बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) बाट छुट्याएर आफ्नो दललाई छुट्टै मान्यता प्रदान गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको पाइएको छ।
समाजवादीले गत माघ २८ गते नै संसद सचिवालयलाई आफ्नो दलका जनप्रतिनिधिहरुको अभिलेख कायम गरिदिन पत्राचार गरेको थियो।
माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको समाजवादीमा दुई सांसद छन्। तर उनीहरु माओवादी संसदीय दलकै सदस्यका रुपमा छन्।
माओवादीको चुनाव चिन्हबाट जितेका समाजवादीका अर्का अध्यक्ष महिन्द्र राय यादव र उमरावती देवी प्रतिनिधि सभा सांसद छन्।
समाजवादी पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले संसद सचिवालयलाई पठाएको पत्रमा समाजवादीका पदाधिकारी र केन्द्रीय सदस्यहरु प्रतिनिधि सभा र प्रदेश सभा सदस्य रहेको अभिलेख राखिदिन आग्रह गरिएको छ।
पत्रमा प्रदेश सभाका दुई सदस्यको विवरण पनि पठाइएको छ।
बागमती प्रदेश सभाका गंगानारायण श्रेष्ठ सिन्धुली–२ (ख) बाट विजयी भएको र फणिन्द्र देवकोटा गोरखा–२ (ख) बाट निर्वाचित भएको व्यहोरा पनि पत्रमा उल्लेख छ।
संसद सचिवालय स्रोतका अनुसार समाजवादीले पठाएको पत्रमा निर्वाचन आयोगले पठाएको अर्को एउटा पत्रसमेत संलग्न छ।
समाजवादीको पत्रपछि संघीय संसद सचिवालय भने उक्त दललाई अभिलेखमा राख्ने नराख्ने विषमया अलमलमा परेको छ।
समाजवादीले पत्र पठाएको एक महिना बितिसक्दा पनि संघीय संसद सचिवालयले निर्णय लिन सकेको छैन।
संसद सचिवालयका अनुसार निर्वाचन आयोगले समानुपातिक तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्यको विवरण पठाउँदा पनि उमरावती देवी माओवादी केन्द्रबाट निर्वाचित भएको तर कैफियतमा नेपाल समाजवादी पार्टी उल्लेख गरेर पठाएको छ।
आफ्नो पार्टीका सांसदको अभिलेख कायम गरिदिन केही दिन अघि अध्यक्ष भट्टराईले सभामुख देवराज घिमिरेसँग समेत भेटेको स्रोतले जानकारी दिएको छ।
‘उहाँले केही अभिवक्ताहरु पनि लिएर आउनु भएको थियो। आफ्नो दलको छुट्टै मान्यताको माग राख्नुभएको छ,’ उक्त स्रोतले भन्यो। तर सभामुख घिमिरेले भने कानुनअनुसार भट्टराई नेतृत्वको पार्टीलाई छुट्टै हैसियत दिन सकिने अवस्था नरहेको बताएका थिए।
०८० भदौ ३० गते माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देवप्रसाद गुरूङले समाजवादीका अर्का अध्यक्ष यादवलाई पत्र पठाएर पार्टी एकताका लागि आग्रह गरेका थिए।
आफूलाई पत्र नपठाइ अर्का अध्यक्ष यादवलाई पत्र पठाएर पार्टीभित्र खेल्न खोजेको भन्दै भट्टराई प्रचण्डसँग आक्रोशित भएका थिए। आफूले विगतमा निर्वाचन लडेको गोरखा क्षेत्र नम्बर २ प्रचण्डलाई छाडिदिएका भट्टराईको यो घटनाले स्तब्ध भएका थिए।
लगत्तै उनले प्रचण्डसँग जोडिएर राजनीति गर्ने आश मरेको प्रतिक्रिया दिएका थिए। गत कात्तिक १४ गते सेतोपाटीसँगको कुराकानीमा भट्टराईले प्रचण्डमा ‘खाऊँ, पिऊँ, मस्ती गरौं’ भन्ने भाव रहेको बताएका थिए।
'यात्रा हो, यात्रामा भेटिन्छन्, छुटिन्छन्। कोही अगाडि बढ्छन्, कोही त्यहीँ रोकिन्छन्। मचाहीँ निरन्तर यात्रामा छु,' भट्टराईले भने, 'कोही साथीहरू त्यसैमा खाऊँ, पिऊँ, मस्ती गरौं भन्नेमा हुनुहुन्छ। प्रचण्डजी पनि त्यसैमा हुनुहुन्छ।'
यो पनि: फेरि पनि प्रचण्डसँग बाटो छुट्टिएका बाबुराम