स–साना झै-झगडाले आक्रान्त नेपाली राजनीतिमा मिल्न र छुट्टिन बेर नलाग्ने नेताहरूको अस्थिर चरित्र बुझेरै हुनुपर्छ मदन भण्डारी भन्ने गर्थे– राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको यही भनाइ अहिले चरितार्थ गर्दैछन्– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।
उनीहरूबीच अहिले भेटवार्ताको शृंखला चलेको छ। आइतबार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणमा सँगै बसेका दुई नेताको तस्बिरले पनि केही संकेत गरेको छ।
नयाँ गठबन्धनबाट थालनी भएको उनीहरूको सहकार्यको बिसौनी कहाँ हो अहिले नै अनुमान गर्न कठिन छ। तर पछिल्लो दिनका एक्लाएक्लै भेटवार्ताले सत्ता सहकार्य हुँदै एकतासम्म पुग्ने बाटो कोरिरहेको आकलन भने हुन थालेको छ।
ओली र नेपालबीच शनिबार अपराह्न ४ बजे पनि भेटवार्ता भएको एमालेका एक नेताले बताए। ती नेताले दिएको जानकारीअनुसार अध्यक्ष ओली र नेपालबीच सिंहदरबार अघिल्तिरको बसेरा होटलमा भेटवार्ता भएको थियो।
प्रेम र घृणाको लामो बाटो हिँडेका ओली–नेपाल
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रेम र घृणाको लामो बाटो हिँडेका छन्।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगाको रहस्यमय दुर्घटनामा तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएपछि ओली–नेपाल निकै नजिकिएका थिए।
मदन–आश्रितको निधनपछि नेपाल पार्टी महासचिव बने। त्यतिबेला पोलिटब्युरो सदस्य रहेका ओली र नेपाल एउटै जहाजसमेत नचढ्ने गरेको एमाले नेता सम्झन्छन्।
'दुई जना नेतामध्ये एक जनालाई केही भइहाले अर्कोले पार्टी चलाउनुपर्छ भनेर उहाँहरूले त्यसो गर्नुभएको थियो,' एक नेताले सम्झिए।
तर सातौं महाधिवेशनसम्म पुग्दा उनीहरूबीच निकै दूरी बढ्यो। पछिल्लो समय त घोर दुस्मनजस्तै बन्न पुगे।
२०५९ माघ १८ गतेदेखि २३ गतेसम्म जनकपुरमा एमालेको सातौं महाधिवेशन भएको थियो। पार्टी विभाजन गरेर माले बनाएका वामदेव गौतम एमालेमै फर्किएका थिए।
एमालेमा फर्किएलगत्तै उनी ओली गुटतिर लागे।
मूलघर फर्किएका वामदेव र ओली मिल्दा पनि केन्द्रीय कमिटीमा २० प्रतिशत सदस्य निर्वाचित गराउन सकेनन्। केन्द्रीय कमिटीमा उठेका अधिकांश उम्मेदवारले पराजय बेहोरेपछि नेपाल पक्षले ओली समूहलाई किनारमै धकेलेको एमालेका नेता सम्झन्छन्।
यहाँसम्मकी महाधिवेशन सकिएको दिन ओली पक्षले जनकपुरका होटलहरूमा बास पाएनन्। रातारात काठमाडौं फर्किन परेको अहिले ओली समूहमा रहेका नेताहरू बताउँछन्। तर उनीहरूबीचको घृणा प्रेममा बदलिन पनि समय लागेन।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ र काठमाडौं–२ दुवै ठाउँबाट पराजित भएपछि उनको राजनीतिक यात्रा ओरालो लागेको थियो।
संविधान सभा निर्वाचनमा एमाले तेस्रो पार्टी बनेको नैतिक जिम्मेवारी लिँदै उनले महासचिव पदबाट राजीनामा दिए। तर नेपाल मन्त्रिपरिषदको कोटाबाट संविधान सभा सदस्य मनोनीत भए। त्यतिबेला २९ जना सभासद मन्त्रिपरिषदले मनोनीत गर्न पाउँथ्यो।
त्यही मनोनयन उनलाई निम्ति प्रधानमन्त्री हुने बाटो बन्न पुग्यो। २०६६ मा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पदबाट राजीनामा दिएपछि नेपाललाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो।
त्यतिबेला ओलीले नेपाललाई दर्बिलो साथ दिए। तर २०७० माघमा पुग्दा नपुग्दै उनीहरू बीचको सम्बन्ध कटुतामा परिणत भइहाल्यो।
दोस्रो संविधान सभापछि भएको संसदीय दलको निर्वाचनमा एमालेभित्र तत्कालीन अध्यक्ष झलनाथ खनाल र नेपालको गुट बन्यो। उपाध्यक्ष वामदेव गौतम केपी ओलीतिर मिसिन पुगे।
संसदीय दलको नेतामा ओली निर्वाचित भए। त्यसलगत्तै भएको पार्टीको नवौं महाधिवेशनमा अध्यक्षमा ओली र नेपाल नै आमनेसामने भए।
निवर्तमान अध्यक्ष खनालको साथ पाए पनि नेपालले चुनाव जित्न सकेनन्। अध्यक्षमा ओली निर्वाचित भए।
त्यसयता भने अध्यक्ष ओली र नेपालबीच सम्बन्ध सुमधुर हुन सकेको छैन।
२०७४ जेठ ३ गते पार्टी एकतापछिका केही दिनमा उनीहरूबीच सम्बन्ध सुमधुर बनाउने प्रयास पनि नेताहरूले गरेका थिए। उनीहरूको त्यो प्रयास सफल भएन। ओली र नेपालका बीचमा तिक्तता झाँगिदै गयो।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेपाल त्यस कदमलाई प्रतिगमनको संज्ञा दिँदै सडकमा पुगे। अदालतले पनि ओलीको कदमलाई असंवैधानिक भनिदियो।
संसद विघटनपछि र २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग–अलग अस्तित्वमा फर्काइदिएपछि पनि अध्यक्ष ओली र नेपालबीच संवादका शृंखला नचलेका होइनन्।
तिनले सार्थकता पाउन नसकेपछि २०७८ भदौ ९ गते एमाले विभाजन भयो। नेपालसहितका नेताले एकीकृत समाजवादी गठन गरे।
त्यसयता यी दुई नेताले एक अर्कालाई चरम घृणा गर्दै आएका थिए। अध्यक्ष ओलीले 'माधव नेपालको नाम लिए मुख कुल्ला गर्नुपर्ने' बताउँथे। अध्यक्ष नेपाल भने 'ओली राजवादी कित्तामा पुगिसकेको र पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठमा रहेको' आरोप लगाउँथे।
सहकार्यको नयाँ आयाम
गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुरानै छविलाई निरन्तरता दिँदै काँध फेरे।
यद्यपि त्यसको पृष्ठभूमि भने चार–पाँच महिनादेखि बुनिएको थियो। गठबन्धनको नयाँ खाका कोर्नमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली आफैं संलग्न थिए। उनीहरूका भेट र वार्तालाप गुपचुप राखिएको थियो।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) बीच आइतबारै बेलुका नयाँ गठबन्धन र सत्ता समीकरणको रूपरेखा कोरिएको थियो।
तर एमालेका अधिकांश पदाधिकारीले भने सोमबार बिहानसम्म त्यसको सुइँकोसम्म पाएका थिएनन्।
सोमबार पार्टी पदाधिकारी बैठकमा अघिल्लो रात प्रधामन्त्री प्रचण्डसँग भएको सहमतिबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले भनेका थिए, 'साथीहरूले सुइँकोसम्म पनि पाइएन भनेर मन दुखाउनुहोस्। हाम्रो वरिष्ठ उपाध्यक्षलाई पनि मैले हिजो राति मात्रै भनेको हुँ।'
करिब १५ मिनेटको ब्रिफिङपछि अध्यक्ष ओलीले नयाँ गठबन्धन परिस्थितिको उपज भएको बताउँदै यो समीकरण २०८४ सम्म निर्बाध जाने बताएका थिए। त्यसपछि मात्रै एमालेवृत्तलाई थाहा भयो।
अहिले ठीक त्यसै गरी अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल वार्तामा बसेका छन्। सोमबारको गठबन्धनपछि उनीहरूबीच दुईपटक भेटघाट र एकपटक फोनमा वार्तालाप भएको छ।
यी सबै घटनाक्रमलाई नियालेकाहरू एमाले र एकीकृत समाजवादी एकताको दिशामा अघि बढेको अर्थ लगाउन थालेका छन्।
तर एमाले र एकीकृत समाजवादीसँग तत्काल एकता हुने सम्भावनालाई भने यी तथ्यले नकार्छन्।
सोमबारको घटनाक्रम र त्यसपूर्वदेखि नै अध्यक्ष नेपालले आफ्नो शक्ति बुझेका छन्। त्यसलाई उपयोग गरेर लाभ र थप राजनीतिक शक्ति आर्जन गर्ने ध्याउन्नमा छन्। गत चुनावमा गठबन्धन घटक दलको साथ पाउँदा पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट चुक्यो।
एमालेबाट अपमानजनक ढंगले निक्लनुपरेकाले फरक पार्टीको विकास गरेर त्यसको अगुवाइ गर्ने हुटहुटी एकीकृत समाजवादीमा महासचिव घनश्याम भूसालबाहेक कसैसँग छैन।
समाजवादीमा सरकारमा गएका बाहेक सबै सांसद रूष्ट छन्। उनीहरूले नेतृत्वको सत्तोसराप गर्दै हिँडेका छन्। कतिपय त एमालेसँग संवादमा छन्।
यी तथ्यलाई पर राख्ने हो भने माधव नेपाल नेपाली राजनीतिको एउटा शक्ति हुन्। सोमबार यताका घटनाक्रमले नेपाल नेपाली राजनीतिका जबरजस्त शक्ति हुन भन्ने पुष्टि गरेको छ, समकालीन राजनीतिका सिद्धहस्त खेलाडीहरूले उनको शक्ति र सामर्थ्यको भेउ पाएका पनि छन्।
सोमबार बालुवाटारमा ८ बुँदे सहमति गरेर प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे। उनीहरू पुग्नुअगावै एमाले अध्यक्ष ओलीले नेपाललाई फोन गरेर प्रचण्ड र श्रेष्ठले ल्याउने सन्देश आफ्नो पनि भएको बताइसकेका थिए।
त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डसहित नेताहरू लिएर अध्यक्ष ओली नेपाल निवास गए। उनीहरूले नेपाललाई सहकार्यको प्रस्ताव गरे।
ती भेटमा अध्यक्ष नेपालको एउटै गुनासो थियो– यी तमाम योजना भित्रभित्रै छड्किइरहँदा प्रचण्डले यसबारे सुइँको पनि दिएनन्। सँगै हिँडिरहेको सहयात्रीलाई पत्तै नदिइ गठबन्धनको राजनीतिक उथलपुथलको निम्तो दिने प्रचण्डले भोलि अलपत्र नपार्लान् भन्ने के ग्यारेन्टी छ?
यी गुनासोको अन्तर्यमा जाने हो भने अध्यक्ष नेपालको प्रधानमन्त्री बन्ने सपना दुर्घटित भएको चिन्ता देख्न सकिन्छ।
यसलाई बुझेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले उनलाई 'आश्वासन' थमाएका छन्। केही नेताले तीन अध्यक्षका बीच प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति भएको बताउँछन्। संसदको महत्त्वपूर्ण अंग बन्नपुगेको एकीकृत समाजवादीको महत्त्व नेपाली कांग्रेसले नबुझ्ने कुरै भएन।
माओवादी केन्द्र, एमालेसँग निकट भएपछि वैकल्पिक गठबन्धन बन्छ कि भनेर उसले प्रयास गर्ने नै भयो। प्रतिनिधि सभामा १० सिट भएको एकीकृत समाजवादी रोक्न सके प्रचण्डको मनमा चिसो पसाउन सकिन्थ्यो भनेर नेपाली कांग्रेसले नसोच्ने कुरै भएन।
मंगलबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख सचेतक रमेश लेखक लिएर भेट्न पुगे। भेटमा सभापति देउवाले सहकार्यको प्रस्ताव गरे।
