फागुन १६ ले राजेन्द्र महतोको जीवनमा विशेष अर्थ राख्छ।
२०६४ फागुन १६ मा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबीच आठ बुँदे सम्झौता भएको थियो।
त्यो सम्झौताले पहिचान सहितको स्वायत्त मधेस प्रदेश स्वीकार्यो। मधेसी समुदायलाई सेनामा सामूहिक प्रवेश गराउने विषयमा सरकार सहमत भएको थियो।
त्यति मात्र होइन, त्यही आन्दोलनले पहिलो संविधान सभाको चुनावको सुुनिश्चितता गरेको थियो। मधेसमा बलिरहेको आन्दोलनको भुंग्रो निभाउन त्यो सम्झौताले सघाएको थियो।
१६ वर्षपछि पनि राजेन्द्र महतो सडकमै छन्।
अहिलेसम्म पनि राज्यको चरित्र नबदलिएको निष्कर्षसहित महतो छुट्टै अभियानमा होमिएका छन्। गत फागुन १४ गते वरिष्ठ नेता रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो बुधबार भद्रकालीमा प्रहरीसँगको लछारपछारमा परे।
सरकारले माइतीघर मण्डलमा निषेधाज्ञाको तारबार लगाएर नागरिकको मुख थुन्न खोजेको भन्दै विरोधमा उत्रिएका उनी प्रहरीको लछारपछारमा परेका हुन्। उनले यसलाई पनि नबदलिएको राज्यको चरित्रका रूपमा बुझेका छन्।
‘संविधान र शासन–व्यवस्थामात्रै बदलिएर के हुन्छ? शासकहरूको आचरण र व्यवहार त उही छ। उनीहरू उही एक भाषा, एक भेष, एक राष्ट्रियता, एक देशको नारा जपिरहेका छन्। जत्तिसुकै आन्दोलन भए पनि नयाँ आवरणमा पुरानै संविधान बन्यो, संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा उही एकात्मक देश चल्यो,’ महतोले सेतोपाटीसँग भने।
बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै महतो अहिले सडकमा निस्किएका छन्।
सद्भावना परिषद्, सद्भावना पार्टी, नेपाल समाजवादी जनता दल, नेपाल सद्भावना पार्टी (आनन्दी देवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी हुँदै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेर मधेस आन्दोलन संगठित गर्न लागिपरेका महतो यतिबेला भने पार्टीविहीन छन्।
सात वटा पार्टी गठन र पुनःगठनमा सक्रिय हुँदा पनि मधेसलाई अधिकार सम्पन्न बनाउन नसकेको उनले बताए। मधेसकेन्द्रित दलहरूप्रति उनको गुनासो छ।
२०७२ असोज ३ गते संविधान सभाले नयाँ संविधान जारी गर्यो। स्वायत्त मधेस एक प्रदेशको नारासहित मधेसकेन्द्रित दलहरू ०७२ असारदेखि नै आन्दोलित थिए।
संविधान जारी हुँदा मधेसलाई आठ जिल्लामा खुम्च्याइएको र पहिचानबेगरकै संविधान जारी गरेको भन्दै उनीहरू क्रूद्ध बने। र, नाकाबन्दीको तहसम्म पुगे। तर ०७२ माघ २५ गतेसम्म नाकामा धर्ना कस्दा पनि तत्कालीन सरकारलाई संविधान संशोधनमार्फत् मधेसमा माग पूरा गराउन असमर्थ रहेको विश्लेषण उनले गरेका छन्।
यति मात्र नभई उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महिन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ल लगायत नेताहरूले मधेस आन्दोलनलाई गम्भीरतापूर्वक नलिएकाले मधेसका मुद्दा अलपत्र परेको उनको आरोप छ। त्यसको गम्भीर आत्मसमीक्षा गर्दै एक्लाएक्लै लडेर नहुने रहेछ भन्ने निष्कर्षमा उनी पुगेका छन्।
पश्चिमको थरूहट, पूर्व र मध्य क्षेत्रमा चर्किएको पहिचानको आन्दोलन निष्कर्षमा पुग्न नसक्नुको कारण पनि उनले एक्लाएक्लै लड्नुलाई नै औंल्याए।
‘हामी सुरूमा अभियान चलाउँछौं। अभियानको माध्यमबाट सबै उपेक्षित, उत्पीडित र राज्यको नजरबाट अपहेलितहरूलाई संगठित गर्छौं,’ उनले भने, ‘त्यसपछि त्यसले संघर्षको रूप लिन्छ। अन्ततः विद्रोहको रूप धारणा गरेपछि क्रान्ति आफैं हुन्छ।’
अहिले पार्टीविहीन रहेका महतो यसैको तागतमा नयाँ दल निर्माण गर्ने ध्याउन्नमा छन्। अभियानमा जोडिन उनले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई आह्वान गरेका छन्। तर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दालाई संस्थागत गराउनेमा उनी रत्तिभर विश्वस्त छैनन्।
