बैतडीको झुलाघाटमा मंसिर १४ गते राष्ट्रिय झन्डा फहराएर सुरू भएको नेकपा (एमाले) को पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रा आइतबार सकिएको छ।
नेपाल–भारतको सीमा क्षेत्र चिवाभञ्ज्याङमा नेपालको झन्डा फराउँदै सकिएको अभियान मूलभूतरूपमा सार्थक भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
मध्यपहाडी क्षेत्रका समस्याको पहिचान र त्यसको सम्बोधनका लागि दीर्घकालीन नीति तर्जुमा गर्न तथा पार्टी-नागरिकबीचमा सम्बन्ध स्थापित गर्न १८ दिने संकल्प यात्रा प्रभावकारी बन्न पुगेको निष्कर्ष उपमहासचिव ज्ञवालीको छ।
‘१८ दिनमा अभियानलाई टुङ्ग्याउँदा हामी अत्यन्तै उत्साहित छौं। सकारात्मक परिणामबाट प्रफुल्ल पनि छौं। संकल्प यात्रा पार्टी र जनताबीचको सम्बन्ध अझ घनिष्ट बनाउने अभियानका रूपमा थियो,’ उनले भने।
काठमाडौंमा दलहरूप्रति नागरिकको विश्वास टुट्दै गएको, प्रणालीप्रति नै मानिसको विश्वास घटेको भाष्य निर्माण भइरहेको ज्ञवालीले बताए। संकल्प यात्रामार्फत् ३० जिल्ला पुग्दा काठमाडौंमा निर्माण भएको भाष्य खण्डित हुन पुगेको उनको भनाइ छ।
‘धरातलमा पुग्दा काठमाडौंमा बनाइएका त्यो भाष्य विलकुल गलत देखिए। मंसिरमासको ठन्डीमा राति १० बजेसम्म नागरिकहरू जसरी जोडिनुभयो, त्यो एमालेप्रतिको विश्वास नै हो,’ उनले भने, ‘यात्राको दौरानमा नागरिकहरूले जुन सद्भाव देखाउनुभयो, त्यसबाट पार्टीले बेग्लै ऊर्जा प्राप्त गरेको छ। दलहरू कमजोर बन्दै गएका छन्। दलहरूप्रतिको विश्वास टुट्दै गएको छ। अहिले दलहरूको मात्र होइन, प्रणालीकै विकल्प खोजिँदै छ भन्ने भाष्य सत्य होइन रहेछ।’
बाटोघाटो, पुलपुलेसा, विद्यालय, स्वास्थ्य केन्द्रहरू पुग्दा पनि मध्यपहाडी क्षेत्र रित्तिने क्रम नरोकिनु चुनौतीपूर्ण भएको उनले बताए। मध्यपहाडी क्षेत्रमा विकासमा सम्भावना पहिल्याउन सरकारले ठोस नीति तर्जुमा गर्न नसकेको उनले बताए।
ज्ञवालीले संकल्प यात्राको क्रममा १८ दिन फरक-फरक भूगोलमा फलेका सुन्तला खाएको बताए। सुन्तलाको प्रयोग मध्यपहाडी क्षेत्रको विकासको सम्भाव्यता पहिचानको सर्वेक्षणजस्तो भएको उनको भनाइ छ।
‘हामीले बैतडीदेखि पाँचथरसम्म आइपुग्दा सुन्तला मात्रै प्रयोग गर्यौं। यात्राका क्रममा स्वादस्वादका सुन्तला पायौं। यसलाई मात्रै प्रबर्द्धन गर्ने हो भने नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सकिने आधार भेट्यौं। उत्पादनमूलक क्षेत्रमा राज्यको लगानी एकदमै कम छ। उत्पादन, रोजगारी, वचत नभएको कारणले मानिसहरू थातथलो छाड्न बाध्य छन्,’ उनले निचोड सुनाए।
मध्यपहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर भयावह रूपमा देखिन थालेको उनले बताए। त्यसले बसाइ सराइँमा भूमिका खेलिरहेको ज्ञवालीको भनाइ छ।