देउवालाई ठोस जवाफ नदिएका अध्यक्ष नेपालले त्यही दिन सचिवालय बैठक राखे। बैठकलगत्तै पार्टी महासचिव घनश्याम भूसालसहितका नेता लिएर बालुवाटार पुगेका नेता नेपालले त्यहाँ दुई मन्त्रीको नाम मात्र बुझाएनन्, केही समझदारीसमेत गरे।
तीन अध्यक्षबीच प्रधानमन्त्रीको बाँकी कार्यकाल बाँड्ने समझदारी त्यहीबेला भएको एक नेताको दाबी छ। तर यसको पुष्टि भने भएको छैन।
गठबन्धनको फेरबदलैपिच्छे निर्णायकजस्तो बन्न पुगेका अध्यक्ष नेपाल अहिले नै एमालेसँग एकता गर्ने मनस्थितिमा छैनन्।
गठबन्धन फेरबदलबाट उनको प्रधानमन्त्री बन्ने सम्भावना क्षीण बनेको छ। यद्यपि यो सम्भावना भने टरिसकेको छैन। कथमकदाचित यो गठबन्धन ढलिहाले कांग्रेस एमालेसहितका दल प्रधानमन्त्रीको प्रस्ताव बोकेर कोटेश्वर आउने राजनीतिक परिदृश्य उनले कल्पना नगर्ने कुरै भएन।
'कांग्रेससँग गठबन्धन गर्दागर्दै अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य गर्न सक्छन् भने माधवकुमार नेपाल पनि सहकार्यको अर्को बाटो खोज्न नसक्ने भन्ने हुँदैन,' एकीकृत समाजवादीका एक नेताले भने, 'एमाले–माओवादी केन्द्रको गठबन्धन समस्यामा पर्नेबित्तिकै माधव नेपाल पुनः निर्णायक ठाउँमा आइहाल्नुहुन्छ। यसलाई राम्ररी बुझेका अध्यक्ष नेपाल अहिल्यै एकताका लागि हतारिनुहुन्छ भनेर विश्वास गर्न सकिँदैन।'
प्रतिनिधि सभामा ७७ सिटको एमालेसँगको एकतामा एकीकृत समाजवादीले सम्मानजनक स्थान पाउन दुरूह छ। 'कुवामा लोटाको पानी मिसाएजस्तो हुन्छ' भनेर एमालेकै कार्यकर्ताले विश्लेषण गर्दै आएका छन्।
राष्ट्रिय राजनीतिमा 'बार्गेनिङ' को राम्रो हैसियत र स्थान बनाएका अध्यक्ष नेपाल एमालेमा फर्किएर हातखुट्टा बाँध्न तयार नहुने एकीकृत समाजवादीका नेता पनि बताउँछन्।
७७ सांसदको पार्टीमा १० सिटको स्थान कहाँ हुन्छ उनले नबुझेका छैनन्। एमालेमै बसेका हिजोका आफू पक्षधरहरू तितरवितर भइसकेका छन्। पुरानै पार्टीमा फर्किँदा कुन हैसियत प्राप्त हुन्छ भनेर वामदेव गौतमको अवस्थाबाटै उनले थाहा पाइसकेका छन्।
यी सबैले उनलाई तत्काल एकता प्रक्रियामा जान रोक्ने कतिपय नेताको बुझाइ छ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष ओली र नेपालबीचको भेटघाट, वार्तालापलाई सहकार्यलाई कसिलो बनाउने प्रयत्नकै रूपमा बुझ्छन्।
'सहकार्यलाई कसिलो र टिकाउ बनाउने हाम्रो घोषित नीति नै हो। सहकार्यलाई बलियो बनाउँदै जाने नै हाम्रो लक्ष्य छ,' उनले भने, 'यो सहकार्यलाई कहाँसम्म पुर्याउने भनेर चाहिँ हामी छलफलमै छौं।'
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष ओलीको सक्रियतालाई नेतृत्वको दूरदर्शिताका रूपमा लिएको बताए।
'अरूले आँखाअगाडिको मात्र देख्छन्। अध्यक्ष ओलीले अलिक परसम्मको बाटो पनि हेर्नुहुन्छ। अहिलेको संरचना निर्माण, गठबन्धन फेलबदललाई २०८४ मा एमालेलाई बहुमतसहितको पार्टी मात्र नभइ बलियो राष्ट्रिय शक्ति बनाउने अभियानका रूपमा बुझ्नुपर्छ,' उनले भने।
उनले राजनीतिमा कहिलेकाहीँ एक कदम अघि बढ्नका लागि दुई कदम पछि हट्नुपर्ने पनि बताए।
'लेनिनको एउटा भनाइ छ– एक कदम अघि बढ्न कहिलेकाहीँ दुई कदम पछि हट्नुपर्छ। अध्यक्ष ओलीको क्रियाशीलतालाई मैले यही रूपमा बुझेको छु,' रिजालले भने।