नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर गत सोमबार नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ समीकरण बनाएका थिए।
प्रधानमन्त्री दाहालले 'धोका दिएको' निष्कर्षमा पुगेका सभापति देउवाले राजनीतिक सक्रियता देखाएका छन्। गठबन्धन टुट्नुअघि देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत तत्कालीन अवस्थाको गठबन्धन बाहिरका नेताहरूसँग खासै भेट्ने गरेका थिएनन्।
यो पनि: भेटुम् भन्दै ओलीले दिनमै दुईपल्ट फोन गर्थे, भेटिनँ, प्रचण्ड भित्रभित्रै भेट्दा रहेछन्: देउवा
सभापति देउवाले बुधबार बिहान कोटेश्वर पुगेर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटे। देउवाले सहकार्यलाई निरन्तरता दिन अध्यक्ष नेपालसँग आग्रह गरेका थिए।
सभापति देउवा प्रमुख सचेतक रमेश लेखक र पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई लिएर कोटेश्वर पुगेका थिए। भेटवार्तामा सहभागी प्रमुख सचेतक लेखकले पूर्वप्रधानमन्त्री नेपालसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
सहकार्यलाई निरन्तरता दिन सभापति देउवाले आग्रह गरे पनि एकीकृत समाजवादी भने दुई मन्त्रालय लिएर सरकारमा गएको छ।
अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले भेटेर सरकारमा सामेल हुन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि आलोकनगरमा बुधबार दिउँसो बसेको समाजवादीको सचिवालय बैठकले सकारात्मक रूपमा लिने निर्णय गरेको थियो।
यससँगै सभापति देउवाले गरेको सहकार्य प्रस्ताव एकीकृत समाजवादीले अस्वीकार गरेको छ।
सभापति देउवाले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसँग बुधबार अपराह्न बूढानीलकण्ठस्थित निवासमा छलफल गरेका छन्।
यी दलहरू नयाँ गठबन्धनमा सामेल छैनन्।
सभापति देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीलाई सुरूमा प्रधानमन्त्री दाहालले धोका दिएको सुनाएका थिए।
यी दलका अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक लेखकलाई पनि सँगै राखेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वास गरे पनि गठबन्धनलाई निरन्तरता नदिई धोका दिएको देउवाको भनाइ थियो।
‘प्रधानमन्त्री प्रचण्डजीलाई विश्वास गरेँ, धोका दिनुभयो। सकिन्छ भनेदेखि हामीहरू एकै ठाउँमा बसौं,’ सभापति देउवाले प्रस्ताव गरे।
लोसपा अध्यक्ष ठाकुरले आफूहरू सरकारमा नजाने बताए। ‘हामी त प्रतिपक्षमै बस्ने भनेर निर्णय गरेर आइसक्यौं, हामी सँगै रहन्छौं,’ ठाकुरले भने।
नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले पनि तत्काल आफूहरू सरकारमा नजाने कुरा सभापति देउवासँग सुनाएका थिए।
जनमतका अध्यक्ष राउतले भने सरकारमा जाने वा नजानेबारे अनिर्णीत रहेको प्रतिक्रिया दिएका थिए।
‘हामी संघीय सरकारमा जाँदै जाँदैनौं, मधेसको मुख्यमन्त्रीचाहिँ हाम्रो बटमलाइन हो,’ राउतले भनेका थिए, ‘छलफललाई जारी राखौं।’
कांग्रेस महामन्त्री गगन थापाले तीन दलका अध्यक्षहरूसँग सहकार्य गरेर जाने आग्रहसहित छलफल गरिएको जानकारी दिए।
‘सबै दलहरूसँग छलफल गर्न कांग्रेस खुला छ। अस्तिसम्म गठबन्धनका कुराले बाँधिएको हुँदा हामीले अरू दलहरूसँग खुला रूपमा छलफल गर्न सकेका थिएनौं। ढोका बन्द थियो। निर्वाचनअघिको गठबन्धन माओवादीले भत्काएपछि सबै खालका विकल्पमा कुरा गर्न कांग्रेस खुला भयो,’ उनले भने।
कांग्रेस खुला भएकोले दलहरूसँग छलफल गर्न सुरू गरिएको उनले बताए।
कांग्रेसले गठबन्धन बाहिर रहेका दलहरूसँग छलफल गरेर प्रदेश सरकारहरू गठन गर्न सकिनेतर्फ पनि तयारी गरेको छ। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई माओवादीले समर्थन फिर्ता लिए पनि उक्त सरकार बहुमतमै छ।
कांग्रेस नेतृत्वकै गण्डकी सरकार र लुम्बिनी सरकारलाई माओवादीले समर्थन फिर्ता लिँदा ती सरकार अल्पमतमा परेका छन्। गण्डकीमा राप्रपाको साथ नलिँदा नयाँ गठबन्धनबाट सरकार बन्ने अवस्था छैन। राप्रपा पनि नयाँ गठबन्धनमा सामेल छैन।
अहिलेको सत्ता गठबन्धनलाई केही प्रदेशहरूमा सरकार बनाउन थप दलको साथ चाहिन्छ।
यो पनि: प्रदेश सरकार बनाउन नयाँ गठबन्धनलाई चाहिन्छ थप दलको साथ