कानुनी क्षेत्रमा बाबुको बाटो हिँडेका सुवास नेम्वाङका छोरा सुहाङलाई पाँच वर्षअघि अन्तर्वार्ताका क्रममा सेतोपाटीले सोधेको थियो — कानुनी क्षेत्रमा जस्तै राजनीतिमा पनि बाबुको बाटो हिँड्ने सम्भावना छ कि छैन?
जबाफमा सुहाङले भनेका थिए — आफूलाई बलियो बनाएर लाग्यो भने मात्र राजनीतिमा जनता र देशका लागि केही गर्न सकिन्छ भन्ने बुबाको धारणा छ। म 'ल फर्म' बाटै आफूलाई स्थापित गराउने कोशिस गर्दैछु। बलियो हुन सकेँ भने पछि राजनीतिमा पनि लाग्छु होला, त्यो अहिल्यै भन्न सक्दिनँ।
त्यस बेला उनले ल फर्म सुरू गरेको बल्ल डेढ वर्ष हुँदै थियो। उनका अभिव्यक्तिले तत्कालै राजनीतिमा हामफाल्ने योजनाभन्दा उनी टाढै रहेको देखाउँथ्यो। २०७६ असार १५ मा सेतोपाटीमा प्रकाशित त्यो अन्तर्वार्ता दिँदै गर्दा सुहाङसँग बुबा सुवास पनि थिए।
पाँच वर्षयता इलामको देउमाई खोलामा धेरै पानी बगिसकेको छ। उनका बाबु सुवास नेम्वाङ नेपाली राजनीतिमा भद्रपनको एउटा अमिट छाप छाडेर दिवंगत भइसके। बाबुको निधनपछि रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएर अन्तिम परिणाम पनि आइसकेको छ।
मतगणनाको त्यही अन्तिम परिणाम अनुसार सुवासका छोरा सुहाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। इलाम सदरमुकाममा केहीबेर अघि सकिएको मतगणनाको अन्तिम परिणामसँगै ३२ वर्षीय सुहाङको सिंहदरबार यात्रा निश्चित भएको छ।
बुबाको अचानक निधन भएपछि राजनीतिमा आएका सुहाङले पहिलो प्रयासमै बुबाको चुनावी जितको बिँडो थामेका छन्। आफूले लडेका कुनै पनि संसदीय चुनाव नहारेका बुबाकै पदचाप पछ्याउँदै उनका छोरा सुहाङले संसदीय भूमिका पक्का गरेका छन्।
'मलाई इलामे जनताले ठूलो विश्वास प्रकट गरेर मत त दिनुभयो नै, यो भन्दा ठूलो भरोसा दिनुभयो म सबैप्रति आभारी छु,' उनले भने, 'यो भरोसा डगमगाउन दिने छैन। यो विश्वासलाई यहाँको समृद्धिसँग जोड्ने छु। बुबाका अधुरा सपनाहरू पूरा गर्न यहाँका जनतासँग सधैं हातेमालो गर्नेछु।'
मतगणनाको अन्तिम परिणाम अनुसार सुहाङले २७७७२ मत पाएका छन्। त्यस क्रममा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको चुनौती फराकिलो मतान्तरले समाप्त पारेका छन्। सुहाङ ५८३० मतान्तरले विजेता बन्दा कांग्रेस उम्मेदवार खड्काले २१९४२ मत मात्रै पाएका छन्।
कांग्रेस इलाम सभापति खड्काले यसअघि २०७९ को निर्वाचनमा यही क्षेत्रमा सुहाङकै बुबा सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजय बेहोरेका थिए।
इलाम-२ को अन्तिम परिणाम अनुसार तेस्रोमा मूढा चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) र चौथो रास्वपाका उम्मेदवार मिलन लिम्बू भएका छन्। उनीहरूले क्रमशः ११४५७ र ५०५० मत पाएका छन्।
