कात्तिक १ गते बुधबार कोशी प्रदेश सभाबाट भारी बहुमतसहित विश्वासको मत पाएपछि मुख्यमन्त्री केदार कार्की हर्षित थिए। प्रदेश सभाबाट बाहिर निस्कँदै गर्दा उनी सबैको बधाई थापिरहेका थिए।
त्यसबेला आफूलाई मुख्यमन्त्री बन्न सघाउने एमालेका सांसदहरूप्रति कार्की बढी नै कृतज्ञ देखिन्थे। एमालेका हरेक सांसदलाई उनी दश औंला जोडेर धन्यवाद ज्ञापन गरिरहेका थिए। त्यहीक्रममा मुख्यमन्त्री कार्की एमाले सांसद सिर्जना राई नजिकै पुगे।
पहिले दलको सचेतक रहेकी उनी हिक्मत कार्की सरकारमा १२ दिन राज्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री कार्कीलाई उनले त्यहीँ भनिन्, ‘तपाईं चाहिँ प्रचण्डजस्तो नहुनु नि फेरि!’
जवाफमा मुख्यमन्त्री कार्कीले हाँस्दै ‘यहाँ त्यस्तो हुँदैन’ भनेका थिए।
प्रधानमन्त्री बन्ने बेलामा एमालेको साथ लिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति चुनावसम्म पुग्दा एमालेसँगको सहकार्य तोडेर चुनावी गठबन्धनमै फर्केका थिए। उनको त्यो कदमले एमालेलाई संघदेखि प्रदेशहरूसम्मै विपक्षमा पुर्याएको थियो।
यसपटक प्रदेशमा पनि कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई एमालेले मुख्यमन्त्री बन्न काँध हालेको थियो। असोज २७ मा गठबन्धनको निर्णयलाई चुनौती दिएर कार्की मुख्यमन्त्री बनेपछि उनको दल कांग्रेसहितका गठबन्धनका दलहरूले उनलाई मुख्यमन्त्री स्वीकार्दै विश्वासको मत दिने बताएका थिए।
जसै दलहरूले त्यस्तो तयारी गरे, एमाले संशकित बन्यो। विश्वासको मत दिने दिनसम्म आइपुग्दा एमालेलाई झस्काउने गरी राप्रपाबाहेक अरू सबै दलले कार्कीलाई मत दिए। त्यही शंकाकै कारण एमाले सांसद राईले ‘प्रचण्ड जस्तो नहुनु’ भनेर मुख्यमन्त्री कार्कीलाई सजग गराएकी थिइन्।
सांसद राईले त्यसो भनेको ठ्याक्कै १७ दिनपछि शुक्रबार मुख्यमन्त्री कार्कीले गठबन्धन दलका दुई जनालाई मन्त्रिपरिषदमा सामेल गराएका छन्। त्यो पनि आफूलाई मुख्यमन्त्री बनाउने दल एमालेको सहमति बेगरै।
एमालेले मुख्यमन्त्रीसँगको पछिल्लो छलफलमा गठबन्धनका अरू दललाई सरकारमा ल्याए पनि माओवादीलाई भने ल्याउनै नहुने अडान राखिरहेको थियो। केन्द्रको गठबन्धन प्रदेशमा लागु भए आफू सरकारमा नबस्ने एमालेले चेतावनी दिँदै आएको थियो।
मुख्यमन्त्री कार्कीले एमालेको सो अडान र आग्रहविपरीत माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रिमण्डलमा सहभागी गराएका छन्। आफ्नो सहमति बेगरै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउने मुख्यमन्त्रीको कदमबाट एमाले क्रुद्ध बनेको छ।
‘प्रदेश मन्त्रिपरिषदमा गठबन्धनका दलहरू पनि सामेल हुने भएछन्, तपाईंहरूसँगको सल्लाहमै यस्तो निर्णय भएको हो?’, भनेर सेतोपाटीले एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीलाई सोधेको थियो।
उनले ‘हो र?’ भन्दै आश्चर्य प्रकट गरेका थिए।
‘यो कुरा अहिले तपाईंहरूबाटै म थाहा पाउँदैछु’, पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘यदि त्यसरी सरकार विस्तार हुने हो भने हामी सरकारमा बस्दैनौं।’
उनले एमालेको सहमति बेगर बन्ने सरकारमा एमाले नबस्ने बताए।
एमालेकै प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि गठबन्धन कार्यान्वयन हुँदा आफ्नो पार्टी सरकारमा नरहने बताए।
