सुन तस्करी प्रकरणमा जीवन चलाउने र उनीसँग जोडिएका व्यक्तिहरूलाई जोगाउन अनुसन्धानमा गम्भीर लापरबाही गरिएको पाइएको छ।
सुन तस्करी प्रकरणको छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदनले चलाउनेलगायतका व्यक्तिहरूलाई जोगाउन अनुसन्धानमै गम्भीर त्रुटि भएको औंल्याएको हो।
गत साउन ३ गते ६० किलो सुन भन्सार छलेर बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले समातेको थियो। सोही प्रकरणमा साउन १४ गते चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ प्रकाउ परेका थिए।
जीवन चलाउने चिनियाँ मुलका वेल्जियन नागरिक दावा छिरिङसँग निरन्तर सम्पर्कमा रहेका र यो सुनका सवालमा विभिन्न माध्यमबाट कुराकानी गरेका व्यक्ति हुन्।
बर्दियाका जीवन उच्च राजनीतिक पहुँच भएका व्यक्ति हुन्।
तर चलाउनेको छानबिनमा भने गम्भीर लापरवाही गरिएको र उनले दिएका बयान र प्रमाणहरू पनि नष्ट गरिएको आशंका आयोगले गरेको छ। आयोगको प्रतिवेदनले त्यसबारेमा छानबिन गर्न सिफारिस गरेको छ।
चलाउने भने अहिले फरार छन्।
यस प्रकरणमा छानबिन आयोग गठन हुनुभन्दा पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छानबिन गरेको थियो। त्यसबेला सिआइबीले चलाउनेलाई बोलाएर चार घन्टा लामो बयान लिएको थियो। बयानकै क्रममा विभिन्न कागजपत्र पनि सिआइबीलाई उपलब्ध गराएका थिए।
तर, सिआइबीले अभियोग पत्र तयार पार्ने क्रममा चलाउनेले बयान दिएका कुनैपनि विषय र प्रमाणहरू पेस गरेको थिएन।
‘चलाउनेले सिआइबीमा लामो बयान दिएका थिए, उनले डकुमेन्टहरू पनि उपलब्ध गराएका थिए, यो कुरा पुष्टि नै हुन्छ,’ छानबिन आयोगका एक सदस्यले सेतोपाटीसँग भने, ‘उनलाई सिआइबीले चार घण्टा राखेर, कागज गराएर छोडेको तथ्य खुलेकै छ,उनी स्वयमले पहिले अनौपचारिक रूपमा सिआइबी प्रमुखले सोधपुध गरेको र पछि फाँटमा पनि लामो बयान दिएको बताएका छन्।’
चलाउनेले छानबिन आयोगलाई बयान दिने क्रममा आफूले सिआइबीलाई चार घण्टा लामो वयान दिएको र आफूसँग भएको कागजपत्र सबै सिआइबीमै छोडेर आएको बताएका थिए।
तर सिआइबीले आफूसँग भएको छानबिनको कागजात आयोगलाई बुझाउँदा चलाउनेसँग सम्बन्धित कुनै पनि प्रकरण उल्लेख नगरेको र मौखिक बयानमा पनि चलाउनेसँग बयान लिएको प्रसंग नै ननिकालेको आयोगका एक सदस्यले सेतोपाटीलाई बताए।
‘उनले आफूसँग भएको कागजपत्र पनि दिएको भनेका छन्। त्यो कागज र उनले के बयान दिए भन्ने विषयमा हामीलाई लुकाइएको छ। कागज पनि पाइँदैन। प्रमाण लोप भएका छन्,’ ती सदस्यले भने, ‘सिआइबीको अनुसन्धानमा गम्भीर लापरबाही भएको छ।’
त्यसअघि सिआइबीले चलाउनेमाथि छानबिन नै गर्न इन्कार गरेको समेत गृहका अधिकारीहरूले बताएका छन्।
‘पहिले चलाउने माथि सामान्य सोधपुछसमेत भएन। तर उनी जोडिएको विषय आएपछि हामीले निरन्तर चासो राख्यौं, पछि उनलाई बोलाएर बयान त लिइयो तर सबै प्रमाण पेस गरिएनछ,’ गृह मन्त्रालयका एक अधिकारीले भने।
६० केजी सुन प्रकरणका मुख्य दोषी बेल्जियन नागरिक दावा छिरिङले सिआइबीलाई दिएको बयानमा पनि यो प्रकरणमा जीवन चलाउनेको संलग्नता रहेको बताएका थिए।
गृहमन्त्री रवि लामिछानेले पनि सुन प्रकरणको अनुसन्धानमा प्रमाणहरू नष्ट भएको बताएका छन्।
‘अनुसन्धानमा संलग्न उच्च अधिकारीहरूले बयान नष्ट गराउने र मुख्य अभियुक्तहरूलाई नै बचाउन खोजिनु गम्भीर लापरबाही हो,’ उनले भने।
सिआइबीको छानबिन चित्त बुझ्दो नहुने भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालले संसद निरन्तर अवरोध गरेपछि सरकारले छानबिन आयोग गठन गरेको थियो।
तर छानबिनको क्रममा सिआइबीले समेत असहयोग गरेपछि छानबिन आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहित अरू तीन प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।
‘भेटिएको प्रमाणलाई अभियोगमा नराख्ने, भेटिएको प्रमाण छानबिन आयोगलाई नदिने काम भएको छ। चलाउने आफैले चार घण्टा बयान दिएको भन्दै प्रमाणको लागि सिसी टिभी हेरियोस् भनेका छन्। तर, चार घण्टा के भयो केही जानकारी दिइएन,’ छानबिन आयोगका ती सदस्यले सेतोपाटीसँग भने।
छानबिन आयोगका संयोजक डिल्लीराज आचार्यले आफूहरूले चार भागमा विभाजन गरेर प्रतिवेदन बुझाएको जानकारी गराए।
आयोगले मुद्दा चलाउनु पर्ने, विभागीय कारवाही गर्नु पर्ने, पुरानो गतिविधि ठिक नभएको भन्दै रेकर्डमा नाम राख्नु पर्ने र गल्ती नभएको भन्दै क्लिन चिट दिनु पर्ने ६८ जना व्यक्तिको नाम प्रतिवेदनमा उल्लेख गरेको छ।
४८५ पृष्ट लामो प्रतिवेदनमा ३८० पृष्ठमा आयोगले गरेका कामको उल्लेख गरिएको छ। एक सय पृष्ठमा विभिन्न व्यक्तिल दिएको सुझाब राखिएको छ। उनका अनुसार पाँचवटा पृष्ठमा निष्कर्ष र सिफारिस राखिएको छ।
यी पनिः
सिआइबी प्रमुख किरण बज्राचार्यलाई कारबाहीको तयारी
यी हुन् सुन प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिस गरेका १२ जना
महरा सहितलाई मुद्दा चलाउन सिफारिस भएको सुन प्रकरण के हो?
गृहमन्त्री लामिछाने भन्छन्- उच्च अधिकारीबाटै बयानको कागज च्यातियो, अभियुक्त भगाइयो, आजै कारवाही थाल्छु