हात पाखुरा चलाउन सक्ने भएदेखि नै होपना बास्केको दिन माटोसँग खेलेरै बितेको छ। घामपानी नभनी दिनरात कठोर शारीरिक श्रममा जोतिएकै कारण उनी उमेरभन्दा निकै पाका र बूढा देखिन्छन्।
तपाईंको उमेर कति भयो? कसैले यो प्रश्न सोधे उनी नागरिकता हेर्नुपर्ने बताउँछन्।
सेतोपाटीले उमेर सोधेपछि पनि उनी ‘मलाई त उमेर पनि थाहा छैन हौ’ भन्दै घरभित्र छिरे अनि नागरिकता ल्याएर देखाए। जिल्ला प्रशासन कार्यालय झापाले दिएको नागरिकताको प्रमाण अनुसार उनी ५० वर्ष मात्र पुगेका रहेछन्।
आलु रोप्न बारी तयार पार्दै थिए। बाक्लोसँग माटो कटकटिएको हातगोडा लिएर कुराकानी गर्न उनी तम्तयार भए।
डेढ बिघा जमिनमा खेतीपाती गरेर १२ जनाको परिवार धान्दै आएका छन् उनले। धान पाक्ने बेला उनको व्यस्तता बढ्छ।धान थन्क्याउने, खाली भएको जमिन खनजोत गर्ने र माटो तयार भइसकेको ठाउँमा आलु रोप्नु उनको अहिलेको दिनचर्या हो।
‘धानपछि हामीले सबैभन्दा धेरै फलाउने नै आलु हो,' झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ मा पर्ने सिसौडाँगी बस्तीका बासिन्दा होपना भन्दैथिए ‘धानले वर्षभरि खान पुग्दैन। तर, आलुले राम्रै भरथेग गर्छ। त्यही भएर हामी परिवारै अहिले यसैमा खटिन्छौं।’
परिवारका सबैजसो सदस्य खेतमै खटिन पाउने सुविधा उनलाई यसपटक भने उपलब्ध छैन।
किनभने तीन जना स्कुले नानीहरू गएको असारदेखि विद्यालय जान पाएका छैनन्।
‘घर नजिकै मेची खोला छ, खेल्दाखेल्दै कुनबेला उनीहरू त्यहाँ पुग्छन् भन्ने टुंगो हुँदैन,’ होपनाले बाध्यता सुनाए ‘अस्ति असारदेखि नानीहरूको स्कुल बन्द छ। त्यही बेलादेखि दुई जना बुहारीले नानीहरू हेरचाह गर्नुपर्छ। काममा निस्किन पाएका छैनन्।’
साहुको जमिनमा अँधिया खेती गरेर जीवन धान्दै आएको सीमान्त समुदायको यो बास्के परिवारका सदस्यहरूमा नानीहरू स्कुलमा भुले सबैले खेतमा काम गर्न पाइने लोभ प्राथमिकताको पहिलो नम्बरमा छ।
हुर्कंदो उमेरका छोराछोरीले पढ्न नपाएको चिन्ता त्यसपछिको नम्बरमा आउँछ।
त्यसो त यतिबेला विद्यालय तहका बहुसंख्यक विद्यार्थी लामो पर्व बिदाको रमाइलोमा छन्। धेरैतिर दसैंको घटस्थापनादेखि छठसम्मै बिदा दिइएको छ। त्यसैले लामो बिदाको रमाइलोले धेरै विद्यार्थीलाई फुर्सदिलो पारेको छ।
तर, सिसौडाँगी र यही बस्तीको छिमेकी बस्ती ग्वालबस्तीका विद्यार्थीले यस्तो ‘रमाइलो’ भोगेको पाँच महिना भइसकेको छ।
‘गाउँको स्कुलमा मास्टर आउन छाडेपछि स्कुल नै बन्द भयो। हाम्रा नानीहरू घरको घरैमा रहे,' होपनाकी दिदी सोना बास्केले थपिन् ‘मास्टर नै नभएपछि कसले पढाउने, त्यही भएर स्कुल बन्दको बन्द नै छ।’
सिसौडाँगी र ग्वालबस्ती मेचीपारीका दुई नेपाली गाउँ हुन्, जहाँ सन्थाल, यादव र पाहान समुदायका ४५ परिवारको बसोबास छ।
उनीहरूका लागि गाउँमा रहेको मेची प्राथमिक विद्यालय सन्तान पढाउने ठाउँ मात्रै थिएन। यो विद्यालय उनीहरू सामु राज्यको एक्लो प्रतिनिधि पनि थियो।
२०५७ सालमा स्थापना भएको विद्यालयमा बालकक्षादेखि कक्षा दुईसम्म पढाइ हुन्थ्यो। अस्थायी, करार जस्ता दरबन्दीमा बल्लतल्ल आइपुग्ने शिक्षक वर्षका धेरैजसो दिन गयल हुँदा पनि निजी स्रोतबाट राखिएका विद्यालय सहयोगीले विद्यार्थी अल्मल्याउने गरेको स्थानीय अभिभावक बताउँछन्।
करिब २० जना विद्यार्थीले विद्यालयमा केही न केही सिक्ने मौका पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमुल यादवले पनि बताए।
‘विद्यालयमा दरबन्दीका शिक्षक थिएनन्, करार वा अन्य दरबन्दीका शिक्षक आउने र आयोग पास गरेपछि हिँडिहाल्ने चलनको मारमा स्कुल परेको छ,' यादवले भने ‘गएको असारसम्म त शिक्षक आउने र जाने भइरहेको थियो। तर, अन्तिममा आएका एक जना शिक्षकले स्थायीमा नाम निकालेर हिँडेपछि हाम्रो स्कुल शिक्षकविहीन भयो। त्यहाँदेखि स्कुल बन्दको बन्द नै छ।’
शिक्षक अभावले विद्यालय बन्द हुँदा यहाँका फराकिलो कक्षा कोठालाई गाउँकै एक जना बाख्रा व्यापारीले खोरमा परिणत गराएका रहेछन्। केही दिनअघि गाउँलेहरूले विरोध गरेपछि ती व्यापारीले बाख्रा राख्न बन्द गरेका छन्। तर, विद्यालय परिसर अहिले पनि बाख्राको फोहोरको दुर्गन्धले ढाकिएको छ।
‘अब सरसफाइमा लाग्दैछौं,' बाख्राको खोर जस्तै बनेको कक्षाकोठा देखाउँदै अध्यक्ष यादवले भने ‘नगरपालिकामा गएर शिक्षक मागेका छौं। मेयरले पठाइदिने वचन दिनुभएको छ।’
उनलाई नगरपालिकाले शिक्षक पठाइदिने आश्वासन दिए पनि नगर भने अहिले नै शिक्षक पठाइहाल्ने तयारीमा रहेको देखिँदैन।
मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकीका अनुसार मेचीपारीका यी दुई गाउँका विद्यार्थीका लागि स्थापित मेची प्राथमिक विद्यालय असारदेखि बन्द रहेको जानकारी नगरलाई छ। तर, विद्यार्थी अभाव, शिक्षककै पनि अभावले त्यहाँको आवश्यकता टार्न केही ढिलाइ भएको उनी बताउँछन्।
‘त्यहाँ शिक्षक नभएर स्कुल बन्द भएको हो कि विद्यार्थी नै पनि नभएका हुन् भन्ने हामी अध्ययनकै क्रममा छौं,' मेयर बुढाथोकीले भने ‘विगतमा विद्यार्थीको गलत तथ्यांक पेश गरेको उजुरी आएको थियो। त्यसैले हामी बुझ्दैछौं।’
मेयर बुढाथोकीका अनुसार नगरपालिकाले केही समयअघि एक जना सहयोगी कार्यकर्ता (बाल शिक्षक) को परीक्षा लिएर त्यही विद्यालयमा खटाउन ठिक्क पारेको छ।
‘अहिले तत्कालै सहयोगी कार्यकर्ता पठाउने र विद्यार्थी आउँदै जान थालेपछि शिक्षक पनि पठाउने नगरको योजना छ,' उनले भने ‘हामी सहयोगी कार्यकर्ता छिट्टै पठाउने तयारीमा छौं।’
मेयर बुढाथोकीले सहयोगी कार्यकर्ता पठाउने योजना रहेको बताए पनि त्यो परीक्षा भने विवादित बनेको छ। नगरबाट मेची प्राविको पनि प्रशासन हेर्दै गर्ने जिम्मा पाएका मेची वारीको अर्को स्कुलका प्रधानाध्यापककै छोरीलाई परीक्षामा उत्तिर्ण गराइएको भन्दै अन्य प्रतिस्पर्धीले विरोध गरिरहेका छन्। त्यसैले बाल शिक्षक आउने नआउने टुंगो पनि लागिसकेको छैन।
