उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच छाड्ने/नछाड्ने भन्ने विषयमा राय बाझिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्नेछ।
न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका हुन्।
उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दिपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जन र रामशरण केसीसँग १५ -१५ लाख रुपैयाँ धरौटी माग गरेको हो।
यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ। पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।
लक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
यसअघि जिल्ला अदालतले लक्ष्मी महर्जनसँग ५ लाख, टंक गुरूङसँग १० लाख र केशव तुलाधरसँग १५ लाख धरौटी माग गरेको थियो। जिल्लाको आदेश बदर गर्दै उनीहरू तीनै जनालाई पनि अदालतले साधारण तारेखमा राख्न आदेश दिएको हो।
यस्तै आशिष बुढाथोकीलाई पुर्पक्षको लागि जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षको लागि साधारण तारेखमा छाड्न आदेश दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। जसमध्ये १० जना फरार छन्।
यो पनि: नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै