मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरहरूले सिफलचौरमा प्रदर्शन सुरू गरेका छन्। प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए।
‘नागरिक बचाउ अभियान’को नेतृत्व गर्दै आएका प्रसाईं पक्षधरले बिहीबारदेखि प्रदर्शन सुरू गरेका हुन्।
बिहीबार उनीहरूले बल्खुमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो।
दोस्रो दिन, शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले धरपकड गरेको थियो।
शनिबारको प्रदर्शनमा दुर्गा प्रसाईं पनि सरिक भएका छन्। उनी सुरक्षा घेरामा सिफलचौर पुगेका हुन्। उनले सरकारले आफूलाई नजरबन्दमा राखेको आरोप लगाएका थिए। तर, प्रशासनले भने नजरबन्दमा नराखेको बताएको थियो।
बिहीबारको तुलनामा आज प्रदर्शनकारीको संख्या घटेको छ। वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने आशामा आफूहरू प्रदर्शनमा सरिक भएको सहभागीहरूले बताएका छन्।