राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औं पृथ्वी जयन्तीका अवसरमा जलपान गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार भएको जलपानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका छन्।
जलपानमा आएका अतिथिहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।
राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा वर्षेनी विभिन्न दलका नेताहरू लगायतलाई निम्त्याएर जलपान समारोह गर्दै आएको छ।
अध्यक्ष लिङ्देनले काठमाडौं र जिल्ला-जिल्लामा पनि कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको बताए।
‘गत वर्षभन्दा पनि व्यापक रूपमा पृथ्वी जयन्ती मनाइएको छ। पार्टीका नेताहरूलाई खटाएर देशैभर कार्यक्रम भएका छन्,’ उनले भने, ‘कार्यक्रममा प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुनुभयो, धन्यवाद दिन चाहन्छु।’
राप्रपाले उठाइरहेका मुद्दा पार्टी विशेषको मात्र नभई राष्ट्रिय एकतासँग जोडिएका विषय भएको बिस्तारै पुष्टि भइरहेको र दलहरूले स्वीकार गरिरहेको दाबी अध्यक्ष लिङ्देनको छ।
उनले कविता प्रतियोगितामा सहभागी भएकाहरूलाई पनि धन्यवाद दिएका छन्।
तस्बिरहरू: