संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएर ताकेता गरेका छन्।
महासचिवबाट भरतराज गौतमले गत मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि रिक्त महासचिव पदमा अझै नियुक्ति गरिएको छैन।
महासचिव सिफारिस गरेको लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले नियुक्ति अघि नबढाएकोमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले गत शुक्रबार राष्ट्रपति कार्यालयमा स्मरण पत्र पठाएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
महासचिव सिफारिस गरेको एक महिनाभन्दा बढी समय भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै स्मरण पत्रमा भनिएको छ, ‘सिफारिस गरेको एक महिनाभन्दा बढी भइसक्यो, महासचिव नियुक्त नहुँदा संघीय संसदका कामकारबाहीमा पनि समस्या आइरहेका छन्। महासचिव छिटो नियुक्तिका लागि स्मरण गराइएको छ।’
स्मरण पत्र पठाउनुअघि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरलाई बोलाएर छलफल गरेका थिए। कुँवरले महासचिवमा पुन: सिफारिस गर्न आग्रह गरेका थिए तर सभामुख र राष्ट्रिय सभा अध्यक्षले त्यसो गर्न मानेका थिएनन्।
‘अनि स्मरण पत्र पठाउने गरी बीचको बाटो खोजिएको थियो,’ स्रोतले सेतोपाटीसँग भन्यो।
सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संसदको महासचिव नियुक्तिमा आफूले गर्नुपर्ने सिफारिस गरिसकेको बताएका थिए।
‘महासचिव नियुक्त गर्न आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको छु,’ उनले भने, ‘टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी छु।’
राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार कुँवरले सभामुख र राष्ट्रिय सभा अध्यक्षबाट स्मरण पत्र आएको सेतोपाटीलाई बताए।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव बनाउन सिफारिस गरेका थिए। तर राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाएको छैन। राष्ट्रपति कार्यालयले गौतमले पदबाट दिएको राजीनामा स्वीकृत नहुँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई महासचिवमा सिफारिस गरेकोले 'मिति नमिलेको' भन्ने तर्क गर्दै आइरहेको छ।
राष्ट्रपति पौडेलले अनावश्यक र अतिरिक्त सक्रियता देखाएर महासचिव नियुक्ति प्रक्रिया रोकेको आरोपसमेत लाग्ने गरेको छ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको परामर्शमा राष्ट्रपति पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै गत मंसिर २७ गते सचिव पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका थिए।
कार्यवाहक महासचिव पाण्डेयविरूद्ध प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता दुरूपयोगको उजुरी परेको छ। उजुरीबारे समितिले गृह मन्त्रालयलाई पत्र लेख्दै जवाफ मागेपछि पाण्डेयको नागरिकताबारे जिल्ला प्रशासन कार्यालयबाट विवरण मागिएको थियो।
संसदको महासचिवमा नियुक्ति सिफारिससँगै उनले एकभन्दा बढी नागरिकता लिएको विषय बाह्रखरी अनलाइनले पहिलो पटक सार्वजनिक गरेको थियो।
पाल्पाका पाण्डेयले २०४६ असार २८ गते ३५ नम्बरको नागरिकता लिएका थिए। नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते उल्लेख छ। तर नागरिकता हराएको भन्दै उनले २०६६ साल भदौ ८ गते ३९१०११/१५५ नम्बरको नागरिकता लिएका थिए। नागरिकतामा भने उनको जन्ममिति २०३२ पुस २६ गते उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालमा भएको घटनाका कारण २०६२ माघ १८ गते अघिको सम्पूर्ण अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै उनलाई अर्को नागरिकता दिएको थियो। तर पछि हराएको नागरिकता भेटिएको भन्दै पाण्डेयले दुवै नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै पुरानो नागरिकता कायम गरिदिन निवेदन दिएका थिए।
पाण्डेयको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले २०६६ भदौ ८ गते पाण्डेयको नयाँ नागरिकता रद्द गरी पुरानै ३५ नम्बरको नागरिकता कायम गरिदिएको थियो। राज्य व्यवस्था समितिले दुई वटा नागरिकता प्रयोग गरेका पाण्डेयले नागरिकता दुरूपयोग गरे/नगरेको विषयमा छानबिन सुरू गरेको थियो।
कार्यवाहक महासचिव पाण्डेयले भने आफूले नागरिकताको दुरूपयोग नगरेको बताउँदै आएका छन्। उनले आफूले नागरिकता हराएका कारण दुई नागरिकता लिएको र पछि एउटा रद्द गरेको स्वीकार गर्दै आएका छन्।
राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले केही समयभित्रै महासचिव नियुक्ति गरिने बताए।
‘राष्ट्रिय सभा चुनावपछि महासचिव नियुक्त गर्ने तयारी भइरहेको छ,’ उनले सेतोपाटीसँग भने। यही माघ ११ गते राष्ट्रिय सभा चुनाव हुँदैछ।
यी पनि:
संघीय संसदका कार्यवाहक महासचिव पाण्डेयविरूद्ध राज्य व्यवस्था समितिमा नागरिकता दुरूपयोगको उजुरी
संघीय संसदको महासचिव नियुक्तिमा एमाले र राष्ट्रपति कार्यालयको 'खेल'
संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई
संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस
राष्ट्रपतिले संसदको महासचिव नियुक्तिमा ढिलाइ गरे अदालत जाने सभामुखको तयारी