माघ ११ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सोमबार मनोनयन दर्ता गरिएको छ।
कर्णाली प्रदेशबाट खाली हुन थालेका तीन वटा क्लस्टरमा नेकपा एमाले र सत्ता गठबन्धन दलहरूले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धन दलहरूले क्लस्टर भागबण्डा गरेर उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेसले अन्य, नेकपा माओवादी केन्द्रले दलित र नेकपा (एकीकृत समाजवादी) ले महिला क्लस्टर भाग पाएका छन्। नेकपा एमालेले खाली रहेका सबै पदमा आफ्ना उम्मेदवार उठाएको छ।
कर्णाली प्रदेशमा १९६ मतदाता छन्।
स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष गरी १५६ जना र कर्णाली प्रदेश सभाका ४० जना सांसद गरी १९६ मतदाता छन्। ७९ वटा स्थानीय तहका १५८ जना भएपनि दैलेखका महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङ र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहको मृत्यु भइसकेको छ।
हाल भएका मतदातामध्ये १५६ पालिकाका जनप्रतिनिधिको २ हजार ९६४ र ४० जना सांसदको २ हजार १२० गरी कुल मतभार पाँच हजार ८४ हुन्छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार एक जना बराबर ५३ र स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १९ तोकिएको छ।
कर्णालीमा अहिले भएको कुल मतभारमध्ये सबैभन्दा धेरै सत्ता गठबन्धन दल नेपाली कांग्रेसको छ।
कांग्रेससँग स्थानीय तहको अध्यक्ष-उपाध्यक्ष र प्रमुख-उपप्रमुखबाट एक हजार १०२ मतभार छ। प्रदेश सभामा रहेका कांग्रेसका १५ जना सदस्यको मतभार ७९५ छ। राष्ट्रिय सभाका लागि कांग्रेससँग तत्काल एक हजार ८९७ कुल मतभार छ।
नेकपा माओवादी केन्द्रसँग स्थानीय तहका प्रतिनिधिबाट ९१२ र प्रदेश सभा सदस्यहरूबाट ६८९ गरी जम्मा एक हजार ६०१ मतभार छ।
यस्तै नेकपा (एस) सँग स्थानीय तहका जनप्रतिनिधिबाट १९० र प्रदेश सभा सदस्यबाट ५३ सहित कुल २४३ मतभार छ।
स्वतन्त्र रूपमा निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधि मतदाता छोडेर सत्ता गठबन्धनसँग कुल तीन हजार ७४० मतभार छ।
नेकपा एमालेसँग स्थानीय तहका जनप्रतिनिधि मतदाताबाट ६६५ मतभार छ भने प्रदेश सभा सदस्यहरूबाट ५३० मतभार छ। स्वतन्त्र रूपमा निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिलाई छोडेर एमालेसँग कुल एक हजार १९५ मतभार रहेको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा कर्णालीका ७९ वटा पालिकामध्ये पाँच वटाको प्रमुख तथा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका थिए। त्यतिबेला पार्टीसँग रूष्ट भएर स्वतन्त्र चुनाव लडेका उनीहरू आ–आफ्नो पार्टीमा फर्किने क्रममा छन्। उनीहरूको मतभार ९५ हुन्छ।
कर्णाली प्रदेश सभामा एक जना राप्रपाबाट सदस्य छन्। राष्ट्रिय सभाका लागि कर्णालीमा राप्रपाको पनि ५३ मतभार छ।