सुदूरपश्चिममा मुख्यमन्त्री पाउने निश्चित भएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र कलह चुलिएको छ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको सात दिने समय आइतबार साँझ ५ बजे सकिँदैछ।
सत्ता गठबन्धनबीच सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ।
सहमतिअनुसार आइतबार दिउँसो ३ बजे नाउपा सुदूरपश्चिम संसदीय दलका नेता कैलाश चौधरीलाई मुख्यमन्त्रीकारूपमा दाबी प्रस्तुत गरिने केन्द्रीय सदस्य रमेश विश्वकर्माले जानकारी दिए।
‘पार्टी अध्यक्ष रञ्जिता चौधरी मध्याह्न सवा १२ बजे धनगढी आइपुग्दै हुनुहुन्छ। उहाँ आएपछि दिउँसो ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्छौं,’ केन्द्रीय सदस्य विश्वकर्माले सेतोपाटीसँग भने।
मुख्यमन्त्री बन्ने निश्चित भएपछि नाउपाकी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच कलह झनै उत्कर्षमा पुगेको छ।
सुदूरपश्चिम प्रदेशमा संरक्षक चौधरी पक्षधर सांसदहरू बहुमत छन्। उनीहरूले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्।
‘नाउपाका हामी सातैजना सांसदहरू मुख्यमन्त्रीका लागि लायक छौं। तथापि, पार्टीको संस्थापक केन्द्रीय सदस्य भएकाले र बहुमत मेरै पक्षमा रहेकाले मैले दाबी गरेको हुँ। पार्टी अध्यक्षले पनि यसलाई मनन गर्नुहुनेछ,’ उनले भने।
उनले सुदूरपश्चिम प्रदेशमा नाउपा संसदीय दल, त्यसको कार्यालय हुँदाहुँदै केन्द्रबाट प्रदेश चलाउन खोज्नु विधि, पद्धतिको उपहास भएको टिप्पणी गरे।
‘हामीले पार्टी विधिमा चलाउनुपर्छ। पद्धतिसंगत निर्णय गरेर जानुपर्छ। पार्टी अध्यक्षले नै सबै चलाउने हो भने सुदूरपश्चिममा किन चाहियो संसदीय दल। बन्द गरिदिए भइहाल्यो नि!,’ उनले भने।
अध्यक्ष श्रेष्ठ पक्षधर विश्वकर्माले भने मुख्यमन्त्री दाबी गर्ने बेलासम्म सबै सांसद एक ठाउँमा उभिने विश्वास व्यक्त गरे। पार्टी अध्यक्षकै निर्णय लागू हुने तर्क गर्दै त्यसमा सबै आउने उनले बताए।
‘पार्टी अध्यक्षले जे निर्णय गर्नुभएको छ, लागू त्यही हुने हो। उहाँहरू पनि त्यही निर्णयमा आउनुहुनेछ,’ विश्वकर्माले भने।
सुदूरपश्चिममा नाउपाका सात सांसद थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई अध्यक्ष श्रेष्ठले फिर्ता बोलाएपछि ६ सांसद रहेका छन्।
अध्यक्ष श्रेष्ठले उनको ठाउँमा टीकापुरका तीर्थराज बोहोरालाई पठाउने तयारी गरेकी छन्।
यद्यपि आइतबार सांसद सिफारिस नगरिने केन्द्रीय सदस्य विश्वकर्माले बताए।
‘सुदूरपश्चिम प्रदेश सभामा १७ जना महिला चाहिनेमा त्यो संख्या रहेकाले रिक्त स्थानमा तीर्थराज बोहोरा पठाउने तयारी छ। यद्यपि आज उहाँलाई सांसद सिफारिस गरिँदैन,’ उनले भने।
त्यस्तै अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशका यसअघिका संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीलाई पार्टीबाट तीन महिनाका लागि निलम्बन गरेकी छिन्।
पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा अनुपस्थित भएको र पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई कारबाही गरिएको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।
सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन्। स्वतन्त्र सांसद तारा जोशीले भने अहिलेसम्म निर्णय गरिसकेका छैनन्।
यद्यपि गठबन्धनले समर्थन मागेको खण्डमा उनले सघाउने मनशाय भने व्यक्त गरे।
‘नाउपाले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दा छलफल गर्नुपर्ने हो। तर तीन–चार दिनदेखि उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘धारा १६८ (२) अनुसार सरकार बन्ने/नबन्नेबारे पनि मैले बुझेको छैन।’