इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा यसपालि दलहरू एक्लाएक्लै लड्ने तयारीमा छन्।
सत्ता गठबन्धनबीच सहकार्यको प्रयास विफल भएपछि नेकपा (माओवादी केन्द्र) ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रतिनिधि सभा र बझाङमा हुने प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो।
अहिलेसम्म सत्ताघटक नेकपा (एमाले) ले मात्रै उम्मेदवारी घोषणा गरेको छ। एमालेले पार्टीका कानुन विभाग सदस्य सुहाङ नेम्वाङलाई इलाम २ को उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी दिवंगत सुवास नेम्वाङका छोरा हुन्।
नेपाली कांग्रेस इलामले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ। कांग्रेसले चैत २० गतेभित्र उम्मेदवार टुंगो लगाउने जनाएको छ।
कांग्रेस कोशी सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको बताए। ५ जना पुरूष र २ जना महिलाको नाम कोशी प्रदेशले केन्द्रीय कार्यालय सानेपा पठाएको हो।
‘भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका छौं,’ सभापति थापाले भने।
माओवादी इलामले पनि चार जना आकांक्षीका नाम केन्द्रमा पठाएको छ। जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, कुमार बराइली (अनील) र ओम गुरूङको नाम केन्द्रमा पठाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १७ गते उम्मेदवारको घोषणा गर्दैछ।
सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन्। यद्यपि रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ। प्राइमरी इलेक्सनमा लिम्बूसहित तीन जनाको उम्मेदवारी परेको रास्वपाका एक नेताले बताए।
कोशी प्रदेश पुनः नामकरणको मुद्दा चर्किइरहेकाले त्यस संघर्षमा आबद्ध घटकहरूले पनि उम्मेदवारीको घोषणा गरेका छन्। त्यसैमध्येका एक प्रेमदीप थाम्सुहाङलाई सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन गरेको छ।
‘पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको’ जनमतका सचिव बिपी साहले बताए। ‘जनमतको चुनाव चिह्न लिएर उहाँ उठ्नुहुन्छ,’ उनले भने। थाम्सुहाङ किरात–लिम्बुवान प्रदेश नामाङ्कन समितिका अध्यक्ष पनि छन्।
पहिचानवादीकै तर्फबाट डकिन्द्रसिंह थेगिमले पनि उम्मेदवारीको घोषणा गरिसकेका छन्।
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले पनि उम्मेदवार तय गरेको छ। एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय बुधबार बिहानको पदाधिकारीको बैठकले गरेको हो।
उपनिर्वाचनलाई दलहरूले शक्ति परीक्षणको रूपमा व्याख्या गरिरहेकोले उनीहरूले विगतमा प्राप्त गरेको मतको लेखाजोखा गर्नुपर्ने हुन्छ।
इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म, ११ र १२ र माई नगरपालिकाको वडा नम्बर ६ देखि ८ वडासम्म समेटिएका छन्।
स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीचमा तालमेल भएको थियो। एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको थियो।
स्थानीय चुनावको विश्लेषण गर्दा चुलाचुली गाउँपालिकाको अध्यक्ष कांग्रेसका राजेन्द्रसिंह केरूङले ६ हजार ६५० मत ल्याएर निर्वाचित भएका थिए भने प्रतिस्पर्धी एमालेका ओमनारायण खनालले ३ हजार ७५५ मत ल्याएका थिए। एकीकृत समाजवादीले अध्यक्षमा ५०५ मत प्राप्त गरेको थियो।
उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बूले ४ हजार ४५० मत ल्याएर जितेकी थिइन्। प्रत्यासी माओवादी केन्द्रका शुकबहादुर लावतीले ३ हजार ४४२ मत ल्याएका थिए।
चुलाचुलीका अधिकांश वडा (२, ३, ४, ५, ६) कांग्रेसले जितेको थियो। वडा नम्बर १ संघीय लिम्बूवान परिषद्ले जित्यो। एमालेले कुनै पनि वडा जितेन।
मासेबुङ गाउँपालिकाको अध्यक्ष एमालेले जितेको थियो। अध्यक्षमा एमालेका हेमन्त राई ३ हजार ८९८ मतले निर्वाचित भएका थिए। अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४९५ मत ल्याएका थिए।
