खाली सिसी, पुराना कागज भन्दै कबाडी संकलक एका बिहानै काठमाडौंमा गल्लीगल्ली पुग्छन्।
संघीय राजधानी मात्रै होइन, हिजोआज उनीहरू दूरदराजका गाउँ समेत पुग्ने गरेका छन्।
मीनपचासको ठिही छिचोल्दै साँघुरा गल्लीमा साइकल लिएर पुग्ने कबाडी संकलक सोमबार बिहान भने काठमाडौंमा संगठित रूपमा भेला भए। काठमाडौं महानगरपालिकाविरूद्ध आक्रोश पोखे। त्यो पनि झरीमा निथाचुर्ण भिजेर।
काठमाडौं महानगरपालिकाले गरिखान नदिएको र कबाडी संकलन गरेर जम्मा पार्ने गोदाममा बिनासूचना डोजर चलाइएको भन्दै उनीहरू सडकमा ओइरिएका हुन्।
'आजभन्दा ६ महिनाअघिदेखि नै काठमाडौं महानगरले चिठी काट्न सुरू गरेको थियो,' स्क्राप हकहित फाउन्डेसनका अध्यक्षसमेत रहेका कबाड व्यवसायी सञ्जय साहले भने, 'कतिलाई ३५ दिने सूचना दिनुभयो। कतिलाई त त्यो पनि नदिई धमाधम डोजर हानियो।'
उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै ८० हजार कबाडी व्यवसायी छन्।
जसमा घरघरमा साइकल डोर्याउँदै, बोरा बोकेर पुग्ने संकलक र उनीहरूले संकलन गरेर ल्याएका सामग्री खरिद गरेर जम्मा पार्ने र रिसाइकल (पुनः प्रयोग गर्न मिल्ने सामान बनाउन) लागि बाहिर पठाउने व्यवसायीहरू छन्।
उनीहरूसँग जोडिएका परिवारका सदस्यहरूको हिसाब गर्ने हो भने त यसमा आश्रितहरूको जनसंख्या झन्डै पाँच लाख पुग्छ। उनीहरूको बाँच्ने आधार र गरिखाने उद्यममाथि महानगरले डोजर उज्याएपछि निरूपाय भएर आन्दोलनमा उत्रिएको व्यवसायी साहले बताए।
बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म घरघर, गल्लगल्ली चहारेर कबाडी संकलन गर्नेहरू संगठित छैनन्। उनीहरूको वास्तविक अभिलेख पनि नहुने साहले बताए। जसका कारण काठमाडौं महानगरबाट कति जना विस्थापित भए भनेर यकिनसमेत नभएको उनले जानकारी दिए।
'जे होस्, महानगरले बिनासूचना, बिनाविकल्प गरिरहेको कामबाट विस्थापित गर्ने ध्येयले डोजर आतंक मच्चाएपछि सोमबार आन्दोलित भएका हौं। हामीले दुःखले उहाँहरूलाई आन्दोलनमा जोड्यौं। कति त डराएर आउन पनि सक्नुभएन। पीडामा हुनुहुन्छ। पीडामा पर्यौं भनेर पनि भन्न सक्नुहुन्न,' उनले भने।
उनका अनुसार काठमाडौं महानगरले वडा नम्बर सातबाट कबाडी संकलन स्थलहरू हटाउन सुरू गरेको थियो।
'६ महिनाअघि जहाँ ३५ दिने सूचना दिनुभएको थियो, त्यहाँका व्यवसायीहरूलाई हटाउन सक्नुभयो,' उनले भने, 'ती व्यवसायीहरू महानगरमा दर्ता थिए। प्यानमा दर्ता थिए। महानगरले उहाँहरूको व्यवसाय नवीकरण गरिदिनुभएन।'