इलाम- २ को चुनावलाई सबैजसो दलहरूले आफ्नो मध्यावधि मूल्यांकनको कसी ठानेका थिए। त्यसैले सबैजसो दलहरूले भएभरको शक्ति इलाम-२ मा खर्चिएका थिए।
विजेता बनेको एमाले होस् या उपविजेता कांग्रेस, चौथो बनेको रास्वपा नै किन नहोस्, सबैले जोडबल लगाएर इलामलाई प्राथमिकतामा राखेका थिए। एमाले केन्द्रका नेताहरू ढुक्कै इलाममा खटिँदा कांग्रेसका दुवै महामन्त्री पनि चुनावमा होमिएका थिए।
सबभन्दा धेरै शक्ति त रास्वपाले इलाममा खन्याएको थियो। सभापति एवं गृहमन्त्री रवि लामिछानेदेखि पार्टीबाट मन्त्री बनेकाहरू, सांसदहरू सबै नै इलाममा धुइरिएका थिए। यति दरिलो शक्ति लगाउँदा पनि रास्वपाले अपेक्षित मत प्राप्त गर्न सकेन।
त्यसको दाँजोमा कमजोर प्रचार र टिम अभावका बीच पनि 'पहिचानवादी' का साझा उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले प्रभावशाली नतिजा ल्याएका छन्। उनलाई समर्थन गरेका मतदाताहरू मूढा चिह्नमा परेको मतले इलाममा 'पहिचानका पक्षमा ठूलो जनमत रहेको' संकेत गरेको बताइरहेका छन्।
यसरी भएभरको शक्ति लगाएर उपनिर्वाचन लडेका दलहरूमध्ये इलाम-२ मा पनि मतदाताले एमाले उम्मेदवारलाई रोजेका छन्। बझाङ प्रदेश सभामा पनि एमाले उम्मेदवार नै निर्वाचित भइसकेका छन्।
इलाम-२ बाट सुहाङले प्राप्त गरेको सहज जीतलाई एमाले कार्यकर्ताहरूले सुवास नेम्वाङप्रतिको सम्मान र सुहाङप्रतिको भरोसाका रूपमा अर्थ्याएका छन्।
'सुवास नेम्वाङको बेदाग छवि र योगदानको इलामले सधैं सम्मान गरेको थियो,' इलामका एमाले कार्यकर्ता विष्णुप्रसाद सुवेदीले भने, 'उहाँको अधुरो सपना पूरा गर्न उहाँकै छोरालाई जिताएर जनताले फेरि पनि सुवास दाइप्रति सम्मान र युवा नेताप्रति भरोसा देखाएका छन्।'
हुन पनि जसै नेकपा एमालेले सुहाङलाई इलाममा उम्मेदवार बनाउने निर्णय गर्यो, राजनीतिमा वंशवादले प्रश्रय पाएको भन्दै सामाजिक सञ्जाल आलोचनाले भरिएका थिए। इलाम-२ को भूगोलमा भने त्यो आलोचनाको प्रभाव एकदमै कमजोर थियो।
चुनावको झन्डै साताअघि सेतोपाटी टिमले पाँच दिन इलाम-२ का ४२ वटै वडा घुम्दा बहुसंख्यक एमाले समर्थक मतदाताले सुहाङप्रति ठूलो सहानुभूति देखाएका थिए।
त्यस बेला मत विश्लेषण गर्ने क्रममा हामीले लेखेका थियौं — सुहाङको सबभन्दा बलियो पक्ष उनका बुबा सुवास नेम्वाङको राजनीतिक विरासत हो।
यसबाहेक एमालेको बलियो संगठन पनि उनका लागि अर्को फाइदाकारी पक्ष सावित भएको छ।
यिनै विषयहरू केलाउँदै हामीले भनेका थियौं — २०५६ देखि इलाम-२ मा अनवरत चुनाव जित्दै आएका सुवासले यो क्षेत्रमा आफ्नो मजबुत पकड बनाएका थिए। उनको निधनलगत्तै चुनाव हुन लागेकाले सहानुभूतिको मत सुहाङतिर जान सक्छ।
एमाले कार्यकर्ताहरू पनि यसलाई स्वीकार गर्छन्।
'सुहाङले ठूलो अन्तरले जीत हासिल गर्ने क्रममा सुवास दाइप्रतिको सम्मान र सुहाङप्रतिको सहानुभूतिले पनि काम गरेको देखियो,' एमाले कार्यकर्ता सुवेदीले थपे, '२०७९ मा उहाँले धन्न धन्न मात्रै जितेको ठाउँमा यसपटक सजिलै जित्नुमा त्यो कारक पनि निर्णायक रह्यो।'
यसबाहेक पछिल्लो समय युवा र पढे-लेखेका उम्मेदवार छान्नुपर्छ भन्ने जुन लहर छ, त्यसमा पनि इलाममा सुहाङको पल्ला सबैभन्दा भारी थियो। दलगत आबद्धता नहेरी युवा र योग्यलाई भोट हाल्न चाहनेहरूलाई सुहाङले आकर्षित गरेको हामीले भ्रमण क्रममा पाएका थियौं।
कतिपय एमाले कार्यकर्तालाई हामीले 'परिवारवाद' बारे भइरहेको आलोचनाबारे पनि सोधेका थियौं। तर उनीहरूले त्यसलाई स्वीकार गर्न चाहेनन्।
'सुवासले संविधान बनाउन महत्वपूर्ण भूमिका खेले। शक्ति दुरूपयोग कहिल्यै गरेनन्,' नवमी बजारमा भेटिएका एक जना मतदाताले भनेका थिए, 'पछिल्लो समय ठुल्ठूला नेताका छोराहरू विभिन्न काण्डमा फसेका छन्। सुहाङले बाबुले सुरू गरेका अलपत्र काम पूरा गर्छु भनेका छन्। यिनलाई मौका दिनुपर्छ।'
मतदाताले यस्तो अभिव्यक्तिबाट मात्रै होइन, मतबाटै पनि सुहाङलाई अनुमोदन गरिसकेका छन्।
'इलामे जनताको उत्साहपूर्ण विश्वासले मलाई भावुक बनाएको छ,' सुहाङले मतदानकै दिनदेखि निरन्तर भन्दै आइरहेका छन्, 'यसलाई कहिल्यै आँच आउन दिने छैन।'
आफ्नै बाबुले यसअघि जित्दै आएको क्षेत्रमा प्रभावशाली जीत दर्ता गरेपछि भावुक बनेका सुहाङको परीक्षा अब सुरू हुनेछ। इलामकै अर्को निर्वाचन क्षेत्रको दाँजोमा पिछडिएको यो क्षेत्रमा विकासे अपेक्षा जनतामा उच्च छ। चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा त अहिलेसम्म पक्की सडक छैन। धेरै गाउँ दुर्गम छन्।
जनताको अपेक्षाबारे आफू जानकार रहेको बताउने सुहाङले विकासको जनअपेक्षा सम्बोधन गर्न र संसदीय भूमिका निर्वाह गर्न लागिपर्ने बताएका छन्।
कानुन विषयमा स्नात्तकोत्तर सकेका सुहाङ वकालत पेसामा आउनुका पछाडि उनको इच्छा र बाबुको रहर दुवै गाँसिएको थियो। न्यायाधीश हजुरबुबाका नाति, वरिष्ठ अधिवक्ता एवं मुलुकका 'हेभी-वेट' राजनीतिज्ञका छोरा सुहाङको राजनीतिक यात्राको सुरूआत नै संसदीय चुनाव जितेर अघि बढेको छ।
यो चुनावी सफलतालाई उनले कति न्याय गर्छन्, उनको संसदीय भूमिका त्यसको वास्तविक जबाफ हुनेछ।
यो पनि
राजनीतिमा फाल हाल्न एमालेको आधिकारिक साथ खोजिरहेका सुहाङ नेम्वाङ