मेची पारीका स्थानीयबासी भने विद्यालय बन्द हुँदा स्कुल जाने उमेरका धेरै बालबालिका लेखपढ गर्ने आधारभूत अधिकारबाटै वञ्चित भएको बताउँछन्।
कक्षा दस पढ्दा–पढ्दै पढाई छाडेर डकर्मी पेशा गर्दै आएका सिसौडाँगीका २९ वर्षीय लख्खीराम बास्के गाउँका विद्यार्थीको पढ्ने अधिकार खोसिएको बताउँछन्।
‘कक्षा दुईभन्दा माथि पढ्ने धेरै विद्यार्थी यतिबेला भारतीय स्कुलतिर गएका छन्, कोही मेची तरेर नेपालकै स्कुल पनि गएका छन्,' उनले भने ‘मेरै पाँच वर्षको छोरालाई पनि भारतकै स्कुल पठाएको छु। तर, यहाँ बाल कक्षा, एक र दुईमा पढ्ने नानीहरूले पढ्न पाएनन्। यो अन्याय भएको छ।’
आफ्नो ससुराली नजिकैको भारतीय बस्तीमै भएकाले छोरो पढाउन सजिलो भएको उनले सुनाए।
‘मेरो छोरो मावलमै बसेर त्यहीँको स्कुल जान्छ। अरूले त दिनहुँ ल्याउने र लाने गर्न सक्दैनन्’, लख्खीरामले भने ‘मेची खोला तरेर पठाउन पनि सकिँदैन। त्यसैले साना कक्षामा पढ्ने धेरै विद्यार्थी स्कुल जानबाट वञ्चित छन्।’
लख्खीरामले भने जस्तो गाउँको स्कुल बन्द भएर जसरी यहाँका कलिला बालबालिका अन्यायमा पारिएका छन्, त्यसरी नै राज्यले देखेको नदेख्यै गरेर यी दुई बस्ती दशकौंदेखि अन्यायमा पारिएका छन्।
यही विभेदको परिणाम हो, यी दुई बस्ती यहाँ बसेको डेढ सय वर्षभन्दा लामो समयमा यहाँबाट एसएलसी पास गर्ने जम्मा एक जना छन्।
‘मेरो परिवारको चार पुस्तादेखि यही बस्तीमा छौं,’ ग्वालबस्तीका पाका जयराम यादव भन्छन् ‘त्यसैले यहाँ डेढ सय वर्षदेखि हाम्रो बसोबास हो।’
उनका अनुसार पहिले धेरै पर रहेको मेची नदीले कटान गर्दै गयो। भारतीय पक्षले पनि आफ्नोतिर पक्की बाँध बनायो। अहिले खोला नेपाली बस्तीलाई पारी छाडेर बग्न थालेको जयरामको अनुभव छ।
७१ वर्षे जयरामका अनुसार उनले थाहा पाएदेखि नै यो बस्ती मेची पारी थियो। गाउँलेले आवतजावतमा कठिनाइ भएको भन्दै मेचीमा पुल बनाइदिन माग गरेको दशकौं बितेको उनी बताउँछन्। तर, अहिलेसम्म मेचीमा पुल बनाउने विषय सरकारी प्राथमिकताको सूचीमै छैन।
मेयर बुढाथोकीका अनुसार मेचीमा झोलुङ्गे पुल हाल्ने योजनाको प्रस्ताव संघ सरकारलाई पठाइएको छ। तर, सरकारले बजेट नदिँदा त्यो योजना पनि कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ।
‘नगरको मात्रै क्षमताले नपुग्ने अवस्था हुन्छ,' उनले भने ‘संघलाई अनुरोध गरेको गरेकै छौं। अहिलेसम्म बजेट दिएको छैन।’
खोला तरेर नेपाली भूभाग पुग्न सकस पर्दा सबैभन्दा धेरै पीडा बिरामी भएका बेला भोगिने स्थानीय बताउँछन्।
‘हिउँदमा यहाँबाट स्वास्थ्य चौकी पुग्न सजिलै हुन्छ, १० किलोमिटर हिँडेपछि पुगिन्छ,' लख्खीरामले भने ‘तर, खोला बढेका बेला भारत नगई सुखै छैन।’
भारतीय स्वास्थ्यचौकीमा नि:शुल्क उपचार गर्न भारतीय आधार कार्ड वा अन्य परिचय खोज्ने भएका कारण शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
‘यहाँ सबै अर्काको जग्गा कमाएर, मजदुरी गर्नेहरू छौं,' लख्खीरामले भने ‘यस्तो अवस्थाको हामीले पैसा तिरेर उपचार गर्न र अन्य सेवा लिन गाह्रो छ।’