‘पानीका मूल र सिँचाइका नहर सुकेका छन्। नदी किनारका बस्ती बाढीको उच्च जोखिममा छन्। पहाडका बस्ती पहिरोको कहरमा छन्। उत्तरतिरका हिमाल कालापहाडमा बदलिएका छन्। जलवायु परिवर्तनबाट त्यहाँको जीवनपद्धति जोगाउन तुरून्तै पहलकदमीको खाँचो पनि देख्यौं,’ उनले भने।
कृषिमा उद्यमशीलताको विकास, यान्त्रिकीकरण, व्यवसायीकरण गरेर उत्पादन बढाउन सकिने अवस्था हुँदाहुँदै सरकारको ध्यान नपुगेको उनले इंगित गरे। जलस्रोत, पर्यटनमा मात्रै लगानी गर्ने हो भने पनि पहाड समृद्ध तुल्याउन सकिने उनले आधार प्रस्तुत गरे। ‘यसबारे राज्यले ठोस नीति तर्जुमा गर्नुपर्छ, सरकार चाहन्छ भने हामी यसमा योगदान दिन तयार छौं,’ उनले भने।
पटक-पटक सरकारको नेतृत्व गरिसकेकाले स्वाभाविकरूपमा एमालेतिर प्रश्न रहेको उनले बताए। तर मौजुदा सरकारकै कारण एमालेले अघि सारेका योजना अलपत्र परेका हुन् भनेर पनि नागरिक विश्वस्त रहेको उनको बुझाइ छ।
‘हामीले सरकारको नेतृत्व गर्दा जुन विकास आयोजना अघि बढाएका थियौं, सकार छाड्दा जुन अवस्थामा थियो, अहिले पनि अवस्था त्यस्तै छ, प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने योजना अघि बढाएर शिलान्यास पनि गर्यौं। ती आयोजनालाई सरकारले बजेट नै दिएको छैन,’ उनले भने।
त्यस्तै मध्यपहाडी लोकमार्गको अवस्थिति (अलाइन्मेन्ट) बारे एमालेले प्रतिवेदन सार्वजनिक गर्ने उनले बताए।
‘हामीले त्यसको अध्ययन गरेका छौं, अध्ययन प्रतिवेदन हामी यसै साता सार्वजनिक गर्छौं,’ उनले भने, ‘सरकार र सम्बद्ध पक्षलाई हाम्रो आग्रह के छ भने- यो साँच्चिकै राजमार्गजस्तो हुनुपर्यो। सोझो आँखाले हेर्दा पनि कतिपय ठाउँमा अवस्थिति बदल्नुपर्ने, सुरूङ मार्ग, ठुल्ठूला पुल थप्नुपर्ने देखिन्छ। त्यसो गर्ने हो भने कम्तीमा पाँच सय किलोमिटर घटाउन सकिन्छ।’
उनले १ हजार आठ सय ७९ किलोमिटरको कुनै राजमार्ग नहुने र छोट्याएर १३–१४ सय किलोमिटर कायम गर्नुपर्ने बताएका छन्।
‘साझा पहिचानको पक्षपाती हो एमाले’
झुलाघाटबाट अघि बढेको एमालेको संकल्प यात्रा भदौ २६ गते सिन्धुलीको खुर्कोट हुँदै उदयपुरको घुर्मी आइपुगेको थियो। त्यहाँबाट प्रदेश पुनः नामकरण संघर्ष समितिको निशानामा पर्यो।
एमालेकै अगुवाइमा कोशी प्रदेश नामकरण गरेको भन्दै उनीहरू सुरूदेखि नै क्रूद्ध थिए। एमालेको केन्द्रीय नेतृत्वदेखि प्रदेश सांसद समेतलाई अवरोध गर्दै आएका थिए। एमाले अभियान घुर्मी हुँदै चिवाभञ्ज्याङ पुग्ने भएपछि उनीहरूले घुर्मी–चिवाभञ्ज्याङ सडकखण्डमै जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए।