उपाध्यक्ष भने जनता समाजवादी पार्टीका विनोदकुमार नेम्वाङले ३ हजार ७२९ मत ल्याएर निर्वाचित भएका थिए। एमालेकी सुनिता सुब्बा ३ हजार ४६ मत ल्याएर पराजित भएकी थिइन्।
मासेबुङका वडा नम्बर १, २, ४ र ६ एमालेले जितेको थियो भनेर वडा नम्बर ३ माओवादी र वडा नम्बर ५ राष्ट्रिय जनमुक्ति पार्टीले जितेको थियो।
फाकफोकथुम गाउँपालिका पनि एमाले जितेको थियो। गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र खनाल ५ हजार ३२२ मत ल्याएर निर्वाचित भएका थिए।
कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत ल्याएर पछि परेका थिए। उपाध्यक्ष पनि एमालेले नै जितेको थियो। एमालेका उपाध्यक्षका उम्मेदवार कल्पना राईले ५ हजार १५८ मत ल्याएर निर्वाचित भएकी थिइन्। प्रत्यासी माओवादीका कुलबहादुर राईले ४ हजार १७४ मत ल्याएका थिए।
सातमध्ये चार वडा (१, २, ४, ७) कांग्रेसले जितेको थियो। एमालेले वडा नम्बर ३, ५ र ६ जितेको थियो।
देउमाई नगरपालिका पनि एमालेले जितेको थियो। नगरपालिकाको प्रमुखमा एमालेका सूर्यप्रसाद पोखरेल ८ हजार ६९५ मतका साथ निर्वाचित हुँदा प्रत्यासी कांग्रेसका होमप्रसाद दुलालले ७ हजार ६२२ मत ल्याएका थिए।
उपप्रमुखमा एमालेकी उम्मेदवार पवीमाया राईले ८ हजार ५६३ मत ल्याउँदा माओवादी केन्द्रका ५ हजार ७६५ मत ल्याएका थिए। वडातर्फ १, २, ४, ५ र ८ एमालेले जितेको थियो। कांग्रेसले वडा नम्बर ३, ६, ७ र ९ जितेको थियो।
इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा क्षेत्र नम्बर २ मा पर्छन्। नगरपालिकाको प्रमुखमा कांग्रेसका केदार थापा १३ हजार १६५ मत ल्याएर निर्वाचित भए भने उपप्रमुखमा कांग्रेसकै विष्णुकुमारी लिम्बू १३ हजार ५४२ मत ल्याएर निर्वाचित भएकी थिइन्। एमालेकी सीताकुमारी रिजालले १ हजार ८८ मत ल्याएकी थिइन्।
अधिकांश वडा पनि कांग्रेसले नै जितेको थियो। एमालेले वडा नम्बर १, ३, ११ मात्रै जितेको थियो।
माई नगरपालिका एमालेले जितेको थियो। माई नगरपालिकाको प्रमुखमा एमाले खम्बासिंह लिम्बूले ८ हजार १३२ मत ल्याएर निर्वाचित हुँदा माओवादीका धनकुमार लिम्बूले ६ हजार ५१५ मत ल्याए।
उपप्रमुखतर्फ एमालेकी हिमा भण्डारी निर्वाचित भइन्। उनले ७ हजार ८७५ मत ल्याएकी थिइन्। प्रत्यासी हेमबहादुर लिम्बूले ६ हजार ३३५ मत ल्याएका थिए।
वडाध्यक्षतर्फ पनि एमालेकै वर्चस्व रहेको थियो एमालेले ७ वटा वडा (२, ४, ५, ७, ८, ९, १०) जितेको थियो भने कांग्रेसले वडा नम्बर १, ३ र ६ मात्रै जित्यो। यसरी हेर्दा स्थानीय तहतर्फ एमालेकै वर्चस्व देखिन्छ।
प्रतिनिधि सभातर्फ गएको निर्वाचनमा एमाले इलाममा दुवै क्षेत्र जितेको थियो। क्षेत्र नम्बर १ मा महेश बस्नेत निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा सुवास नेम्वाङले चुनाव जितेका थिए। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि उपचुनाव हुन लागेको हो।
इलाम–१ मा २ हजार ६६४ मतले बस्नेतले चुनाव जित्दा क्षेत्र नम्बर २ मा ११४ मतको फरकमा नेम्वाङ निर्वाचित भएका थिए। क्षेत्र नम्बर २ मा १४ प्रत्यासीमा २ जना उम्मेदवारबाहेक कसैको पनि जमानत जोगिएको थिएन।
नेम्वाङ ३० हजार २० मतले निर्वाचित हुँदा प्रत्यासी कांग्रेसका जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए।
त्यतिबेला उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादीको साथ थियो।
काठमाडौंको उपत्यकाको ५ स्थानसहित चितवनको एक र दुई नम्बर क्षेत्र जितेको रास्वपाले इलाममा भने जमानत जोगाउन सकेको थिएन। रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत ल्याएका थिए।
समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल थियो। कांग्रेसको २२ हजार ३३ मत ल्यायो भने माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो।