२०७५ भदौ १५ गते राममनोहर यादवको शंकास्पद मृत्यु भयो।
भदौ ७ गते तत्कालीन संघीय समाजवादी फोरमले बर्दियामा कार्यक्रम गरेको थियो।
त्यसैलाई सम्बोधन गर्न पुगेका पार्टी अध्यक्ष एवं तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सिके राउतका कार्यकर्ताहरूले कालोझन्डा देखाएका थिए।
त्यही क्रममा राममनोहर पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालयको हिरासतमै गम्भीर बिरामी भएको भनिएका राममनोहरको भदौ १५ गते मृत्यु भएको थियो।
तर त्यतिबेला ‘मधेस स्वराज’ को अभियान चलाइरहेका सिके राउत पक्षधरहरू चरम यातनाका कारण राममनोहरको मृत्यु भएको बताउँदै आएका छन्।
हरेक भदौ १५ मा जनमत पार्टीले राममनोहर स्मृति दिवस मनाउँछ। ती कार्यक्रममा जनमतका नेता कार्यकर्ताले मधेसको ‘एक्लो नेता’ ठान्ने उपेन्द्र यादवले आफूविरूद्ध कालोझन्डा देखाइएको प्रतिशोधमा राममनोहरलाई चरम यातना दिन लगाएको भन्न छुटाउँदैनन्।
राममनोहरको स्मृति दिवस उपेन्द्रविरूद्ध केन्द्रित हुने गरेको छ। राममनोहरको मृत्यु प्रकरणले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको दुस्मनीको थालनी देखाउँछ।
अहिले त्यो दुस्मनी आमुन्नेसामुन्नेको तहमा पुगेको छ। मधेसमा उपेन्द्रलाई जनमतले पाइलैपिच्छे अवरोध सिर्जना गर्न थालेको छ।
पछिल्ला केही उदाहरण हेरौं।
सप्तरीको राजविराजमा मधेस प्रदेश सरकारले बुधबार कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दैछ।
शिलान्यासमा प्रमुख अतिथिका रूपमा जसपा अध्यक्ष यादव बोलाइएपछि मंगलबार नै जनमतका कार्यकर्ता विश्वविद्यालयमा तालाबन्दी गरेका थिए।
जनमतले विश्वविद्यालयलाई पार्टीकरण गरेको मात्रै आरोप लगाएको छैन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमै भ्रष्टाचार गरेको भन्दै छानबिनको मागसहित उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ।
जनमतका अध्यक्ष राउतले ‘द्वन्द्वउद्यमी’ प्रमुख अतिथि भएर भवनको शिलान्यास गर्न लागिएको बताएका छन्।
‘गौर–नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेका मान्छे सप्तरी मेरो क्षेत्रमा दंगा मच्चाउन, हत्या–हिंसा गर्न किन आउनु पर्ने? न उहाँको यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि। अनि किन उपकुलपति र रजिस्ट्रारलाई जबरजस्ती दबाब दिएर प्रमुख अतिथि बन्नु पर्ने? अतिथि बन्न पनि यति मरिहत्ते हुन्छ?,’ उनले प्रश्न गरे, ‘यस्तो नीचस्तरको राजनीति हुन्छ? मान न मान मैं तेरा मेहमान्?,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।
जनमतले शिलान्यास गर्न नरोकेको उनले बताएका छन्। कानुनअनुसार गर्न पनि उनले बताएका छन्। ‘शिलान्यास विश्वविद्यालयको ऐनअनुसार हुनेछ– प्रदेशका शिक्षा मन्त्रीले गर्नेछ। नभए सिनेटले निर्णय गरे कुनै सहिद परिवारले गर्नेछ। त्यो विश्यविद्यालय सभाको कुरा हो,’ उनले भने।
शिलान्यासको नाममा उपेन्द्र सप्तरीमा दंगा र अशान्ति फैलाउन उद्यत् रहेको राउतको आरोप छ।
‘गाउँगाउँमा लडाकू ल्याएर राखेका छन्, बाँसका भाटा र हतियार बनाएर राखेका छन्। सरकारले अविलम्ब गौर–नरसंहारका प्रमुख योजनाकार तथा पात्रलाई गिरफ्तार गरोस् र सप्तरीमा शान्ति सुव्यवस्था कायम गरोस्। प्रशासनसँग आग्रह छ,’ राउतको भनाइ छ।
आफूलाई कतै कुनै प्रमुख अतिथी बन्ने रहर नभएको बताउँदै ऐन–कानुनअनुसार भवन शिलान्यास गर्न र शान्ति सुरक्षा कायम राख्न पनि उनले आग्रह गरेका छन्।
यति मात्र नभई, जनमत पार्टीले शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पनि पत्राचार गरेको छ। र त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई पनि दिएको छ।
यस्तो छ जनमतले गृहलाई पठाएको पत्र:
यता विश्वविद्यालयले भने शिलान्यासको प्रमुख अतिथि मुख्यमन्त्री सरोजकुमार यादव हुने बताएको छ। उपकुलपति रहेका मुख्यमन्त्री सरोजकुमार यादव र सहकुलपति रहेका शिक्षामन्त्रीले संयुक्त रूपमा भवनको शिलान्यास गर्ने तयारी छ।
विश्वविद्यालयका सहकुलपति महेशप्रसाद यादव जनमतकै तर्फबाट सरकारका मन्त्री छन्। आफ्नै पार्टीको सहकुलपतिले उद्घाटन गर्ने कार्यक्रम स्थगन गर्न किन पत्राचार गर्नुपर्यो भनेर हामीले जनमत पार्टीका सचिव एवं मधेस प्रदेशकै श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहलाई सोधेका छौं।
उनले सरोकार नै नभएका उपेन्द्रलाई प्रमुख अतिथि बनाइएपछि विरोध अनिवार्य भएको बताए। ‘त्यहाँका जनप्रतिनिधिसमेत रहनुभएका सिके राउतले योजना आयोग, कहाँ-कहाँ पुगेर कृषि विश्वविद्यालयको भवन निर्माणका लागि बजेट हाल्न लगाउनुभयो,’ उनले भने, ‘प्रदेश मातहतको विश्वविद्यालय त्यहाँका शिक्षामन्त्री सहकुलपति हुनुहुन्छ उहाँसँग सरसल्लाह पनि नगरी उपेन्द्र यादवलाई किन बोलाइयो भन्ने हाम्रो प्रश्न हो।’
उनले उपेन्द्रलाई सप्तरीका जनताले पराजित गरिसकेको बताए। जनमतले अस्वीकृत गरिसकेको मानिस आफैंले प्रमुख अतिथि बनाऊ भन्दै जानु लाजमर्दो भएकाले आफूहरूले सम्झाएको बताए।
‘जनमतबाट अस्वीकृत भइसकेपछि पाँच वर्ष चुप लागेर बस्नुपर्छ भनेर कसैले सम्झाउँदैनन् कि के हो? त्यहाँको सांसद सिके राउत हो। उहाँले गरिहाल्नुहुन्छ उद्घाटन, शिलान्यास!,’ उनले भने।
जसपाका केन्द्रीय कार्यकारिणी सभा सदस्य मनिषकुमार सुमनले जनमत पार्टीको अराजकताको सीमा नाघेको बताए। उनले त्यही सरकारमा बस्ने, त्यही सरकारको विरोध गर्ने लाजमर्दो ‘हर्कत’ गरिरहेको टिप्पणी गरे।
‘माघ ३ गते मधेस नामकरण भएको उपलक्ष्यमा हामीले सरकारले स्वाभिमान दिवस मनायो। त्यो मन्त्रिपरिषद् बैठक बसेर निर्णय गरेर भएको थियो। त्यो निर्णय गर्दा उहाँका दुई जना मन्त्री क्याबिनेटमै हुनुहुन्थ्यो। त्यहाँ उहाँहरूले केही बोल्नुभएन,’ उनले भने, ‘तर, स्वाभिमान दिवस मनाइरहँदा १०–१२ जना कार्यकर्ता उफार्नुभयो।’
लाजमर्दो तरिकारले सरकारमा पनि बस्ने र विरोध पनि गर्ने कृत्यकै निरन्तरताका रूपमा राजविराजको कृषि विश्वविद्यालयको तालाबन्दी र शिलान्यासमा अवरोध रहेको बताए।
‘सप्तरीका कुनैबेला १० कक्षा पढेका छोरी भेटिँदैथे। जिल्लामा विद्यालय थिएन। मानव विकास सूचकांकमा पुछारतिर छ। अहिले त्यही ठाउँमा विश्वविद्यालय आएको छ। छोरीहरूले पढ्न पाउने भएको छन। एक किसिमले भन्दा सप्तरीमा विकासको मुल फुटेको छ। तर जनप्रतिनिधि भएका सिके राउत विरोध गर्दै हिँड्नुभएको छ,’ उनले भने, ‘त्यो विश्वविद्यालय ल्याउनुमा उपेन्द्र यादवको अहम् भूमिका छ। बजेट व्यवस्थापनमा पनि अहम् भूमिका छ। प्रदेशमा हाम्रै नेतृत्वमा सरकार छ। आफ्नै सरकारले पार्टी प्रमुखलाई शिलान्यासमा निम्त्याउनु अन्यथा पनि होइन।’
