प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) यतिबेला मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रामा छ। बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने छ।
मंसिर १४ गतेदेखि सुरू भएको यात्रा सोमबार काभ्रेपलाञ्चोकको दोलालघाट, सिन्धुपाल्चोकको खाडीचौर, दोलखाको जिरी हुँदै रामेछापको मन्थली पुग्ने तालिका छ।
यात्राको दौरानमा एमालेले मध्यपहाडी क्षेत्रको बढ्दो बसाइँ सराइको कारण पहिल्याउने बताएको छ।
त्यस्तै त्यस भेगको विकासको सम्भाव्यता पहिचान गर्ने र स्थानीय बासिन्दाले दैनन्दिन भोगिरहेका समस्याबारे क्रियाशील राजनीतिक दल, प्रबुद्ध व्यक्तित्व र उद्यमी–व्यवसायीहरूसँग अन्तर्क्रिया गर्ने बताएको छ।
पृष्ठभागमा यी उद्देश्य देखाए पनि पार्श्वभागमा राजनीतिक उद्देश्य नै निहित छ। केन्द्रीय सदस्य विष्णु रिजालले जारी संकल्प यात्रा ‘मिसन–०८४’ कै हिस्सा भएको बताए।
नेकपा (एमाले) ले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्य राखेर शृंखलाबद्ध अभियान चलाइरहेको छ। २०७९ फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरूट’ अभियान चलाएको एमालेले लगत्तै प्रदेशका अधिवेशनहरू सम्पन्न गरेर पार्टी पंक्तिलाई चलायमान बनायो।
अहिले मध्यपहाडी भेगलाई केन्द्रमा राखेर संकल्प यात्रा तय गरेको छ।
मध्यपहाडी लोकमार्ग कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर जिल्ला भएर जान्छ। बागमती प्रदेशका सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक नुवाकोट, धादिङ जिल्ला जोड्छ।
गण्डकीको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङलाई समेट्छ। लुम्बिनीको पूर्वी रूकुम छुन्छ भने कर्णालीको जाजरकोट र दैलेखलाई जोड्छ। उता सुदूरपश्चिमका चार जिल्ला अछाम, डोटी, डडेलधुरा र बैतडीलाई यस लोकमार्गले समटेको छ।
२०७९ को प्रतिनिधि सभातर्फको निर्वाचनको मत विश्लेषण गर्दा २४ मध्ये १६ जिल्लाको समानुपातिक मतमा एमाले अगाडि देखिन्छ। कांग्रेस ६ जिल्लामा पहिलो छ भने माओवादी रूकुम र गोरखामा मात्रै अगाडि देखिन्छ।
अहिले एमालेले अभियानमार्फत् जोडिरहेको जिल्लाको समानुपातिक मत ६ लाख ७१ हजार २२७ छ।
यो मत भनेको नेकपा (माओवादी केन्द्र) ले प्राप्त गरेको मतभन्दा आधाले भन्दा पनि बढी हो। र, एमालेले आफैंले प्राप्त गरेको मतको २३.५८ प्रतिशत हो।
मध्यपहाडीले जोड्ने जिल्लाका प्रतिनिधिसभाका ३५ निर्वाचन क्षेत्रमध्ये एमालेले १० स्थान जितेको थियो। अर्थात् एमालेले अहिले आफ्नै मताधार भएको ठाउँमा अभियान सञ्चालन गरिरहेको छ।
यसका अतिरिक्त अभियानका दौरानमा केके दृश्य देखियो भनेर हामीले यहाँ विश्लेषण गरेका छौं।
प्रश्नविहीन हुन चाहन्छन् ओली
लोकतन्त्रमा नागरिकले उत्तरदायी शासक खोज्छन्, कार्यकर्ताले जवाफसहितको नेता।
तर, एमालेको हकमा यस्को ठ्याक्कै उल्टो छ। पाँच लाख बढी संगठित सदस्य, दुई दर्जन जनसंगठन, एक हजार हाराहारी प्रदेश सदस्य, तीन सय बढी केन्द्रीय सदस्य भएको एमालेमा प्रश्न मुर्झाउँदै गएको ओलीको उदयपछि नै हो।
