रूसी सेनामा भर्ती भई सम्पर्कविहीन भएका परिवारले मंगलबार कन्सुलर सेवा विभागलाई उनीहरूको अवस्थाबारे जानकारी गराई उद्धार गरिदिन ज्ञापन पत्र बुझाए।
पीडितका परिवारले सरकारलाई बेपत्ता भएकाहरूको खोजी कार्य, मृत्यु भएकाहरूलाई राहत र फर्किन चाहनेलाई उद्धार गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
फागुन १५ गते पनि परराष्ट्र मन्त्रालयलाई मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र फर्किन चाहनेलाई उद्धार गरिदिन ध्यानाकर्षण पत्र बुझाएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको संयोजक कृतु भण्डारीले जानकारी दिइन्।
'लामो समयदेखि सरकारलाई झकझक्याउँदै आएका छौं,’ उनले भनिन्, 'सरकारले हाम्रो पीडा सुन्छ, उद्धार गर्दैन,' उनले भनिन्।
उनका अनुसार, पीडितका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'देखि परराष्ट्र मन्त्रालय हुँदै कन्सुलर विभागमा ध्यानाकर्षण पत्र बुझाएको भए पनि राज्यले कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ।
‘अहिलेसम्म न मृत्यु भएका परिवारले राहत पाएका छन् न बेपत्ता भएकाहरूको खोजीकार्य भएको छ,’ संयोजक भण्डारीले भनिन्।
सरकारले भने रूसी सेनामा भर्ती भई मृत्यु भएका, बेपत्ता भएका र फर्किन चाहनेहरूको उद्धारको पहल भइरहेको दाबी गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार केही साताअघि रूसी फौज भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको छ। रसियन सरकारले रूसको मस्कोस्थित रहेको नेपाली दूतावासमार्फत् परराष्ट्र मन्त्रालयमा क्षतिपूर्ति पठाउने जानकारी गराएको छ।
उनीहरूले जानकारी गराएअनुसार रसियन सरकारले पुष्टि गरेका व्यक्तिहरूले मात्र क्षतिपूर्ति पाउँछन्।
रसियन सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने रूसमा भएका साथीसंगीबाट पाएको सूचनाको आधारमा ९ परिवारका आफन्तले काजकिरिया गरेका छन्।
रूसी सेनामा रहेका २१ जना नेपालीको मृत्यु भइसकेको यी तथ्यहरूले पनि देखाउँछन्।
क्षतिपूर्तिको लागि रसियन सरकारले पुष्टि गरेका व्यक्तिहरूको नामावली पेस गरिएको प्रवक्ता राईले जानकारी दिए।
गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरी, मोरङका रूपक राई र ठेगना नखुलेका राजकुमार बुढाथोकीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।
राजकुमार बुढाथोकीको भने ठेगाना नखुलेकाले उनको आमा (अम्बिका बुढाथोकी) को पनि नाम राखिएको उनले सेतोपाटीलाई जानकारी दिए।
'रसियन सरकारले नै मृत्यु पुष्टि गरेका व्यक्तिहरूलाई राहत दिने भनिएको छ कति दिने भनेर तोकिएको छैन,' उनले भने।
रूस सरकारले पुष्टि नगरेका व्यक्तिहरूले पनि क्षतिपूर्ति माग दाबी गर्दै आइरहेका छन्। रूसी सेनामा आबद्ध भई मृत्यु ९ जनाको परिवारले सरकारले पुष्टि नगरे पनि काजकिरिया गरिसकेका छन्। उनीहरूले युक्रेनमा भएको साथीभाइबाट जानकारी पाएर काजकिरिया गरेको संयोजक कृतु भण्डारीले जानकारी दिइन्।