संकल्प यात्रा दोलालघाट तरेर अघि बढ्नेबित्तिकै एमाले हिँड्न लागेको रूट बन्दको घोषणा गरेर अवरोधको प्रयास गरे। संघर्ष समितिले पुस २६ गतेबाट निरन्तर बन्दको घोषणा गर्दै एमाले टोलीलाई अवरोधको प्रयास गरेको थियो। तर तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका कारण एमालेका कुनै पनि कार्यक्रम बिथोलिएन।
एमाले महासचिव शंकर पोखरेलले पनि मध्यपहाडी क्षेत्रको समस्या पहिचान गर्ने र मध्यपहाडी क्षेत्रको विकासमा केन्द्रित अयिभान दलिय राजनीतिबााट माथि उठेको राष्ट्रिय संकल्प यात्रा भएको बताएका छन्। तर आन्दोलनकारीले यसको मर्म र भावनालाई बुझ्न नसकेको उनको गुनासो छ।
‘पहिलो कुरा त यो मध्यपहाडी क्षेत्रको समस्या पहिचान गर्ने र मध्यपहाडी क्षेत्रको विकासमा केन्द्रित यात्रा थियो। यो यात्रा दलीय राजनीतिबाट माथि उठेर राष्ट्रिय संकल्प यात्रा थियो। यसलाई बुझ्न नसक्नु आन्दोलनकारी पक्षको कमजोरी देखियो। दोस्रो, नेकपा (एमाले) सांस्कृतिक पहिचानको विरोधी होइन। उसले विभिन्न जातीय संस्कृतिलाई उच्च सम्मान दिँदै आएको छ। यात्रालाई प्रभावकारी र जीवन्त बनाउन स्थानीय संस्कृति राम्रो संयोजन गरिएको थियो,’ पोखरेलको तर्क छ।
उनले कोशी प्रदेशको नामकरण एमाले एक्लैको पहलमा नभएको बताए। एक्लै राख्दा हुने भए अघिल्लो प्रदेश सभामै नामकरण सम्भव हुने उनले बताए। ‘पहिलो प्रदेश सभामा नेकपा (एमाले) को एकल बहुमत थियो। तर पनि नाम राख्न सम्भव भएन। किनकि त्यसका लागि दुई तिहाइ चाहिन्थ्यो। यस पटकको प्रदेश सभामा त एमालेको बहुमतसमेत थिएन। यो तथ्यलाई आन्दोलनकारीले बुझ्न चाहेको देखिएन,’ उनले भने।
एमाले साझा पहिचानवादी भएको उनले बताए। ‘नेकपा (एमाले) ले सदैव साझा पहिचानको कुरा गर्दै आएको छ। त्यही मान्यतामा उभिएवापत पार्टी विभाजन गर्ने कोसिस भएको हो। अशोक राई लगायतकाले पार्टी छोडेर नयाँ पार्टी समेत बनाउनुभएको हो। त्यस अर्थमा एमालेप्रति गुनासो र विरोध गर्नुपर्ने कारण नै थिएन। विरोध र गुनासो गर्नुपर्ने भए जातीय नामकरणको कुरा गरेर साझा नामकरणका पक्षमा मतदान गरेकाप्रति हुनुपर्ने थियो,’ उनले भने, ‘यद्यपि एमाले सबै प्रकारका असहमतिलाई राजनीतिक रूपमा कदर गर्छ।’
आन्दोलनकारीलाई ओलीको स्पष्ट सन्देश
मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राका अधिकांश मञ्चमा अध्यक्ष केपी शर्मा ओलीको एकल प्रस्तुति रह्यो। यात्रामा सचिवालयका १८ जनामध्ये अधिकांश सहभागी रहे तर ओलीबाहेक कसैले पनि सम्बोधन गरेनन्।
‘झन्डै दुई हजार किलोमिटर लामो संकल्प यात्रको मुख्य आकर्षण अध्यक्ष ओली नै थिए। उनलाई हेर्न, उनीसँग फोटो खिचाउन मानिसहरू चार–पाँच किलोमिटर हिँडेर आएकासमेत पायौं। फेरि सबै सभालाई अध्यक्ष ओलीले मात्रै सम्बोधन गर्ने गरी डिजाइन गरिएको थियो,’ यात्रामा सहभागी एक केन्द्रीय सदस्यले भने।
