नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सम्बन्धका अनेक आयाम छन्।
एमालेको सातौं महाधिवेशनपछि उनीहरूबीच चुलिएको कलह २०६६ सालमा आएर सुलह भएको थियो। त्यतिबेला ओलीकै सहयोगमा नेपाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए।
नवौं महाधिवेशन (२०७१), नेकपाको पतन र एमाले विभाजनपछिका दिनमा भने दुवै नेता आपसमा 'शत्रु'जस्ता देखिए। उनीहरूको तिक्तता सार्वजनिक मञ्चदेखि कुन कुर्सीमा को बस्ने भन्ने तहसम्म पुगेको थियो।
लामो तिक्तता र संवादहीनता चिर्दै सोमबार साँझ अध्यक्ष ओली र अध्यक्ष नेपालबीच फोनमा कुराकानी भयो।
वार्तालापमा अध्यक्ष ओलीले गठबन्धनमा सहकार्यको प्रस्ताव गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।
‘हिजो साँझ प्रधानमन्त्रीजी उहाँलाई भेट्न जानुभएको थियो, हाम्रो अध्यक्षज्यूले पनि फोन गर्नुभएको थियो। अध्यक्षसँग सल्लाह गरेर नै प्रधानमन्त्री उहाँलाई भेट्न जानुभएको हो,’ महासचिव पोखरेलले भने, ‘उहाँसँगको संवाद सकारात्मक भएको छ। समाजवादी सरकारमा आउन सक्छ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार सुरूमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली दुवै जना अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर आउने सन्देश पठाइएको थियो।
त्यसको केही समयपछि ओलीले अध्यक्ष नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए। त्यसको आधा घन्टापछि प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेका थिए।
उनीहरूले पनि गठबन्धन र सरकारमा सामेल हुन प्रस्ताव गरेको एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले बताए। ‘उहाँहरूले मूर्त कुरा गर्नुभएन। उही सहकार्यको प्रस्ताव गर्नुभयो। कसरी सहकार्य गर्ने भन्ने ठोस कुराचाहिँ बताउनुभएन,’ उनले भने।
घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल ओलीको टेलिफोनपछि सकारात्मक देखिए पनि गठबन्धनमा सामेल भइहाल्ने मनसायमा भने छैनन्।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनेपछि सोमबार नै एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो। बैठकले ‘पर्ख र हेर’ को नीति लिने निर्णय गरेको छ।
सत्ता गठबन्धनबाट सहकार्यका लागि औपचारिक प्रस्ताव आएपछि एकीकृत समाजवादीले बुधबारका लागि पार्टी सचिवालय बैठक बोलाएको छ।
तथापि साँझको वार्तालापपछि पनि अध्यक्ष नेपालले मनस्थिति नबदलेको समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमले बताए।
‘कोटेश्वरबाट फर्किएलगत्तै चार दलले ८ बुँदे सहमति गरे। त्यसभन्दा अघि पनि विभिन्न समझदारी भएको कुरा बाहिर आएको छ। तसर्थ अहिले नै गठबन्धनमा सामेल भइहाल्नुको औचित्य देखिँदैन,’ गौतमले भने।
अहिले गठबन्धनमा सामेल भए त्यही ८ बुँदेमा लतारिएर पुगेजस्तो हुने नेता नेपालको पनि बुझाइ छ। त्यसैले उनले गठबन्धनलाई कुनै वचन दिइसकेका छैनन्।
‘वामपन्थी दलहरूबीच सहकार्य हुनुपर्छ। सबैले आफ्ना कमजोरी बोध गरेर नेकपा ब्युँताउनुपर्छ भनेर उहाँले भन्दै आउनुभएको छ। तर अहिलेको गठबन्धन त्यसरी बनिसकेको छैन। गठबन्धनले आफ्नो आधार पनि प्रस्तुत गरेको छैन। कसरी अघि बढ्छ, त्यसको खाका पनि देखिएको छैन। त्यसैले चार दलबीच भइसकेको सत्ता सहकार्यमै टेकेर हामी गठबन्धनमा जानुको औचित्य छैन,’ अध्यक्ष नेपाल निकट एक नेताले भने।
सकियो प्रधानमन्त्री बन्ने सपना!