जनमतमा न्यूनतम पनि राजनीतिक सहिष्णुता नभएको सुमनले बताए। उनले जिल्लाको विकासमा अवरोध गर्दै जानु सप्तरीलाई पछाडि नै राख्नुपर्छ भन्नु भएको टिप्पणी गरे।
महासचिव तथा मधेसका श्रम मन्त्री सिंहले उपेन्द्रले अरूलाई निषेध गर्ने गरेको बताए। मधेस स्वाभिमान दिवस मनाउँदा पनि त्यही प्रवृत्तिले निरन्तरता पाएको बताए।
‘मधेस स्वाभिमान दिवसप्रति हाम्रो उच्च सम्मान, समर्थन छ। तर त्यहाँ जसरी उपेन्द्रलाई मात्रै प्रस्तुत गरियो, त्यसप्रति हाम्रो आपत्ति हो। मधेस आन्दोलन उपेन्द्रले मात्रै गरेका हुन्? नामकरणमा अरूको भूमिका नै छैन? जहाँ पनि आफैंमात्रै जस लिन खोजेपछि विरोध त हुन्छ नै, जनता आन्दोलित हुन्छन् नै।’
उपेन्द्र र सिके राउतबीचको द्वन्द्वको क्रम–उपक्रम यतिमै सीमित छैन। २०७५ मा उद्घाटित भएको दुस्मनी २०७९ सालको प्रतिनिधि सभामा झन् मुखर भएको थियो।
सप्तरी–२ को प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र र सिके आमुन्नेसामुन्ने भएका थिए। जनमतका अध्यक्ष सिकेले दोब्बरभन्दा बढी मतले उपेन्द्रलाई पछि पारे।
सिकेले ३५ हजार ४२ मत प्राप्त गरे। पराजित उपेन्द्रले १६ हजार ९७९ मत ल्याए। प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको थियो। सप्तरी २ (क) मा सतिशकुमार सिंह निर्वाचित भए। सप्तरी २(ख)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका थिए।
पराजित उपेन्द्र संसद् छिर्ने बाटो खोजिरहेका थिए। बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यो ठाउँ खाली भयो। उप निर्वाचनमा उपेन्द्र त्यहीँबाट उम्मेदवार बने। त्यतिबेला पनि उनले जनमत पार्टीकै कडा चुनौतीको सामना गर्नुपरेको थियो।
उपेन्द्रले २८ हजार ४१५ मत ल्याए भने जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत ल्याए र पछि परे। ‘त्यतिबेला पनि सिके राउत गठबन्धनको विपक्षमा जानुभयो। गठबन्धनमा पनि टाँसिइरहने, छुट्टै उम्मेदवार उठाउने, यस्तो दोहोरो चरित्र उहाँमा देखियो,’ जसपा नेता सुमनले भने।
त्यसैको निरन्तरताका रूपमा माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा पनि अलग्गै उम्मेदवार खडा गरेको सुमनले बताए।
‘राष्ट्रिय सभाको सिट बाँडफाँट गर्ने बैठकमा सिके राउत पनि हुनुहुन्थ्यो। त्यहाँ प्रष्ट कुरा राख्न नसक्ने। फेरि आफ्नो उम्मेदवार पनि उठाउने!,’ उनले भने, ‘पहिले त हामीविरूद्ध मात्रै हो कि जस्तो लाग्थ्यो। अहिले त गठबन्धनविरूद्ध नै लाग्नुभएको छ। मधेसमा उहाँले नेपाली कांग्रेसविरूद्ध उम्मेदवार खडा गर्नुभएको छ।’
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत लाज पचाएर सरकारमा बसिरहेको टिप्पणी गरेका छन्। आइतबार जनकपुरमा बोल्दै उनले गठबन्धन सरकारमा पनि बस्ने, त्यही गठबन्धनविरूद्ध उम्मेदवार खडा गर्ने, कृषि विश्वविद्यालयमा तालाबन्दी गर्नु अशोभनीय भएको उनको टिप्पणी थियो।