नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीसँग उपत्यका भित्रको सुरक्षा कमजोरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ब्रिफिङ गरेका छन्।
सिंहदरबारमा भएको समिति बैठकमा काठमाडौं र ललितपुर प्रहरीले सञ्चार सेटमा कुराकानी गर्न नसक्ने अवस्था रहेको खुलासा गरेका हुन्।
ललितपुरको बालकुमारीमा रोजगारीका लागि दक्षिण कोरियामा जान भाषा परीक्षाको फर्म भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका युवामाथि प्रहरीले गोली प्रहार गरी हत्या गरेको घटनामा समितिले गृहमन्त्रीसँगै महानिरीक्षक कुँवरलाई समेत छलफलमा डाकेको थियो।
उक्त छलफलमा उनले प्रहरीसँग भीड नियन्त्रणका लागि स्रोत साधनको अभाव भएको समेत बताएका छन्।
‘हामीसँग साधन स्रोतको कमी छ। हामीसँग सेन्टिमेन्ट विदेशीको जस्तो भयो। नागरिक कर्तव्यबारे कोही पनि सचेत भएनौं। अधिकारको मात्र कुरा गर्यौं। तर हाम्रो ग्राउण्ड रियालिटी अर्कै छ’, कुँवरले भने, ‘हामीसँग भएका सञ्चार साधन… मागेर(विदेशीसँग) लिने हो। कहिले कति सहयोग गर्छ कहिले कति सहयोग गर्छ, काठमाडौंमा एउटा सेट छ। उता (ललितपुरमा) एउटा सेट छ। एउटा च्यानल भएको भए सजिलो हुन्थ्यो।’
कुँवरले काठमाडौंंको प्रहरीले मोटोरोलाको सञ्चार सेट प्रयोग गर्ने र ललितपुरले हाइटेराको सेट प्रयोग गर्ने भएकाले बेस स्टेसनबाट म्यासेज रिले गर्नुपर्ने अवस्था रहेको बताए।
‘किन्न सक्ने अवस्था छैन। सहयोगको रूपमा आउने हो। परराष्ट्र मन्त्रालयबाट एउटा सहमति बन्दैछ,’ कुँवरले भने, ‘हामीले प्रयोग गर्ने सेट यहाँबाट (उपत्यका) बाहिर जाँदा काम गर्दैन। विभिन्न च्यानल हुन्छ। मिलाएर कुरा गर्ने हो।’
भ्यालीभित्र पनि काठमाडौंमा मोटोरोलाको सेट छ भने ललतिपुरमा हाइटेरा भन्ने सेट छ। त्यो दुई वटाको फ्रिक्वेन्सी मिल्दैन। समन्वय गर्न कि त टेलिफोन गर्नुपर्यो कि त हाइटेराको बेस हाम्रो उपत्यका प्रहरी कार्यालयमा हुन्छ। त्यहाँबाट सूचना दिनुपर्छ।’
उनले ललितपुरको बालकुमारी घटनाका दौरान मन्त्री प्रकाश ज्वालाको पिएसोले समेत समन्वयका लागि उपत्यका प्रहरी कार्यालयमा सूचनाका लागि आग्रह गरेको बताएका छन्।
‘पिएसोले मन्त्रीको गाडी आइसक्यो भनेर उपत्यका प्रहरी कार्यालयमा खबर गरेपछि ललितपुरलाई रिले भयो। अनि मात्र मन्त्रीको गाडी त्यहाँ(बालकुमारी) छ भन्ने ललितपुरलाई थाहा भयो,’ कुँवरले भने, ‘त्यसपछिको घटनाक्रम उसले केही भनेन। त्यसका कारण रनभुल्ल भएको जाहेर गरेँ।’
ललितपुरको बालकुमारीमा कोरियामा रोजगारीका लागि जान आवश्यक भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा उत्तेजित भीडले मन्त्री ज्वालाको गाडीमा आगो लगाइदिएका थिए। उक्त घटनामा गृह मन्त्रालयले ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) लाई निलम्बन गरेको छ।
मन्त्री प्रकाश ज्वालाले पनि ललितपुरमा भएको पार्टी बैठकबाट आफू बाहिरिने क्रममा सडकमा प्रदर्शन भइरहेको सूचना प्रहरीले नदिएको बताएका छन्।
‘बाहिर निस्कनुभन्दा अघि बालकुमारी क्षेत्रमा के अवस्था छ, रूटको अवस्था के छ भन्ने हामीलाई केही पनि थाहा भएन,’ ज्वालाले भने, ‘सामान्य अवस्थामा बाहिर निस्कियौं। सुरक्षा निकायबाट पनि कुनै जानकारी नभएपछि सामान्य रूपमा हामी बाहिर निस्कियौं।’
नेपाल प्रहरीका महानिरीक्षक कुँवरले राज्य व्यवस्था समितिमा नेपाल प्रहरीसँग गाडी, भीड नियन्त्रणका लागि प्रहरीलाई आवश्यक सुरक्षा सिल्ड नभएको बताएका छन्।
‘हामीले पटक पटक अनुरोध गरेका छौं। साधन स्रोत पूर्ति गर्ने कुरामा राज्य चनाखो हुनुपर्छ,’ कुँवरले भने, ‘दुर्गा प्रसाईंको आन्दोलनमा हामीलाई चाहिने सिल्ड, बडी प्रोटेक्टर हामीले बुटवल र गण्डकीबाट मगाउनु परेको छ। तालिम केन्द्रबाट मगाउनु परेको छ। यो कुरामा पनि हामी संवदेनशील भएर जान सके राम्रो हुन्थ्यो।’
उनले भीड नियन्त्रणमा म्याद ग्रुजिएको अश्रुग्यास प्रयोग गर्नु परिरहेको बताए।
‘साधन स्रोत धेरै पुराना भए। अहिले चुनावका बेला प्राप्त भएका गाडीमात्र छन्,’ कुँवरले भने, ‘तत्काल घटना भए सम्बोधन गर्न गाडी छैन।’
उनले प्रहरीले अहिलेको जनशक्ति र साधन स्रोतलाई अत्यधिक प्रयोग गर्दै काम गर्ने बताए।