एकीकृत समाजवादीले विभाजन र पार्टी गठनको औचित्य पुष्टि गर्न सकेको छैन। गएको निर्वाचनमा राष्ट्रिय पार्टीसमेत बन्न नसकेपछि एकीकृत समाजवादीभित्र निराशा व्याप्त छ।
पछिल्लो समय पार्टी परित्याग गर्ने क्रम बढेको छ। यही साता मात्रै एकीकृत समाजवादीका नवलपुर जिल्ला अध्यक्ष छविलाल रानासहित नेता एमालेमै फर्किए।
दुई दिनअघि मात्रै दैलेखकी पूर्वसांसद पार्वती बिसुन्खे, केन्द्रीय सदस्य बरुनाथ योगीसहितका नेता कार्यकर्ता पनि मूलघर नै फर्किए। यसबीचमा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित २५ भन्दा बढी जिल्लाका अध्यक्षहरू एमाले नै फर्किइसकेका छन्।
पार्टीले जेठ ३ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। दस्तावेज निर्माणमा नेताहरूलाई परिचालित गरेको छ। तर पार्टीले आकर्षण भने पैदा गर्न सकेको छैन।
यति हुँदाहुँदै पनि अध्यक्ष नेपालको प्रधानमन्त्री बन्ने सपनाचाहिँ जीवितै थियो।
२०७९ पुस १० को गठबन्धन भत्किएर नेपाली कांग्रेससँग सत्ता भागबन्डा हुँदा एकीकृत समाजवादीले एक वर्ष प्रधानमन्त्री पाउने समझदारी भएको थियो। जसअनुसार आउँदो पुसमा अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछिको चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने समझदारी थियो।
सोमबार नयाँ गठबन्धन हुँदा अध्यक्ष नेपालसँगको समझदारी पनि भंग भयो। एकातिर पार्टी आन्दोलन पनि विस्तार नहुने, अर्कोतिर प्रधानमन्त्री पनि नबन्ने भएपछि माधव नेपाल राजनीतिकै कठिन मोडमा छन्।
पार्टीका सम्मानित नेता झलनाथ खनालले भने नेकपा ब्युँताउने कोर्षमा जानुपर्ने बताए। अहिलेको गठबन्धन त्यही कोर्षमा अघि बढ्दा मात्रै सफल हुने र निष्कर्षमा पुग्न सक्ने बताए।
‘पुरानो गठबन्धनमा दक्षिणपन्थी शक्तिको प्रभुत्व थियो। त्यसले आम जनतामा देखिएको निराशा चिर्न नसकेको मात्र होइन, प्रतिगामी, पुनरुत्थानवादी शक्तिहरूको चलखेल पनि रोक्न सकेन। संविधान, संघीयता विरोधी भावना बढेर गयो। भ्रष्टाचार, कुशासन मौलाएर गयो। समाजवादको दिशा समात्नुपर्ने, उदारवादलाई ज्यादा सेकताप गर्ने काम भयो। अहिलेको गठबन्धनमा वामपन्थी बर्चस्व छ। यो कत्तिको उदारतापूर्वक प्रस्तुत हुन्छ, आफ्ना नीति, कार्यक्रम कत्तिको प्रगतिशील र रूपान्तरणमुखी बनाउन सक्छ, हामी जाने, नजाने त्यसैमा निर्भर हुन्छ,’ उनले सेतोपाटीसँग भने।
उनले सोमबारको परिघटनालाई सकारात्मक परिवर्तनको रूपमा बुझ्नुपर्ने बताए। हिजोको समझदारीअनुसार कसले के पायो पाएन भन्दा पनि देशको वामपन्थी मतको संरक्षण र सम्बद्र्धन गर्न लाग्नुपर्ने बताए।
माओवादी केन्द्रमा महासचिव देव गुरूङले वामपन्थी मात्र नभइ गैरवामपन्थी शक्तिहरूलाई पनि सँगै लिएर जाने कोसिस भइरहेको बताए।
‘वामपन्थी शक्तिहरूको अधिक मत हुँदाहुँदै पनि गैरवामपन्थी शक्तिलाई सँगै लिएर जानुपर्ने यहाँको विशिष्ट राजनीतिक अवस्था छ। हामीले एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनमत आदि दलसँग पनि सहकार्य गरेर जानुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यहीअनुसार हामीले छलफल गरिरहेका छौं।’
उनले एकीकृत समाजवादी यही गठबन्धनमा सामेल हुने बताए। ‘सबै प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिने भनेपछि एकीकृत समाजवादी यहाँ नआइ हुँदैन, ढिलोचाँडो आउनुहुन्छ,’ उनले भने।
माओवादी केन्द्र र एमालेबीचको संवाद नेकपा ब्युँत्याउने कोर्षमा भने अघि बढिनसकेको बताए।
‘अहिले हामी गठबन्धनको साझा कार्यक्रम, अवधारणा तयार पार्ने चरणमा छौं। वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने प्रयासको कडीकै रूपमा यसलाई बुझ्नुपर्ने हुन्छ। अहिले नै नेकपा ब्युँताउने कोर्षमा हामी गइसकेका छैनौं। यसबारे छलफल पनि गरेका छैनौं,’ उनले भने।