भण्डारीका अनुसार लमजुङका साजन गुरूङ र सन्तोष गुरूङ, धादिङका पूर्णबहादुर गुरूङ, बाँकेका सञ्जय केसी, दाङका जितबहादुर पुन र रसुवाका सुन्दर मोक्तान, प्युठान घनश्याम पुन मगर, ओखलढुङ्गा ओमबहादुर भुजेल र रूपन्देहीका लालबहादुर घर्तीमगरका परिवारले काजकिरिया गरिसकेका हुन्।
उनले सामाजिक सञ्जालमा एउटा ग्रुप बनाएकी छन्। त्यसमा ६/७ सय भन्दा बढी रूसी सेनामा भर्ती भई बेपत्ता भएको परिवार र सेनामा भर्ती भएका नेपाली जोडिएका छन्।
उक्त ग्रुपमा जोडिएका सयौं परिवारका आफन्त सम्पर्कविहीन छन्।
'त्यही काम गर्ने वा साथीभाइले जानकारी दिएको आधारमा काजकिरिया गरेका हुन्,' भण्डारीले भनिन्- 'साथीभाइ र प्रत्यक्षदर्शीले भनेका कुरा सुनेर काजकिरिया गरेका हुन्।'
उनले नेपालका पीडितका परिवारजन र रूसमा कार्यरत नेपालीहरूसँग समन्वयन गरिरहेकी छन्। उनले रूसमा मृत्यु भएका वा बेपत्ता भएका परिवारलाई जोड्ने प्रयास गरिरहेकी छन्।
'रूसमा गई सम्पर्कविहीन भएका परिवारहरू जोडिने क्रम बढ्दो छ,' उनले भनिन्- 'रसियामा काम गरिरहेका र फर्किएका व्यक्तिका कुरा सुन्दा १० हजारभन्दा बढी नेपाली रूसी सेनामा छन्।'
सकुशल हुने र परिवारको सम्पर्कमा आएका धेरै परिवारहरू बाहिर खुलेर आएकै छैनन्। कतिपयको परिवारलाई आफ्ना आफन्त रसियामा छन् भन्नेसमेत जानकारी नभएको पनि भेटिएको उनको भनाइ छ।
'मृत्यु भएकाहरूका लागि क्षतिपूर्ति, बेपत्ता भएकाहरूको खोजी कार्य र फर्किन चाहेकाहरूलाई उद्धार गरिदिन सरकारलाई पटक-पटक भनिरहेका छौं,' उनले भनिन्, 'समयमा खोजी तथा उद्धार गरिदिए सकुशल फर्किन्छन् कि भन्ने आशा थियो।'
रूसी सेनामा भर्ती भई बेपत्ता भएका र सम्पर्कमा रहेर फर्किन चाहेका परिवारका आफन्तलाई परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागमा निवेदन दिन आग्रह गरिरहेको छ। सोही अनुसार अहिलेसम्म २ सय ४५ जनाका परिवारले उद्धार तथा बेपत्ता भएको भन्दै निवेदन दिएको मन्त्रालयको प्रवक्ता राईले जानकारी दिए।
'यसमा बेपत्ता भएका र सम्पर्कमा रही उद्धार गरिदिनेको निवेदन एकमुष्ट छ,' उनले भने, 'त्यसैले मृत्यु हुनेको संख्या यति नै भनेर यकिन गर्न सकिएको छैन।'
सरकारले कसरी उद्धार गर्न सकिन्छ भन्नेबारे आन्तरिक र रसियन सरकारसँग पनि छलफल गरिरहेको छ। रसियन सरकारसँग बिहीबार तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले फोनमार्फत् वार्ता गर्ने तय भएको थियो। तर सरकार फेरबदल भएसँगै वार्तासमेत अन्योलमा परेको छ।
सरकारको फेरबदलले उक्त छलफल हुने नहुने टुङ्गो नभएको प्रवक्ता राई बताउँछन्।
'यसअघि रसियन सरकारसँग भएको छलफलमा करार सम्झौताका आधारमा क्षतिपूर्ति दिने भन्ने कुरा छ। यसमा नेपाल सरकार सकारात्मक छ भन्ने जानकारी गराइएको छ,' प्रवक्ता राईले भने।
युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपाली सैनिकको परिवारलाई रूस सरकारले नेपाली दूतावास हुँदै परराष्ट्र मन्त्रालयमा आएपछि मृत्यु भएका व्यक्तिहरूको गृह जिल्लाबाट क्षतिपूर्ति दिलाउने भनिएको छ। सोही अनुसार अगाडि बढ्ने मन्त्रालयको योजना छ।