रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनाव लड्ने भएका छन्।
समाचार संस्था रोयटर्सले ६ जना स्रोतसँग कुराकानी गर्दै सोमबार छापेको समाचारअनुसार सन् २०३० सम्म शक्तिमा रहने गरी पुटिन चुनाव लड्न लागेका हुन्।
पुटिन गत अक्टोबर ७ मा ७१ वर्षका भए।
रोयटर्सका अनुसार पुटिनका सल्लाहकारहरू निर्वाचनको तयारीमा लागिरहेका छन्।
पुटिनका लागि राष्ट्रपतीय चुनाव आधिकारिकता मात्रै हुने र यदि चुनाव लडे उनी जित्ने निश्चित नै रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।
पुटिन सन् १९९९ देखि निरन्तर सत्तामा छन्। उनी रूसको इतिहासमा सबैभन्दा लामो सरकार चलाउने नेता समेत बनेका छन्।
पुटिन सन् १९९९ देखि २००० सम्म प्रधानमन्त्री भएका थिए।
राष्ट्रपतिको रूपमा उनको पहिलो कार्यकाल सन् २००० देखि २००४ सम्म र सन् २००४ देखि २००८ सम्म दोस्रो कार्यकाल थियो।
सन् २००८ देखि २०१२ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए।
सन् २०१२ मा पुन: उनी २०१८ सम्म तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका थिए। सन् २०१८ देखि अहिलेसम्म चौथो कार्यकालका लागि राष्ट्रपति भएका छन्।