प्रश्न गर्नेहरू पाखा लाग्दै गएका छन्। अहिले प्रश्नविहीनहरू नेता–कार्यकर्तालाई मात्रै पार्टी नेतृत्वले खास एमाले मान्छ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रश्नहरू छलेका छन्। जबकि एमालेले जनताका गुनासोमा पार्टीको नेतृत्वलाई उपस्थित गराउनकै लागि मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रा तय गरेको थियो।
कास्की अर्मलाकोट, कालीखोला पुल, महेन्द्रगुफा, चमेरे गुफा आदि ठाउँमा मानिसहरू ओलीकै पालामाा टुंग्याइएको मध्यपहाडी राजमार्गको रेखाङ्कनप्रति मन भाँचेर बसेका छन्।
भाँसिदै गएको जमिनमाथि राजमार्ग बनाउँदा थातथलो उखेलिने भयले उनीहरूलाई दपेटेको छ। ओलीले कम्तीमा आफ्ना पीडा सुनून् भन्ने उनीहरू चाहन्थे।
तर, एमालेको संकल्प यात्रा उनीहरूका पीरमर्का सुन्न खेतखलियानमा त पुगेन नै, दैलैछेउको बाटो छलेर लम्जुङ हानियो।
यद्यपि अर्मला छेउछाउका बासिन्दाले मुर्दावाद भन्दा पनि केपी बा भन्न छुटाएनन्। र त, जारी एमालेको दुई हजार किलोमिटर लामो मध्यपहाडी संकल्प यात्रा ‘बा ब्रान्डिङ’ कै निरन्तरताजस्तो देखिएको छ।
थप ब्रान्डिङका लागि हिँडेको ‘लङ मार्च’जस्तो देखिएको एमालेकै कतिपय नेताहरूको बुझाइ छ।
तल्लो तहसम्म जरा हालेको सांगठनिक संरचना र लेवी बुझाएर पार्टीको उद्देश्यप्रति इमानदार कार्यकर्ता पंक्ति आफ्ना घर–आँगनका समस्याको जानकार नहुने कुरै भएन।
आफू नगरपालिकाको मेयर पदमा बहाल रहँदै ८० लाख रूपैयाँ तिरेर छोरालाई तल्लोबाटो अमेरिका पठाउने एमालेका कार्यकर्ता स्वयमलाई थाहा छ, गाउँ निर्जन बन्दै गरेको कारण। उनीहरू राजमार्ग छेउछाउकै रित्ता गाउँका साक्षी मात्र छैनन्, भोक्ता पनि हुन्।
२०७८ मा महाधिवेशन गरेको नेकपा (एमाले)ले अहिलेसम्म ६ वटा केन्द्रीय कमिटी बैठक राखिसकेको छ। तर, केन्द्रीय सदस्यले नेतृत्वसमक्ष खुलेर कुरा राख्न पाएका छैनन्। सचिवालय, स्थायी कमिटीले गरेका निर्णयको अनुमोदनको प्रक्रिया पूरा गर्ने थलो मात्रै बनेको छ।
‘जुन पार्टीमा केन्द्रीय सदस्यले नेतृत्व पंक्तिले सुन्ने गरी बोल्न पाएका छैनन्। समूह छलफलको नाममा बैठकको औपचारिकता पूरा गरिन्छ। त्यो पार्टी पंक्तिले गाउँगाउँ गएर कसरी समस्यासँग अन्तरक्रिया गर्छ। यो त दैनिक ८० किलोमिटर यात्रा गर्ने र दुईवटा सभा भ्याउने संकल्पजस्तो मात्रै देखिएको छ,’ एक सदस्यले भने।
देउवासँग हेलो हाई, रावललाई उपेक्षा
एमाले अध्यक्ष ओली सामाजिक सञ्जालमा सक्रिय छन्। अन्तरक्रिया गरिरहेका छन्।
मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा अरू पदाधिकारी त के सामाजिक सञ्जालमा अभ्यस्त एमाले कार्यकर्ता पंक्तिभन्दा बढी ओली नै सक्रिय छन्।
बाग्लुङ, रोल्पा र पूर्वी रूकुमको सीमा पाती टिप्ने डाँडाको हिमस्याँठदेखि सिन्धुपाल्चोकको बाहुनेपाटी पुग्दा रमेश विकलकृत अविरल बग्दछ इन्द्रावतीसम्मको चर्चा गरेका छन्।
झुलाघाटदेखि सुरू भएको संकल्प यात्रामा उनले दिनहुँको यात्रा वृत्तान्त पस्किएका छन्। अन्तरक्रिया उल्लेख गरेका छन्।
डडेलधुराको गन्यापधुरामा बास बस्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरे। सञ्चो विसञ्चो सोधे। तर आफ्नै उपेक्षाका कारण टाढिएका भीम रावलको भने खोइखबरी गरेनन्।
मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा निम्तो नगरेपछि चिढिएका रावल समर्थकले संकल्प यात्रालाई अछाममा बिथोल्ने तयारी गरेको थियो।
केन्द्रीय सदस्य दयालबहादुर शाहीले सम्भावित दुर्घटना रोकेको फेसबुकमै लेखेका छन्। रावल समर्थकले ढुंगामुढासम्मको तयारी गरेको चाल पाएपछि अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले आफूलाई फोन गरेको उनले उल्लेख गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्–‘पदयात्राका दौरानमा सत्तापक्ष अछाममा तनाव सिर्जना गर्न रावल समर्थकलाई ढाल बनाएर सक्रिय रह्यो। यसबारे सूचना पाएपछि राजेश बज्राचार्यले १५ गतेका दिन डोटीमै छँदा मलाई जानकारी गराउनु भयो। यो मेरो गत फागुन देखिको पहलमा पानी खन्याउने तपाईंहरूको आत्मघाती कदम हुनेछ भनेर रावल समर्थकहरूका एक दर्जन अगुवा साथीहरूलाई फोन गरें। अछाम इन्चार्ज लालबहादुर थापा र जिल्ला अध्यक्ष चन्द बोहराको सुझबुझले पनि सम्भावित तनाव टर्यो। अछाममा एमाले घरझगडाको रमिता हेर्ने सत्तापक्षको रहर पूरा भएन।’
यसबारे हामीले भीम रावलनिकटस्थ एकिन्द्र कुँवरलाई पनि सोधेका थियौं। उनले संकल्प यात्रामा हिँडेको एमाले पंक्तिलाई अछाम र दैलेखको सीमा राकम कर्णालीमा अवरोधको तयारी गरेको स्वीकार गरे। पछि रावलले ‘जिल्ला आएका अध्यक्षलाई दुर्व्यवहार गर्ने दिशामा नजाऔं’ भनेपछि संकल्प यात्रालाई अवरोध गर्ने तयारीबाट पछि हटेको उनले बताए।
नागरिकका सुख–दुःख जोड्ने संकल्प यात्रामा आफ्नै नेता छुटेको एमालेको दोस्रो पंक्तिले पनि निको मानेको छैन। प्रश्नसहितका नेता–कार्यकर्ता नअटाउने भएपछि खुलेर बोल्न सक्ने नेताहरूको पनि एमालेमा अभाव छ। यति हुँदाहुँदै यात्राको सकारात्मक पक्ष नभएका होइनन्।
सहरी क्षेत्रलाई छाडेर हेर्ने हो भने मध्यपहाडी लोकमार्ग आसपासका गाउँहरू निर्जन बन्दैछन्। सुविधाको खोजीमा सहर पस्नेको जमातले राजमार्ग सुनसान छ। ट्र्याक जोडिरहेका ठाउँमा मात्र होइन, कालोपत्रे भइसकेको ठाउँमा पनि बजार बन्न सकेको छैन।
ती ठाउँको सम्भावना उजागर गर्न, मध्यपहाडी राजमार्गलाई नै चर्चामा ल्याउन संकल्प यात्रा फलदायी भइरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
‘सामान्य सडकको समेत परिकल्पना नगरिएको ठाउँमा डबल लेनको राजमार्ग पुगेको छ। तथापि जति हुनुपर्ने हो प्रचार भएको छैन,’ उनले भने, ‘ठाउँ विशेषको चिनारी र समस्याको उजागर र सम्भाव्यता पहिचानका लागि संकल्प यात्रा उपलब्धीमूलक भएको छ,’ उनले भने।
त्यसो त मध्यपहाडी राजमार्गकेन्द्रित अभियान एमालेले मात्रै चलाएको होइन।
