इलाम–२ मा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङले कम्युनिस्ट पार्टीको राजनीतिक विरासत मात्र नभइ बाबुकै बिँडो पनि थामे।
गत शनिबार भएको इलाम–२ को उपचुनावमा उनी २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए।
सुहाङले ५ हजार ८३० को फराकिलो अन्तरले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाखा लगाइरहँदा बुवा सुवास नेम्वाङले भन्दा कम मत पाए।
संविधान सभा अध्यक्षसमेत रहेका सुवास नेम्वाङको गत वर्ष भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि त्यहाँ उपचुनाव भएको थियो।
जसमा उनकै छोरा सुहाङले फराकिलो अन्तरको जित निकाले।
अघिल्लोपटक उनका बुवा सुवासले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै झिनो मतको अन्तर निकालेका थिए। त्यतिबेला सुवासले ३० हजार २० मतले चुनाव जितेका थिए। प्रतिस्पर्धी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए।
मतदाता र मतदान गर्ने दुवैको संख्या बढ्दा पनि छोरा सुहाङले २ हजार २४८ कम मत ल्याएका छन्। यहाँ हामीले सुहाङले किन बुवाको भन्दा कम मत ल्याए भनेर विश्लेषण गरेका छौं।
त्यसका लागि हामीले २०७९ को स्थानीय तह निर्वाचनमा त्यस क्षेत्रअन्तर्गत् पर्ने स्थानीय तहका वडामा एमालेले प्राप्त गरेको मतलाई आधार बनाएका छौं।
त्यतिबेला र अहिले एमालेले वडागत रूपमा प्राप्त गरेको मतलाई विश्लेषण गरेका छौं।
इलाम–२ को प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका पर्छन्। त्यस्तै देउमाई नगरपालिकाका सबै वडा, माइ नगरपालिकाका वडा नम्बर ६, ७, ८ र इलाम नगरपालिकाको १० नम्बर बाहेकका सबै वडा यस क्षेत्रमा समेटिएका छन्।
यी क्षेत्रमा रहेका कुल ४२ वटामध्ये स्थानीय तह निर्वाचनमा एमालेले १७ वटा वडा जितेको थियो।
फाकफोकथुम र माङसेबुङ गाउँपालिका एमालेले जितेको थियो। त्यस्तै देउमाई नगरपालिका पनि एमालेले जितेको थियो। चुलाचुली गाउँपालिका र इलाम नगरपालिका भने कांग्रेसले जितेको थियो।
यी पालिकाअन्तर्गत पर्ने वडाहरूको मत विश्लेषण गर्दा पनि एमाले बलियो देखिएको थियो।
तथापि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले एमालेका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मत भने पूरै पाएका थिएनन्।
२०७९ सालको स्थानीय तहमा इलाम–२ अन्तर्गत पर्ने स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा ३२ हजार ३०९ मत पुग्छ।
तर सुवासले ३० हजार २० मत प्राप्त गरेका थिए। छोरा सुहाङले झन् कम मत पाएका छन्।
माओवादी केन्द्र समेतको साथ पाउँदा उनले वडामा एमालेले प्राप्त गरेको मत जोगाउन सकेनन्। उनले वडाध्यक्षहरूको भन्दा ४ हजार ५३७ कम प्राप्त गरे।
अर्थात् एमालेको मत मुढा चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमकहाँ गयो। केही मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले पनि पाए।
यसको संकेत निर्वाचन अघि सेतोपाटीले गरेको चुनावी विश्लेषणमा पनि देखिएको थियो।
एक हजार ९६ जना मतादाताको बीचमा गरिएको कुराकानीमा एमालेको केही मत स्वतन्त्र उम्मेदवार थेगिम र रास्वपाका उम्मेदवार लिम्बूतिर जाने देखिएको थियो।
एमालेले अहिले वडागतरूपमा प्राप्त गरेको मतको आकडा केलाउँदा एमालेले यसअघि पाएको मत अन्यत्र गएको प्रष्टै देखिन्छ। तुलनात्मक रूपमा फाकफोकथुममा एमालेको मत त्यति अन्यत्र गएको छैन।
स्थानीय तह निर्वाचनमा फाकफोकथुममा एमालेले ४ हजार ५२५ मत पाएको थियो। अहिले उसले त्यहाँ ४ हजार ४१३ मत पाएको छ।
चुलाचुलीमा भने एमालेले मत बढाएको देखिन्छ। जबकि वडा नम्बर १ थेगिमले एक हजार ३१ मत प्राप्त गरेका थिए। चुलाचुलीमा एमालेले स्थानीय तह निर्वाचनमा ३ हजार ८७२ मत पाएको थियो। अहिले त्यहाँ उसले ४ हजार ७४ मत ल्यायो।
तुलानात्मक रूपमा एमाले बलियो मानिएको माङ्सेबुङमा एमालेको मत केही घट्यो। माङ्सेबुङ किरात धर्मगुरू आत्मानन्द लिङ्देनको प्रभाव क्षेत्र पनि हो। यहाँ एमालेले २ हजार ५९१ मत प्राप्त गर्यो। स्थानीय तह निर्वाचनमा यहाँ एमालेले ३ हजार १६७ मत प्राप्त गरेको थियो।
त्यतिबेला एमाले, नेपाली कांग्रेस दुवैले माङ्सेबुङ–५ मा वडाध्यक्षको उम्मेदवार उठाएको थिएन। माङसेबुङ वडा नम्बर५ मा घर चुनाव चिह्न भएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार नरेन्द्रकुमार राई निर्वाचित भएका थिए।
अहिले माङसेबुङ वडा नम्बर ३ र ५ बाट डकेन्द्रलाई उल्लेख्य मत आयो। डकेन्द्रले वडा नम्बर ३ बाट ६४० र वडा नम्बर ५ बाट एक हजार ३२ मत प्राप्त गरेका छन्।
जबकि वडा नम्बर ३ बाट एमाले उम्मेदवार सुहाङले ५१९ मत ल्याए भने वडा नम्बर ५ बाट ६९ मात्रै मत ल्याए। त्यस्तै माई नगरपालिका तीनवटा वडाको एमालेको मत केही अन्यत्र गयो।
स्थानीय तह निर्वाचनमा ती वडामा एमालेका वडाध्यक्षले पाएको मत जोड्दा २ हजार ५ सय ६८ हुन्छ। अहिले त्यहाँ एमालेले १ हजार ९९१ मत पायो।
देउमाईमा पनि एमालेले यसअघि पाएको मत स्वतन्त्र उम्मेदवार डकेन्द्र र रास्वपाका मिलनतिर गएको देखिन्छ। त्यहाँ यसअघि एमालेले ८ हजार ५९० मत पाएकामा अहिले ६ हजार ८२९ मत ल्याएको छ।
इलाम नगरपालिकाका ११ वटा वडाबाट पनि एमालेले यसअघि पाएको मत अन्यत्र गएको छ। इलाम नगरपालिकामा स्थानीय तहमा एमालेले ९ हजार ५८७ मत पाएको थियो। अहिलेको निर्वाचनमा इलाम नगरपालिकाबाट एमालेले ७ हजार ८७४ मत पायो।
इलाम–२ मा डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याए। रास्वपाका लिम्बूले ५ हजार ५० मत पाए। इलाम–२ को उपचुनावमा १९ उम्मेदवार प्रतिस्पर्धामा थिए। ती मध्ये तीन दलले मात्रै जमानत जोगाउन सके।
इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १६ राजनीतिक दलको जमानत जफत भयो।