लगत्तै वडा नम्बर १८ र त्यसपछि ३२ वटै वडाबाट कबाडी व्यवसायीलाई विस्थापित गर्न सुरू गरिएको साहले बताए।
'३२ मध्ये चारवटा वडामा मात्रै सूचना टाँसिएको छ। व्यवसायीलाई चिठी पनि पठाइएको छ। अन्यत्र त कहिले डोजर आइपुग्छ भन्ने समेत थाहा छैन। रातबिरात डोजर आएर उठिबास लगाउने हो कि, जहान, बालबच्चाको विचल्ली हुने हो कि भनेर डराइरहनुभएको छ,' साहले भने।
उनका अनुसार अहिलेसम्म १२ जना व्यवसायीको कबाडी संकलन केन्द्रमा काठमाडौं महानगरले डोजर लगाइसकेको छ। यसरी डोजर लगाउँदा प्रति केन्द्र १० लाखदेखि २० लाख रूपैयाँसम्म नोक्सान भएको उनले बताए। एउटा कबाडी संकलकले महिनामा जेनतेन १५ देखि २० हजार रूपैयाँसम्म कमाउँछन्।
'एउटा खाली सिसीमा उहाँहरूले ५० पैसा मुनाफा निकाल्नुहुन्छ। फलाममा प्रतिकिलो ५ रूपैयाँ कमाउनुहुन्छ,' उनले भने, 'उहाँहरूले घरघरबाट प्रतिकिलो ३५–३६ रूपैयाँमा फलाम किनेर ल्याउनुहुन्छ। हामी त्यसलाई ४० रूपैयाँमा किन्छौं। यसरी कबाड संकलन गर्दा उहाँहरूले मासिक १० देखि २० हजार रूपैयाँसम्म कमाउनुहुन्छ।'
सफाइकर्मीमाथि महानगरको ज्यादती
साहका अनुसार कबाडी संकलकहरूले टोलटोल पुगेर बिक्रीयोग्य पुराना कागज, बोतल, फलामका टुक्राटाक्री आदि सामग्री बटुल्दा उनीहरूको घरगृहस्थी चलेको मात्र छैन, त्यसबाट सहर सफाइ पनि भएको छ।
घरधनी र बहालमा बस्नेहरूले खेर फाल्नुपर्ने सामग्री थोरै मूल्यमै किन नहोस्, बिक्री गर्न पाएका छन्।
'एक प्रकारले भन्दा फोहोर व्यवस्थापन पनि भएको छ। एउटा घरबाट ६० प्रतिशतसम्म बिक्रीयोग्य फोहोर निस्कन्छ। कबाडी संकलकहरूले ती फोहोरहरू केन्द्रसम्म ल्याइपुर्याउनु हुन्छ। हामी ती सामग्री उनीहरूबाट किनेर भण्डारण गर्छौं। र, बिक्रीका लागि भारत पठाउँछौं।'
उनले सिसडोल–बञ्चरे डाँडा ल्यान्डफिल साइटमा समस्या हुँदा काठमाडौंमा थुप्रिएको फोहोरको ७० प्रतिशतसम्मको हिस्सा त्यसरी पुनः प्रयोगका लागि पठाइएको बताए।
'सफाइका दूत' बनेर पुग्ने कबाडी संकलकहरूले थोरै आयमा कठिन श्रम गर्ने बताए।
'माघको ठिही, मुसलधारे झरी, चैतको प्रचण्ड गर्मी नभनी उहाँहरू घरघर पुग्नुहुन्छ। त्यहाँ थुप्रिएको फोहोर बोकेर ल्याउनुहुन्छ। मोहोरमा परिणत गर्नुहुन्छ। उहाँहरूलाई विस्थापन गरिनुको कारण बुझेका छैनौं,' उनले भने, 'उहाँहरूले चक्रपथभित्र कबाडी संकलन, भण्डारण गर्न पाइँदैन भनिरहनुभएको छ। काठमाडौंभित्रको फोहोरको व्यवस्थापनको पनि त समस्या होला नि!'
ठूलो श्रम क्षेत्र ओगट्ने, काठमाडौंको सफाइसँग पनि जोडिएका मजदुरका समस्या बोकेर महानगर पुग्दा मेयर बालेन शाहसँग कुरा गर्नु पाउनु त कता हो कता आफ्ना कुरासमेत राख्न नपाएको गुनासो उनले गरे।
'त्यही भएर आन्दोलन अपरिहार्य बनेको हो। अहिले कबाडी संकलक, व्यवसायी मात्र जोडिएका छन्। हामीसँग फलफूल, तरकारीवाला, गाडामा सामान बेच्नेहरू पनि जोडिँदै हुनुहुन्छ। बेलैमा समस्या समाधान भएन भने विकराल रूप लिन्छ,' उनले भने।
उनले काठमाडौं महानगरपालिकाको कबाडी संकलनमा ठूला पुँजीवालाले आँखा लगाइरहेको बताए।
'हामीले त काठमाडौं महानगरपालिकाको बढ्दो फोहोर व्यवस्थापनमा सघाइरहेका छौं। तर उहाँहरूले हामीमाथि नै रिस साँध्नुको कारण के हो? यहाँ ठूलो आर्थिक चलखेल हुँदैछ भन्ने सुनेका छौं। गरिबको गरिखाने माध्यममा दख्खल पुर्याएर त्यस्तो चलखेल नहोस्,' उनले भने, 'ठूला व्यवसायीलाई पोस्न हामीलाई विस्थापित नगरियोस्।'
व्यवसायी साहले कबाड व्यवसायीलाई भारतीय भन्दै हेलाहाँसो गरिएको उनले बताए।
'काठमाडौंले मानसिकता बदल्न जरूरी छ। कबाड क्षेत्र ठूलो श्रम बजार हो। फोहोरलाई मोहोर बनाउने ठाउँ पनि हो। यहाँ आबद्ध सबै भारतीय हुन भनेर हेर्नुभएन। अहिले त्यो पनि दृष्टिकोण देखियो,' उनले भने।
उनले नेपालका लागि भारत र भारतका लागि नेपाल खुला श्रम बजार भएको भन्दै यसमा भेदभाव नराख्न पनि आग्रह गरे।
साहले कबाडी व्यवसायीलाई विस्थापित नगर्न २४ घन्टाको अल्टिमेटम दिएको बताए।
'अहिलेसम्म महानगरबाट कुनै प्रतिक्रिया आएको छैन। उहाँहरूले हामीलाई छलफलमा पनि बोलाउनुभएको छैन। त्यसो हुँदा हामी अझै कठोर बन्नुपर्ने देखिएको छ,' साहले सेतोपाटीसँग भने।
महानगर भन्छ– वार्ता हुँदैन, उहाँहरूलाई हटाउने नै हो
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले चक्रपथभित्र कबाडी संकलन र भण्डारण गर्न नदिइने बताए। उनले महानगरपालिकाले सबै व्यवसायी, संकलकलाई सार्वजनिक सूचनामार्फत् सन्देश दिइसकेकाले उनीहरू हट्न उपयुक्त हुने बताए।
नहट्नेलाई हटाउने नै नीति रहेको उनले बताए।
'हामीले काठमाडौं महानगरपालिकाभित्र कबाडी संकलन र भण्डारण गर्न नदिने नै भनेका हौं। हाम्रो त्यही नीति हो। हामीले सबैलाई सूचना दिइसकेका छौं,' उनले भने।
उनले काठमाडौं महानगरपालिकाभित्र रहेका सबैको रोजीरोटीको प्रबन्ध, सुरक्षा र संरक्षण महानगरको एक्लो दायित्व नरहेको बताए।
'कोही साँच्चै समस्यामा छन्। पीर-मर्कामा छन् भने उनीहरूले हाम्रो श्रम बैंकमा सम्पर्क गर्न सक्नेछन्,' उनले भने।
तर काठमाडौं महानगरबाट कबाडी संकलकहरूलाई भने हटाएरै छाडिने अडान दोहोर्याए। कबाड व्यवसायलाई चक्रपथ बाहिर सार्दा यसले सिर्जना गरेको समस्या न्यूनीकरण हुने उनको दाबी छ।
उनले कबाडी संकलकका कारण टोलमा चोरीका घटना बढेको गुनासो आएको पनि सुनाए।
'सडकमा रहेको मंगालको कभरसमेत उक्काएर लगेको गुनासो आएका छन्,' उनले थपे।
वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले कबाडी व्यवसायीका कारण टोलमा आगलागी, वायु प्रदूषण बढेको बताए।
'हाम्रो वडाभित्र सञ्चालनमा रहेका कबाडी व्यवसायको कारण वातावरण प्रदूषण आगलागी तथा चोरीका घटनामा समेत वृद्धि भइरहेको गुनासो आएको छ। तसर्थ वडाभित्र सञ्चालित कबाड व्यवसायलाई हटाइदिन अनुरोध गरेका छौं,' उनले भने।
१५ नम्बर वडाले माघ १९ गते ३५ दिने सार्वजनिक सूचना पनि जारी गरेको छ।
आइतबार कबाडी व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका थिए। युएन पार्क नजिकैको कोणसभामा उनले सम्बोधन पनि गरेका थिए। लगत्तै उनले कबाड व्यवसायी काठमाडौंको सरसफाइको प्रतीक भएको बताए।
'कबाड व्यवसायीलाई होइन, कबाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो। कबाड व्यवसायलाई विस्थापन होइन, व्यवस्थापन गर्ने हो। कबाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्। काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गह्नाउने बनाएका हुन्,' उनले टिप्पणी गर्दै भने।