नयाँ शक्ति पार्टीका संयोजक हुँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मध्यपहाडी राजमार्गको रेखाङ्कित बाटो छिचोलेका थिए। २०७५ माघ १५ देखि फागुन १५ गतेसम्मको एक महिना लामो यात्राका क्रममा बाबुराम भट्टराईले पनि समस्या नऔंल्याएका होइनन्। तर, ती समस्याले समाधानको दिशा पकडेनन्।
मध्यपहाडी राजमार्गको एलाइन्मेन्ट (अवस्थिति) नेताहरूले आफ्नो पायक र सुविधाका आधारमा तन्काएको उनले त्यतिबेलै पहिचान गरेको समस्या हो। जुन एमालेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालले संकल्प यात्राको रूट अवलोकनका क्रममा पनि देखेका थिए।
‘समग्र बाटो अध्ययन गरेर आइसकेपछि हामीले यो लोकमार्गका धेरै ठाउँहरूमा नयाँ ढंगले नक्सांकन र कतिपय ठाउँमा अवस्थिति मिलाउनुपर्ने अवस्था रहेको निष्कर्ष निकालेका छौं,’ उनले त्यतिबेला भनेका थिए, ‘जति छोटो दुरीमा जति धेरै भूभाग समेटेर जान सकिन्थ्यो, कतिपय ठाउँमा पहिले बनेका बाटालाई राजमार्गसँग जोड्न, त्यसैलाई राजमार्गको अंग बनाउन खोज्दा बाटो तन्किएको र अनावश्यक लामो बन्न पुगेको छ।’
जारी यात्राले राजमार्गको दूरी छोट्याउन सघाउने एमालेले बताएको छ। राजमार्गको अहिलेको दूरी १ हजार ८७९ किलोमिटर कायम रहेको छ। पुलहरूको संख्या थपेर र कतैकतै सुरूङ मार्ग निर्माण गरेर पनि राजमार्गको दुरी छोट्याउन सकिने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
एमालेको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान राजनीतिक सौहार्दताको द्योतक पनि बनेको छ। डडेलधुरामा ओली आफैंले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई फोन गरेर हार्दिकता साटे।
भूकम्पले क्षतविक्षत जाजरकोट पुगेका ओलीलाई माओवादी केन्द्रका उपमहाचिव जनार्दन शर्माले पुष्पगुच्छा थमाएर स्वागत गरे। लम्जुङको सुन्दरबजारमा नेपाली कांग्रेसबाट मेयर निर्वाचित कृष्णप्रसाद कोइरालाले आतिथ्यता प्रकट गरे। सिन्धुपाल्चोकको बलेफीमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेलले स्वागत गरेका थिए।
अभियानका क्रममा जाजरकोट, दैलेख, गोरखा लगायतका जिल्लामा सर्वदलीय छलफल भयो। यस्ता गतिविधिले समस्या समाधानमा साझा पहलकदमीको संस्कृति विकास हुने एमालेले बताएको छ।
पार्टीमा निर्विकल्प ओली
मंसिर १४ गते झुलाघाटबाट सुरू भएको यात्राले सोमबार ११ दिन पूरा गरेको छ। यो अवधिमा साना–ठूला दुई दर्जन सभा भएका छन्।
यी सबैमा वक्ता ओली मात्रै हुन्। स्थानीय पार्टी कमिटीका तर्फबाट संकल्प यात्राका सहभागीहरूलाई स्वागत गर्दै नेतालाई आशन ग्रहण गराउँछन्। अध्यक्ष ओलीले मात्रै सभालाई सम्बोधन गर्छन्। पदाधिकारीहरू उनै ओलीको भाषण सुन्छन्, ताली बजाउँछन्।
अर्थात् संकल्प यात्राको केन्द्रमा ओली मात्रै छन्।
‘संकल्प यात्रामा देखिएको दृश्य भनेकै अध्यक्ष ओलीप्रतिको आकर्षण हो। अध्यक्ष ओलीको भाषण सुन्न, उनलाई फूल दिन, माला लगाउन, उनीसँग फोटो खिचाउन ५–६ किलोमिटरदेखि हिँडेर मानिसहरू आएका छन्। उनीबाहेक अरू नेतामा आकर्षण देखिएन,’ एक केन्द्रीय सदस्यले बताए।