नेकपा (एमाले) ले मन्त्रीको नाम टुंग्याएको छ।
सरकारको नेतृत्व पार्टीका सचिव रघुवीर महासेठले गर्नेछन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित महासेठ केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएका बेला पनि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए।
उनी दोस्रो पटक भौतिक मन्त्री बन्न लागेका हुन्।
त्यस्तै ज्वालाकुमारी साह पनि मन्त्री बन्ने टुंगो लागेको छ। उनी पुस १० गते एमाले-माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि मन्त्री बनेकी थिइन्।
त्यतिबेला उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी थिइन्। अहिले भने उनको मन्त्रालय टुंगो लागेको छैन।
त्यस्तै धनकुटाबाट निर्वाचित सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ। राई पनि पुस १० को गठबन्धनपछि मन्त्री बनेका थिए।
त्यस्तै बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री बन्ने भएका छन्। उनी पनि पुरानै अनुहार हुन्। पुस १० गते गठबन्धन हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी पनि यसपटक मन्त्री बन्ने भएका छन्। उनी २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा कपिलवस्तुबाट निर्वाचित भएका थिए।
अधिकारी एमाले कपिलवस्तुको पूर्वअध्यक्ष पनि हुन्। उनी २०५० देखि ०७९ सम्म जिल्लाको पार्टी प्रमुख थिए। उनको पनि मन्त्रालय टुंगो लागेको छैन।
पदम गिरीले सोमबारै मन्त्रीको शपथ लिइसकेका छन्। उनी बिनाविभागीय मन्त्री छन्। पर्वतबाट दोस्रो पटक सांसद निर्वाचित गिरी यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।
त्यस्तै सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जितेकी भगवती चौधरीलाई एमालेले मन्त्री बनाउने भएको छ। नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गरेर सांसद बनेकी उनी यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन्।
सर्लाही क्षेत्र नम्बर तीनबाट निर्वाचित हरिप्रसाद उप्रेतीलाई पनि एमाले मन्त्री बनाउने भएको छ।
उनी यसअघि रक्षा मन्त्री बनेका थिए। उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेको एमालेका एक पदाधिकारीले बताए।
०७९ पुस १० मा गठबन्धन हुँदा एमालेबाट सरकारको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गरेका थिए। उनी अर्थमन्त्री थिए। यसपालि भने उनी सरकारमा गएनन्।
त्यस्तै, त्यतिबेला एमालेबाट विमला राई पौड्याल परराष्ट्र मन्त्री बनेकी थिइन्। उनको राष्ट्रिय सभाको पदावधि सकिइसकेको छ।
२०७९ पुस १० गते बनेको गठबन्धन टुटेपछि उनीहरूले २०७९ फागुन १५ गते पदबाट राजीनामा दिएका थिए। त्यसबेला एमालेका मन्त्रीले जम्मा ३५ दिन मात्रै मन्त्रालय सम्हाल्न पाएका थिए। त्यसैले अध्यक्ष ओलीले महासेठ र अधिकारीबाहेक पुरानै अनुहारलाई जिम्मेवारीमा पठाएका छन्।