राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसकेन्द्रित गतिविधिलाई ह्वात्तै बढाएको छ। रास्वपाले महोत्तरी सदरमुकाम जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरिरहेको छ।
तीन दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक र वैचारिक बाटो तय गर्ने रास्वपाले जानकारी दिएको छ।
पार्टी गठनको १७ महिनासम्म राजनीतिक वैचारिक कार्यदिशा तय गरिनसकेको रास्वपाको यो विस्तारित बैठक नीति र विचार निर्माणका दृष्टिले कोशेढुंगा हुने दाबी गरिएको छ। अर्थात् पार्टीमा देखिएको राजनीतिक र वैचारिक कार्यदिशाको रिक्तता यो बैठकले पूर्ति गर्नेछ।
‘जलेश्वरको यो बैठकले पार्टीको दीर्घकालीन नीति तय गर्नेछ,’ पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले सेतोपाटीसँग भने।
केन्द्रीय समितिको बैठक सुरू गर्नुअघि रास्वपाले तीन मधेसका विभिन्न ठाउँमा सभाको आयोजना गरेको थियो। अधिकांश सभामा पार्टी सभापति रवि लामिछाने आफैं पुगेका थिए।
सम्बोधनका क्रममा सभापति लामिछानेले पार्टीलाई त्यहाँका मधेसका मुद्दा र सरोकारसँग जोड्ने प्रयास गरे। सोमबार बिहान सभापति लामिछाने धनुषा र सिरहा जोड्ने कमला पुलछेउ पुगेर सभालाई सम्बोधन गरेका थिए।
पप्पु कन्स्ट्रक्सन हुँदै लुम्बिनी विल्डर्सले बनाएको पुल २०७८ असारमा भाँचिएको थियो। पुल अहिले पनि भाँचिएकै अवस्थामा छ।
कमजोर संरचनना बनाउने ठेकेदारलाई कारबाही नभएकोतर्फ संकेत गर्दै सोमबार लामिछानेले भने, ‘यदि हाम्रो सरकार बनेको अवस्था हुन्थ्यो र यो पुल यस्तो अवस्थामा हुन्थ्यो भने, यो पुलको ठेक्का लगाउने, यसलाई पास गर्ने र बनाउने मानिसहरू जेलमा हुन्थे, कुनै राजनीतिक दलमा होइन।’
उनले मधेसका समस्यामा टुलुटुलु हेरेर नबस्ने बताए। हुलाकी राजमार्ग वर्षौंदेखि पूरा नभएको र यो जोड्नेबित्तिकै मधेसका धेरै सपना पूरा हुने भन्दै यसमा रास्वपा लागि पर्ने उनले बताएका थिए।
लामिछानेले मधेस आफ्ना मुद्दामा एक्लै पर्दै आएको बताए। र, त्यही चिर्न आफू मधेस झरेकोसमेत बताए।
‘मधेसका मुद्दा मधेसले मात्रै उठाउने, पहाडका मुद्दा पहाडले मात्रै उठाउने, हिमालको मुद्दा हिमाले मात्रै उठाउने र राजनीतिक रोटी सेकिरहने कामका कारण देशको मुद्दा बनाउन सकेनौं। मधेसलाई देशको मुद्दा बनाउन सकेनौं,’ उनले भने, ‘मधेसका मुद्दा उठाउनका लागि मधेसमै जन्मिएको, हुकिएको बढेको हुनुपर्छ भन्ने छैन। पहाड, हिमाल जहाँ जन्मिएको भए पनि मधेसका मुद्दालाई उठाउनका लागि हामी तयार छौं। हामी प्रतिबद्ध छौं।’
रास्वपाका केन्द्रीय सदस्य मनिष झाले मधेसमा पार्टीलाई बलियो बनाउन गतिविधि केन्द्रित गरेको बताए। मधेसका पनि ओझेलमा परेका क्षेत्रहरूलाई प्रकाशमा ल्याउन त्यहाँ बैठक, भेलाहरू राखिएको बताए।
‘एउटा गढी, मन्दिरले सहर नै निर्माण गरेको हुन्छ। हामीले पनि राजनीतिक गतिविधि गर्दा त्यो ठाउँको बारेमा धेरैलाई जानकारी पुग्न सक्छ। त्यसैकारण हामीले जलेश्वर रोजेका हौं। अर्को, रास्वपाको उपस्थितिलाई बलियो बनाउन पनि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखेका हौं,’ उनले भने।
उनले मधेसको गरिबी, अभावमा पनि पार्टीलाई पुर्याएर त्यहाँका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताए। त्यसका लागि जारी बैठक सहयोगी बन्ने विश्वास पनि व्यक्त गरे।
एक वर्षअघि भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले ११ लाख ३० हजार ३४४ मत ल्यायो। सत्तासीन माओवादी केन्द्रभन्दा ४५ हजार ३४० मतले मात्रै पछि पर्यो।
समग्र परिणामअनुसार चौथो, कोशी, बागमती, गण्डकी, लुम्बिनीमा तेस्रो बनेको रास्वपा सुदूरपश्चिम र कर्णालीमा पाँचौं बनेको थियो। मधेसभरिबाट ७२ हजार ९३५ मत ल्याएर आठौं बनेका थियो।
त्यसकारण पनि उसलाई मधेसमा संगठन विस्तार गर्न चुनौती छ। त्यो चुनौती पन्छाउन र मधेसका मुद्दासँग पार्टी–संगठनलाई एकाकार बनाउन पनि जलेश्वरमा बैठक राखिएको नेताहरूले जानकारी दिएका छन्।
यसबाहेक जारी बैठकले महाधिवेशनको कार्यदिशा पनि तय गर्ने छ।
२०७९ असार ७ गते घोषणा भएको रास्वपा १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। आगामी मंसिरसम्म महाधिवेशन सुरू गर्नुपर्ने दबाबमा छ रास्वपा।
उसले मंसिरबाट प्रक्रिया सुरू गर्ने बताएको छ। केही अघि वडा तहको अधिवेशनको कार्यतालिका निकालेको रास्वपाले जारी बैठकमा महाधिवेशनको प्रक्रियाबारे पनि छलफल गर्ने बताएको छ।
रास्वपाको नीति तथा विचार विभागले पार्टीको राजनीतिक, वैचारिक खाका कोरेको छ। महामन्त्री मुकुल ढकाल, केन्द्रीय रमेश प्रसाईं र संगठन विभाग सचिव कमल सुवेदीले कोरेको ‘संवैधानिक समाजवादी विचारधारा’को मस्यौदा पार्टीभित्र विवाद भयो।
पछि कार्यदललाई विस्तार गरेर चरणचरणमा छलफल चलाइरहेको रास्वपाले जारी बैठकबाट त्यसलाई पूर्णता दिने लक्ष्य राखेको छ।