मध्यपहाडी लोकमार्गको रेखांकन एक हजार आठ सय ७९ किलोमिटर छ। सबैतिर सडकको ट्र्याक नजोडिइसकेकाले एमालेले दुई हजार किलोमिटर हिँड्नुपरेको थियो। १८ दिनको यात्रामा ७० किलोमिटरदेखि सय किलोमिटरसम्म हिँड्नुपर्ने भएकाले सभालाई लम्बेतान नबनाइएको एमालेको जिकिर छ।
कोशीसम्म पुग्दा नरम देखिएका ओली तेह्रथुम पुगेपछि पुरानै लयमा फर्किए। आन्दोलनका बलमा कोशीको नामकरण नफेरिने भन्दै संघर्ष समितिलाई राजनीतिक सन्देश दिन खोजे।
‘कालो झन्डा देखाएर, बाटामा रहेका सल्लाका रूख ढालेर समस्याको समाधान हुन्छ? सल्लाका रूखले समस्या ल्याएको हो? समस्याको समाधान चाहेको हो भने शान्तिपूर्ण ढंगले छलफल गर्नुपर्यो,’ शुक्रबार तेह्रथुममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने।
कोशी नाम खारेजीको माग राखेर आन्दोलन गरिरहेकाहरूलाई बाटो नबिराउन सल्लाह पनि दिए। ‘जे गरे पनि आन्दोलन हुने होइन, कालो झन्डा देखाउने अथवा अरू प्रकारका गतिविधि गर्ने, अझ त्यसलाई हिंसात्मक रूप दिने! त्यसले कुनै समस्याको समाधान गर्दैन,’ उनले भने, ‘लोकतन्त्रमा धीरता चाहिन्छ, लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्नुपर्छ।’
त्यस्तो धैर्य एमालेबाटै सिक्न ओलीले सुझाए। आफू नेतृत्वको सरकार ‘षड्यन्त्रपूर्ण ढंगले हटाइएको’ गुनासो गरेका ओलीले त्यसरी ‘बहुतै ठूलो अन्याय हुँदा पनि जनताको अभिमतका लागि लागिरहेको’ बताएका थिए।
‘अहिले हामी सरकारमा छैनौं। हामीलाई सरकारबाट बेठीक ढंगले हटाइयो। देशी–विदेशी लागेर हटाइयो,’ ओलीले भने, ‘हामीले मुलुकमा सुशासन ल्याउने काम गर्यौं, विरोधीहरू आत्तिए। प्रयोग नै गर्न नहुने संस्थाहरू प्रयोग गरेर हामीलाई हटाए। यो बहुतै अन्यायपूर्ण कुरा भयो।’
हेलिकप्टर चढेर चिवाभञ्ज्याङमा ओली
संकल्प यात्राको अन्तिम दिन अध्यक्ष ओली हेलिकप्टर चढेर चिवाभञ्याङ पुगेका थिए। यात्राको १८ औं दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै चिवा भञ्ज्याङ पुग्ने कार्यक्रम थियो।
बाटो कच्ची र फोर ह्विलमात्रै जाने भएकाले हेलिकप्टर प्रयोग गर्नुपरेको ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले बताए। ‘बाटो कच्ची भएकाले अध्यक्षज्यू हेलिकप्टरमा आउनुभएको हो, उहाँको गाडी आउन सक्दैनथ्यो,’ उनले भने।
यात्राको अन्तिम दिन झन्डै एक सय एक किलोमिटर दुरी निर्धारित थियो। गाडीबाट छिचोल्न नसकिएपछि अध्यक्ष ओलीलगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकप्टर प्रयोग गरेका थिए।
पुस ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानको उपलब्धी सार्वजनिक गर्ने एमालेको तयारी छ।