इसराइलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाए पनि अमेरिका लगायतको दबाबपछि सांकेतिक आक्रमणमात्रै गरेको खुलासा भएको छ।
अप्रिल १३ मा तीन सयभन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको इरानलाई इसराइलले शुक्रबार जबाफ दिएको थियो।
शुक्रबार बिहान मध्य इरानको इस्फाहन सहरनजिक रहेको सेनाको हवाई अड्डामा इसराइलले आक्रमण गरेको इरानी अधिकारीहरूले पुष्टि गरेका थिए।
द न्यू योर्क टाइम्सका अनुसार इसराइलले खासमा गत हप्ता राजधानी तेहेरान नजिकै समेत गरी धेरै इरानी सैन्य संरचनामा बमबारी गर्ने योजना बनाएको थियो। तर त्यसो गरे इरान फेरि जबाफ दिन बाध्य हुने र यो प्रकरण अझ गिजोलिने र ठूलो युद्ध हुन सक्ने भनेर अमेरिका लगायत पश्चिमा देशले दबाब दिएका कारणले सांकेतिक आक्रमणमात्रै गरेको भनेर तीन उच्च इसराइली अधिकारीको हवाला दिँदै उसले लेखेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायत अनि जर्मनीका विदेश मन्त्रीहरूले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दबाब दिएपछि अन्ततः यो प्रकरण नबढ्ने गरी इसराइलले सांकेतिक हमला मात्रै गरेको हो।
इस्फाहन सहर रहेको इस्फाहन प्रान्तमा इरानका युरेनियम प्रशोधन केन्द्रसहित केही मुख्य आणविक प्रयोगशाला छन्।
इरानको आणविक कार्यक्रम निगरानी गर्ने इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीका अनुसार इरानको कुनै पनि आणविक स्थलमा क्षति भने भएन।
द न्यू योर्क टाइम्ससँग कुरा गरेका इसराइली अधिकारीले भने सांकेतिक हमलाले पनि इरानलाई इसराइलको सैनिक क्षमता र हतियार प्रविधिबारे यथेष्ट चेतावनी दिएको दाबी गरेका छन्।
लडाकू विमान इरानभित्र पठाएर बम खसाल्नुको साटो इसराइलले शुक्रबार केही मिसाइलले हमला गरेको थियो। साथै इरानको मिसाइल डिफेन्स सिस्टमलाई झुक्याउनका लागि केही साना ड्रोन पनि पठाएको थियो।
ती इसराइली अधिकारीका अनुसार एउटा मिसाइलले विमान खसाल्ने इरानी हतियार प्रणाली ध्वस्त पारेको थियो। त्यो मिसाइलले काम गरेपछि त्यही ठाउँमा प्रहार गरिएको अर्को मिसाइललाई भने बढी क्षति होला भनेर इसराइलले आफैं नष्ट गरेको थियो।
इरानले जबाफ दिनु नपर्ने गरी इसराइलले आक्रमण गरे पनि इरानभित्र लडाकू विमान नपठाइकनै र इरानको मिसाइल डिफेन्स सिस्टमले थाहा नपाइकनै हमला गर्न सक्ने प्रष्ट सन्देश दिएको दाबी ती इसराइली अधिकारीहरूले गरेका छन्।
सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इसराइलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदला इरानले अप्रिल १३ मा लिएको थियो।
राजधानी दमास्कसस्थित सो भवनमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका 'सेकेन्ड-म्यान' जनरल मोहम्मद हादी हज रहिमी र उक्त क्षेत्रमा कुद्स फोर्सका सैन्य कमान्डर जनरल होसेन अमान अल्लाहीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
उक्त हमलाको बदला लिन इरानले अप्रिल १३ मा इसराइलमाथि सयौं ड्रोन र मिसाइलले आक्रमण गर्यो। जबाफमा आफूमाथि आक्रमण गरे झन् ठूलो हमला गर्ने भनेर इरानले इसराइललाई चेतावनी दियो। यति मात्र होइन, इसराइललाई हतियार र अरू सहायता दिएर भरथेग गर्ने अमेरिकालाई पनि बीचमा नआउनू भनेर धम्क्यायो।
अप्रिल १३ को इरानी हमलापछि इसराइलले जबाफी हमला गरे मध्यपूर्वमा ठूलो युद्ध हुने र तेलको भाउ बढ्दै गएर विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पर्न सक्ने भनेर कतिपय डराएका थिए। तर अमेरिका लगायत पश्चिमा देशले दबाव दिएका कारणले इसराइलले साङ्केतिक जवाफमात्रै गर्यो। सो साङ्केतिक हमलाबाट जबाफ दिनु पर्ने गरी इरानमा धेरै क्षति नभएकाले अहिलेका लागि इरान-इसराइल युद्ध टार्यो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)