प्रतिनिधि सभामा पछिल्लो समय देखिने र सुनिने सांसदका रूपमा दर्ज भएकी व्यक्ति हुन् सुमना श्रेष्ठ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमनाले पटक पटक तथ्यांकसहित प्रश्न उठाउँदा जबाफ दिने मन्त्रीहरू समेत हच्किने अवस्था बनेको थियो। प्रतिनिधि सभामा उनले मन्त्रीहरूलाई मात्रै होइन सांसदहरूलाई समेत प्रश्न सोध्थिन्।
मिटरब्याज पीडितहरू राजधानी आएर आन्दोलन गरेका बेला संसदमा सबैजसो दलका सांसदले मिटरब्याज पीडितको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।
सांसद सुमनाले भने सांसदहरूलाई नै प्रश्न गरिन्।
'कुन कानुन नभएकाले अहिलेसम्म फर्जी तमसुक नच्यातिएको हो? सबै जनाले मिटरब्याजी, मिटरब्याजी भनेर सबै पार्टीको मान्छेले उठाएको छ,' उनले सांसदहरूलाई सोधिन्, 'कुन कानुन नभएकाले उनीहरूविरूद्ध मुद्दा नलगिएको हो? हाम्रो न्यायपालिका खराब भएको हो कि, पुलिस खराब भएको हो कि हामी सांसदहरू खराब भएको हो?'
प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले कयौं पटक सरकारको काम कारबाहीमा प्रश्न उठाएकी छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति, मेडिकल कलेजहरूले निर्धारण भएकोभन्दा बढी शुल्क लिएको, विद्यार्थी नभई शिक्षकले तलब लिएकादेखि मन्त्री बिरामी हुँदा अर्को व्यक्तिलाई कार्यबाहक किन नदिएको जस्ता प्रश्न उनले समितिमा गरेकी छन्।
विद्यालय शिक्षा विधेयकका हरेक छलफलमा उनले देशभर रहेका भनिएका २१ थरी शिक्षकका तथ्यांक, शिक्षकहरूलाई गरिएको कारबाहीको विवरण मागिरहिन्।
उनै प्रश्न सोध्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बुधबार शिक्षा मन्त्री बनेकी छन्। सरकार र मन्त्रीहरूलाई प्रश्न सोध्ने सांसद सुमना अब तिनै आफ्ना सांसदहरूको प्रश्नको जबाफ दिने ठाउँमा पुगेकी छन्।
विश्वविख्यात अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) को मेनेजमेन्ट स्कुलबाट विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी सुमना राजनीतिमा आउनु अघि फाइनान्सियल एनालिस्ट थिइन्।
सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि उनले नेपाल फर्कने निर्णय गरेकी थिइन्। नेपाललाई भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको अभाव भएका बेला एक अर्कालाई लिफ्ट माग्ने र दिने 'कारपुल काठमाडौं' अभियान सुरू गरेकी सुमना त्यसपछि सामाजिक अभियानहरूमा जोडिन थालिन्।
उनी २०७८ को निर्वाचनको ६ महिनाअघि देखिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकी थिइन्। उनी राजनीतिमा आउनुको पछाडि एउटा संयोग पनि छ।
सुमनाले सुरूआतमा राजनीतिको अघिल्लोभन्दा पनि पछिल्लो सिटमा बसेर काम गर्न चाहेकी थिइन्। ललितपुरबाट चुनाव लड्न हौसिएका रास्वपा नेता अरनिको पाँडेको चुनाव अभियानको नेतृत्व सुमनाले काँधमा लिएकी थिइन्। तर जब पाँडे स्वास्थ्यको कारण देखाएर पछि हटे सुमना आफैं राजनीतिमा अघि आइन्।
सेतोपाटीसँगको केही अघिको कुराकानीमा सुमनाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक चुनाव गर्ने पद्धति मन परेकाले आफूले उक्त पार्टी रोजेको बताएकी थिइन्।
रास्वपा नेता पाँडेले आफू पछि हट्ने स्थिति बनेपछि सुमनालाई सांसद बन्न भनेका थिए। सुमना सुरूआतमा तयार भएकी थिइनन्।
'उहाँले म नै किन, अरू भए भइहाल्छ भन्नुभएको थियो', पाँडेले सेतोपाटीसँग भने, 'सांसद हुनासाथ उहाँले कार्यक्षेत्रदेखि जिम्मा र भूमिकाबारे राम्रोसँग गृहकार्य गर्नुभयो।'
राष्ट्रिय स्वत्नत्र पार्टीबाट समानुपातिक तर्फबाट निर्वाचित भए पनि सुमना राजनीतिमा लाग्ने मानिसहरूको पनि कार्यकाल तोक्नुपर्ने वकालत गरिरहेकी छन्।
प्रणालीमा सुधार, सांसदमा चाहिने जोखिम लिने क्षमताका लागि सांसदको कार्यकाल तोक्नुपर्ने उनको राय छ। अन्यथा राजनीतिमा पदका लागि कुरेरै बस्ने पद्धति बस्ने उनको बुझाइ छ। यसपटक समानुपातिकबाट सांसद बने पनि अब दोस्रोपटक उनी समानुपातिक प्रणालीबाट सांसद नबन्ने पक्षमा छिन्।
सांसदको रूपमा सुमनाले सामाजिक सञ्जाल र वेबसाइटबाट थुप्रै गुनासा, प्रश्न र कानुन सुधारका लागि संशोधनसम्म मागेकी छन्। बुधबार शिक्षा मन्त्रीको शपथ लिएसँगै अब उनी आफूले प्राप्त गरेको त्यही सुझावको आधारमा सुधार गर्ने ठाउँमा आइपुगेकी छन्।
संसदीय समितिमा उनले विदेशमा पढ्न जान आवश्यक हुने 'नो अब्जेक्सन लेटर' माग्दा घुस मागिएको घटनासम्म आफूलाई इमेलमा प्राप्त भएको बताएकी छन्। आफूले यसरी प्राप्त गरेका सुझाव अब आफैं कार्यान्वयन गर्ने पदमा सुमना पुगेकी छन्।
अरनिको पाँडेले सुमना छिटो छिटो सिकेर काम गर्न सक्ने क्षमता भएकाले मन्त्रीका रूपमा उनले राम्रो काम गर्ने बताउँछन्।
'धेरै विषयमा छोटो अवधिमा धेरै ज्ञान बटुलेर, धेरैसँग सल्लाह लिएर हचुवाभन्दा गृहकार्यको आधारमा निर्णय गर्ने बानी छ उहाँको', पाँडेले भने, 'उहाँले जति छिटो जिम्मेवारी सिकेर काम गर्ने अरू नहोलान्। उहाँ हिरो बन्नेभन्दा पनि विषयमा लगावका साथ काम गर्नुहुन्छ। उहाँ मन्त्री हुन लायक र देशलाई चाहिएको मन्त्री हो।'
सुमना आफैं भने प्रश्न गर्ने ठाउँबाट जबाफ दिने ठाउँमा आइपुगे पनि आफूले सधैं सही प्रश्न उठाउने काम गर्ने बताउँछिन्।
'सही प्रश्न उठायो भने ८० प्रतिशत जबाफ त्यसमै भेटिन्छ। मैले पहिला सोधेका प्रश्नहरू पनि जबाफ खोज्नका लागि थिए', सुमनाले भनिन्, 'प्रश्न सोध्न छाडिन्नँ तर अब यसरी प्रश्न सोध्ने काम जबाफ खोज्नका लागि हुन्छ।'
सुमना शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताउँछिन्।
'जे जे पहिला प्रश्न उठाएकी थिएँ। अब समाधानका लागि केके गर्नुपर्छ भनेर उत्तर दिनेगरी नीति र कानुनमा परिमार्जन गर्नुपर्नेछ,' सुमनाले भनिन्, 'कतिपय कार्यान्वयनमा सुधार गर्नुपर्नेछ। कुनै पारदर्शितामा काम गर्नुपर्ने होला।'
सुमनाले केही समयअघि पोखराको नेपाल लिटरेचर फेस्टिभलमा आफू गठबन्धन राजनीतिबाट दिक्क भएर राजनीतिमा आएको बताएकी थिइन्। तर यसपटक उनी गठबन्धन सरकारकै मन्त्री बनेकी छिन्।
सुमनाले भने आफूले उक्त फेस्टिभलमा चुनाव अघिको गठबन्धनको विषयमा बोलेको बताइन्।
'चुनाव अघिको गठबन्धन राजनीतिक भ्रष्टाचार हो,' उनले भनिन्, 'तर चुनावमा कसैलाई पनि जनताले बहुमत नदिएर मिलेर काम गर भनेका छन्। त्यसैले हामी संविधान अनुरूप जाने हो।'
सुमनाले मन्त्रालयमा गएर आफूले काम गर्ने विषयमा उत्साही रहेको बताइन्।
'यो चुनौतीपूर्ण समय छ,' मन्त्रीको शपथलगत्तै सुमनाले भनिन्, 'जति सक्दो गर्ने हो।'