स्थानीयबासीलाई सबैभन्दा पीडा त त्यसबेला हुन्छ, जब नजिकै रहेका भारतीय किसानले सरकारबाट सित्तैमा सिँचाइका लागि बोरिङ पाउँछन्। मलखाद्य, बिउबीजन, सौर्य ऊर्जाका सेटहरू निःशुल्क पाउँछन्।
होपना बास्केले ५० हजार खर्च गरेर सौर्य ऊर्जा जडान गरेका छन्। बिजुलीबिहीन गाउँमा विद्युत विस्तारको योजना सुनेको धेरै भए पनि अहिलेसम्म गाउँका १६ परिवारमध्ये धेरैले टुकीको सहारामा अन्धकारसँग जुध्ने गरेका छन्।
दुई वर्षअघि ग्वाल बस्तीसम्म विजुली आइपुगेको छ। तर, सिसौडाँगीसम्म त्यो सुविधा विस्तार भइसकेको छैन। गाउँलेले विद्युत विस्तारको माग गर्दै नगरपालिका र प्राधिकरण धाएको धेरै भइसकेको छ। तर, यहाँको अन्धकार टुकीले झेल्नुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ टुंगो छैन।
‘धान र आलु बेचेर मैले सोलार जोडें, २३ हजार खर्च गरेर बोरिङ मेसिन किनेँ,' होपनाले भने ‘यही सोलार र बोरिङ मात्रै सरकारले दिएको भए धेरै सजिलो हुन्थ्यो।तर, हामीलाई त्यस्तो सुविधा दिन्छु भन्ने कोही छैन। वडाध्यक्षदेखि मेयर कसैलाई पनि हामीले चुनाव अघिपछि यहाँ देख्न पाउँदैनौं।’
स्थानीयबासीका अनुसार राज्यको उपस्थिति मेचीवारि सशस्त्र प्रहरी राखेर दर्शाउन खोजिएको छ। तर उनीहरूले सास्ती दिने गरेको उनीहरू बताउँछन्।
‘हामीले फलाएका अन्नपात र तरकारी बेच्न भद्रपुर, चन्द्रगढी लिएर जान्छौं, त्यसबेला मेची किनारमा बस्ने प्रहरीले कहाँबाट ल्याएको, तस्करी गरेर ल्याएको हो भनेर दुःख दिन्छन्,' ग्वालबस्तीका एक स्थानीयबासीले भने ‘बरू भारतीय सुरक्षाकर्मीले सजिलै भारतीय बजार पुर्याउन दिन्छन्। नेपाली बजार पुर्याउन चाहीँ नेपाली सुरक्षाकर्मीकै कारण असहज छ।’
यसरी राज्यले दिएको नागरिकता बोकेर बसेका यहाँका सर्वसाधारण नागरिकले पाउने न्यूनतम सेवा सुविधाका लागि पनि वर्षौंदेखि तड्पिरहेका छन्।
जेठ महिना सुरू भएपछि जसै मेची खोलामा पानीको सतह बढ्दै जान्छ, यी दुई गाउँका बासिन्दाको नेपालसँगको सम्पर्क पनि बिच्छेद हुँदै जान्छ।
‘जेठदेखि सुरू हुने यो क्रम असोज–कात्तिकसम्मै कायम हुन्छ,' लख्खीराम बास्केले भने ‘त्यसैले हामीले हाम्रो नगरपालिका वा वडा कार्यालय पुग्न पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ। हिउँदमा खोलामा पानी घटेपछि मात्रै हामीले नेपालै नेपाल हिँड्न पाउँछौं।’
मेचीनगर १५ का अन्य टोलका बासिन्दाहरू मेचीपारिका दुई गाउँ राज्यको चरम विभेदमा परेको बताउँछन्।
‘मेचीपारिका दुईटा नेपाली बस्तीका मान्छे ज्यादै असहज अवस्थासँग जुधेर बसेका छन्,' स्थानीय युवा चेतन विष्ट भन्छन् ‘उनीहरूलाई कम्तीमा बिजुलीको उज्यालोमा बस्ने, पुलबाट खोला तर्ने, गाउँमा प्राथमिक उपचार पाउने र बालबालिकाले गाउँमै पढ्ने सुविधा पाउनुपर्छ। त्यति पनि सुविधा दिन नसक्ने हो भने सीमान्त समुदायका नागरिकमाथि राज्यले गरेको अकल्पनीय अन्याय हुनेछ।’