‘महन्थ ठाकुर नेपाली कांग्रेसबाट आएका हुन्। उनले मधेसका कुरा गर्दैनन्, पुरानै शासनसत्ताको चरित्र बोक्छन्। उपेन्द्र यादव पनि नेकपा (एमाले), नेकपा माओवादी हुँदै आएका हुन्। अनुहार न मधेसी परेको हो। उनीहरूको आचरण, व्यवहार कहाँ मधेशी छ?,’ उनले भने।
गजेन्द्रबाबु (सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंह) महतोका आदर्श हुन्। अहिले उनी पुरानो विरासत खोज्दै ०४७ साल छेउछाउ पुगेका छन्। तिनताका उठाएकै मुद्दा उनलाई प्रिय लाग्न थालेको छ। सद्भावनाले त्यतिबेलै बहुल राष्ट्रिय राज्यको वकालत गरेको थियो। अहिले उनी त्यही मुद्दा बोकेर अभियानमा होमिएका छन्।
अरबीयन देशहरू साउदी अबर, कतार युएईलगायत देशमा बहुराष्ट्रिययता जीवित रहेको पनि उनले जिकिर गरे, यसको स्थापनाबाटै नेपाल सबै जातजाति, भाषाभाषीका मानिसले अपनत्व गर्ने ठाउँमा पुग्ने उनले बताए।
‘अहिले हामी मेची–महाकालीका उपेक्षित, उत्पीडित, सबै राष्ट्रियताका मानिसहरूलाई संगठित गरिरहेका छौं। बहुल राष्ट्रिय राज्यको स्थापना नै आन्दोलनको मूल चरित्र हो,’ उनले भने, ‘भाषा, जनसंख्या, भूगोल, संस्कृतिको समरूपताले कुनै निश्चित राष्ट्र निर्माण हुने हो। एउटा देशभित्र अनेक राष्ट्र हुन सक्छन्। जस्तो कि, भारतभित्र बंगाल, मराठा, गुजरात, पञ्जाव, आन्ध्र, तमिल आदि राष्ट्रहरू छन्। नेपालमा भाषा, जाति, क्षेत्र, संस्कृति वा धर्मका रूपमा यस्ता बहुल राष्ट्रको अस्तित्व र बसोबास छ।’
सुरूमा उनले अभियानलाई तीन कमान्डमा बाँड्ने योजना बनाएका छन्। ‘पश्चिम, मध्य र पूर्वी गरी तीन कमान्ड हुनेछन्। प्रारम्भमा हामीले संगठन संरचनाबारे यस्तो सोचेका छौं। अभियान अघि बढ्दै जाँदा कमान्ड थपिन पनि सक्छन्,’ उनले भने।
उनले ती कमान्डअन्तर्गत राष्ट्रियताअनुसारका छुट्टाछुट्टै ब्युरो हुने बताए। जसमा नेवा, ताम्सालिङ, मगरात, तमुवान, किरात, लिम्बुवान, शेर्पा, मधेस, थरूहट आदिजस्ता क्लस्टर हुने र त्यसमा आधारित ब्युरो बनाइने उनले बताए।
‘त्यसअन्तर्गत विशेष ब्युरो पनि हुनेछन्। जसले अभियानलाई विकेन्द्रीकृत गर्न सघाउ पुर्याउँछन्। यस्ता संरचना अभियानका क्रममा मात्रै हो। पार्टी बनेपछि त त्यसकै संरचनाअनुसार विकास र विस्तारित हुन्छ,’ उनले भने।
उनले राष्ट्रिय मुक्ति क्रान्ति विशुद्ध आन्दोलनमात्र नभएर वैचारिक अभियान पनि भएको बताए। उनले अहिले उदार पुँजीवाद र कम्युनिस्ट विचारधाराले नेपाली समाजलाई गाँजिरहेको बताउँदै मुलुक प्रगतिपथमा अघि बढ्न नसक्नुको कारण पनि यसैलाई औंल्याए।
‘नेपाल इतिहासमा कहिल्यै पराधीन हुनपरेन। तर राजनीतिक चेतना र दर्शनको हिसाबले कहिल्यै स्वतन्त्र हुन पाएन। जहिल्यै आयातित र औपनिवेशिक चिन्तनद्वारा शासित हुनुपर्यो, यसबाट उन्मुक्ति पनि राष्ट्रिय मुक्ति क्रान्तिको ध्येय हो,’ उनले भने।
उनले राष्ट्रिय मुक्ति क्रान्तिको बाटो स्वदेशवाद भएको औंल्याए। माटो र मन नजोडिएको विचारले सांस्कृतिक राष्ट्रवादको जगेर्ना गर्न नसक्ने भन्दै उनले सबै नेपालीमा अपनत्वभाव जगाउन पनि स्वदेशवादको प्रवर्द्धन गर्नु परेको बताए।
‘१२ कक्षा पास गर्न पाएको छैन, विदेश जाने मोह बढेर आइहाल्छ। विदेश गएपछि यहाँ फर्किएर आउनै मान्दैनन्। हाम्रो त परशासित मानसिकता छ। त्यसको कारण यहाँको सांस्कृतिक राष्ट्रवाद कमजोर भएर हो नि!, हो त्यसैलाई जगाउन हामीले आफ्नै ज्ञानसत्ता निर्माण गर्न खोजेका हौं। आफ्नै चिन्तनधारा विकास गर्न खोजेका हौं,’ महतोले भने।