिए। उनले आफूभन्दा ठूलो राजनीतिक कद भएका नेताहरूबाट जहिले पनि असुरक्षित महसुस गर्छन् र पाखा लगाउने सोच्छन्। त्यसैको परिणामस्वरूप पार्टी फुट्दै आएको छ,’ गुप्ताले भने।
मोहम्मद इस्तियाक राई पनि उपेन्द्रको कार्यशैलीगत समस्याकै कारण पार्टीमा रहन नसकेको बताउँछन्। सामूहिक नेतृत्व सीप र कार्यशैलीगत समस्याका कारण कोही पनि नेता अटाउन नसकेको उनको भनाइ छ।
‘उपेन्द्रजीको प्रवृत्तिको बारेमा विगतदेखि नै सुन्नुभएकै छ। जेपी गुप्ता, विजय गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुर, बाबुराम भट्टराई कोही पनि उहाँसँग रहन सक्नुभएन। हामी रहन नसकेको पनि त्यसैको निरन्तरता हो,’ उनले भने।
यादवले एकलौटी ढंगले महाधिवेशन गर्न खोजेपछि अन्तरविरोध बढेको उनले बताए। विधान, विधिविपरीत महाधिवेशन प्रतिनिधि थप्ने र अशोक राई लगायतका नेताहरूलाई पाखा लगाउने तरिका सोचेपछि विद्रोह गरेको उनीहरूको तर्क छ।
जसपाले जेठको २८ देखि ३० गतेसम्म जनकपुरधाममा पहिलो महाधिवेशन गर्दैछ। यसअघि २०६५ मा जनअधिकार फोरम हुँदै यादवले महाधिवेशन गरेका थिए। त्यसयता उनले महाधिवेशनमार्फत् आफूलाई नेतृत्वमा अनुमोदन गरेका छैनन्।
‘पछिल्लो पटक उहाँले एकलौटी तरिकाले पार्टीको महाधिवेशन गर्न खोज्नुभयो। लोकतान्त्रिक विधि अपनाउन नमानेपछि अब उहाँसँग बस्न हुन्न भन्ने निष्कर्षमा हामी पुगेकै हौं,’ जसपा नेपाल छाडेका नेता इस्तियाक राईले भने।
राईले यादव सरकार परिवर्तनको खेलमा लागेको पनि आरोप लगाए। अमेरिका जानुअघि उनले सरकार छाड्ने संकेत गरेको राईको दाबी छ।
‘उहाँ आफैँ मन्त्री बनेपछि साथीहरू पहिलेदेखि नै रूष्ट हुनुभएको थियो। अर्को साथीलाई उपराष्ट्रपति बनाएर भए पनि आफैँ चुनाव लड्नु पनि भयो। फेरि सरकारको उपप्रधानमन्त्री हुँदाहुँदै अब यो सरकारमा रहिँदैन होला भनेर भन्न थाल्नुभयो,’ उनले भने, ‘महिनैपिच्छे सरकार परिवर्तनमा लाग्दा संघीयतामाथि नै प्रश्न उठ्न थाल्यो, त्यसैले हामीले सरकार फेरबदलको खेलमा नलाग्ने निर्णय लिएका छौं।’
जसपा नेपाल छाडेका सांसद प्रदीप यादवले हठात् पार्टी विभाजन नभएको बताए। उनले उपनिर्वाचनलगत्तैबाट विभाजनको तयारी सुरू भएको बताए।
‘पार्टी विभाजनको निर्णय अचानक भएको हैन, पहिलेदेखि नै तयारी थियो। गत उपनिर्वाचनबाट हामीले पार्टी विभाजनको खेल सुरू गरेका हौं। उहाँले हामीलाई विश्वास घात गर्नुभयो। निर्वाचनमा पराजित भएपछि विक्षिप्त हुनुहुन्थ्यो। संघीयताको रक्षाका लागि मैले चुनाव जित्नुपर्छ भनिरहनुहुन्थ्यो। तर हामीलाई गुमराहमा राख्नुभयो,’ उनले भने।
मधेसका आदर्शवादी नेता रामसहायप्रसाद यादवको राजनीतिक यात्राको अन्त्य गरेर यादवलाई सांसद बनाएको प्रदीपले बताए। त्यसमा आफूले नै भूमिका खेलेको उनको दाबी छ।
‘मैले सुरूदेखि नै काम गरेँ। सांसद बन्छु तर मन्त्री बन्दिनँ भनेर हामीलाई झुक्याउनुभएको पो रहेछ। जसरी पानी बिना मछली रहन सक्दैन त्यसरी नै मन्त्रीबिना उपेन्द्र रहन सक्दैन,’ उनले भने।
प्रदीपले उपेन्द्रको कार्यशैलीगत समस्या रहेको पनि बताए। त्यही समस्याले कोही नेता पनि रहन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘उहाँले कुनै पनि निर्णय लोकतान्त्रिक तरिकाले नगर्ने, केही प्रश्न सोध्यो भने जुरूक्क उठ्ने, प्रश्न नसुन्ने, सामूहिक ढंगले निर्णय नगर्ने, सबैलाई हेप्ने लगायतको कुराले हामी आक्रान्त थियौं। महाधिवेशनमा पनि एकलौटी तरिकाले सदस्यता वितरण गर्नुभयो। महाधिवेशनको सदस्यता दिने रसिद त गाडिमै बोकेरै हिँड्नुहुन्थ्यो,’ उनले सुनाए।
उनले महाधिवेशनबाट सबैलाई पाखा लगाउने तयारी गरेपछि निकास खोज्नुपरेको पनि बताए।
‘षड्यन्त्रको हद पार गरेका छन्, वडामा सात भोट नभएकालाई अगाडि बढाउने। खरदारको राजीनामा दिन लगाएर मधेस अध्यक्ष बनाउने। हाम्रो चरित्र हत्या भयो। अब नयाँ पार्टीले मधेस पहाड हिमाल सबै उत्पीडनमा परेका जनताका लागि काम गर्छ,’ उनले भने।
उनले मन्त्री बनाउँदा पैसाको चलखेल भएको बताए। एक पटक पैसा बुझाइसकेपछि पनि नपुगेर पटक-पटक माग्ने काम भएको उनले बताए।
‘मन्त्री बनाउँदा एडभान्स लिने त उहाँको कामै हो। एडभान्सले नपुगेर पछि पनि मागिरहनुभयो,’ उनले भने, ‘उपेन्द्रजीले प्राइभेट लिमिटेड कम्पनी चलाएको हुनाले हामी नयाँ दल दर्ता गर्न बाध्य भयौं। हामीले २०६४ देखि अहिलेसम्म एक मिनेट छाडेको थिएनौं, अबचाहिँ बाध्य भयौं।’
उनले उपेन्द्रमा आफूबाहेक अरूलाई नेता नस्वीकार्ने र आउन पनि नदिने चरित्र रहेको औंल्याए।
‘वडाको अधिवेशन हुँदा पनि उपेन्द्र यादव नै प्रमुख अतिथि हुनुपर्ने, क्षेत्र, पालिका, जिल्ला, प्रदेश सबैतिर उपेन्द्र यादव नै प्रमुख अतिथि हुनुपर्ने!,’ उनले भने पार्टीका ब्यानरमा अशोक राईहरूको फोटो राख्दा उहाँको पेट पोल्छ, हटाउन लगाउनुहुन्छ। त्यसैले हामीले पार्टी फुटायौं।’
उनले सरकारलाई दिएको समर्थन जारी राख्ने तर कुनै पार्टीसँग एकता गरिहाल्ने पक्षमा नरहेको पनि बताए।
जसपा नेपाल फुटेर बनेको प्रस्तावित नयाँ दल जसपाका अध्यक्ष अशोक राईले पनि उपेन्द्र यादवको कार्यशैलीकै कारण दल फुटाउनु परेको बताएका छन्।
‘यो पार्टी विभाजन हो, संघीय संसदका संसदीय दलका सांसदहरूले पार्टी विभाजन गरेको हो,’ राईले आइतबार साँझ निर्वाचन आयोगअगाडि पत्रकारहरूसँग भने, ‘यस्तो निर्णय लिनुपर्ने आवश्यकता पर्यो। किनभने पार्टी महाधिवेशनको संघारमा थियो, स्वच्छ र निष्पक्ष ढंगले महाधिवेशन हुने देखिएन।’
एकताको महाधिवेशन भने पनि अध्यक्ष यादव पक्षले हतार र विधानविपरीत काम गरेको उनको आरोप छ। ‘हामी अलग भएर नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं,’ उनले भने, ‘उपेन्द्रजीको कार्यशैलीसँग असहमतिले यो परिस्थिति उत्पन्न भयो।’
उनले आफूहरू अस्थिरताको कारक नबन्ने पनि बताएका छन्। सत्ता समीकरण फेरबदल हुन लागेपछि पार्टी विभाजन भएको हो भन्ने प्रश्नमा राईले भने, ‘अस्थिरताका संकेत भने अभिव्यक्ति र गतिविधिहरूमा देखा परेका थिए, त्यस्तो पनि हुन सक्थ्यो कि भन्ने अनुमान हो।’