‘प्रदेशमा एमाले र कांग्रेसले मात्रै मिलेर सरकार बनाउनुपर्छ भन्ने हाम्रो कुरामा हामी अडिग छौं’, उनले भने, ‘सोमबार यसबारे पार्टीमा छलफल हुनेछ। त्यसपछि हामी निर्णयमा पुग्नेछौं।’
एमाले नेताहरूले बारम्बार अन्य दल सामेल सरकारमा नबस्ने भन्दै आएका बेला अब एमालेले कस्तो निर्णय गर्ला भन्ने चासो उत्पन्न भएको छ। तर, गठबन्धन दलहरूभित्रको असन्तोषमा खेलेर प्रदेशको सत्ता राजनीतिलाई उलटफेर तुल्याएको महिना दिनमै एमाले भने किनारामा धकेलिने अवस्था आएको छ।
एमालेभित्र यसबारे पूर्वानुमान नभएको भने होइन।
‘हामीले त्यसबेला कच्चा खेल नखोलौं भन्दा नेताहरू मानेनन्’, एमाले कोशीका एक सांसदले भने, ‘आज आएर सरकार गठबन्धनको बन्ने भयो। अब गठबन्धन स्वीकारेर बस्ने कि सरकार छाड्ने भन्ने ठाउँमा पार्टी आइपुगेको छ।’
मुख्यमन्त्री केदार कार्कीले भने प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास अनुसार गठबन्धनबाट मन्त्री बनाइएको बताएका छन्।
तत्कालीन मुख्यमन्त्री कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउनु पर्ने बताउँथे। तर, उनको त्यो आह्वान आफ्नै नेतृत्वमा भन्ने थियो। जब उनी सरकारबाट बाहिरिए, कांग्रेस र एमालेमात्रै मिलेर सरकार बनाउनुपर्छ भन्ने उनको भनाइ थियो।
यद्यपि अहिलेका मुख्यमन्त्री कार्कीले भने अघिल्ला मुख्यमन्त्रीको त्यही प्रस्तावलाई चलाखीपूर्वक समातेका छन्।
‘मैले अघिल्लै मुख्यमन्त्री हिक्मत कार्कीको एजेन्डा अनुसार नै सहमतिको सरकार बनाउन खोजेको हुँ, उहाँकै एजेन्डा कार्यान्वयन गरेको हुँ, यस्तो निर्णयले एमाले सरकार बाहिर जान्छ भन्ने मलाई लाग्दैन’, मुख्यमन्त्री कार्कीले भने, ‘मैले उहाँकै एजेन्डा कार्यान्वयन गरेको हुँ।’
सार्वजनिक रूपमा जे भने पनि गठबन्धन दलहरूको साथ पाए अब सरकार नढल्ने, विश्वासको मत पाइसकेका कारण अन्य समस्या नआउने निश्चित भएपछि मुख्यमन्त्री कार्कीले यस्तो कदम चालेका हुन्। जसले उनलाई मुख्यमन्त्री बनाउन साथ दिने एमालेलाई भने विपक्षमा धकेल्ने भएको छ।
असोज २० मा विश्वासको मत पाउने अवस्था नहुने भएपछि एमाले नेता हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि गठबन्धन दलहरूले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेका थिए।
यसपटक गठबन्धनका नेताहरूले राप्रपाको समेत साथ आङ्बोले पाउने स्थिति देखिएको भन्दै उनलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णयमा पुगेका थिए। जसै गठबन्धन यो निर्णयमा पुग्यो, कांग्रेसभित्र शेखर कोइराला पक्ष चिढियो। कांग्रेसको भागमा परेको कोशी प्रदेश माओवादीलाई छाडिएको भन्दै कोइराला पक्ष रूष्ट बन्यो। केदार कार्कीसहितका ८ सांसदले एमालेसित मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने अभियानमा थाले। असोज २७ मा यो अभियान सफल भयो।
त्यसपछि कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको थियो। तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका थिए।
कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य आड दिने कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बालुवाटार सहमति प्रदेशमा कार्यान्वयन हुने अवस्था अब सिर्जना भएको छ।
उक्त सहमतिमा तीन नेताले गठबन्धनलाई बलियो पार्ने भनेका थिए। त्यसको अन्तर्य कोशीमा गठबन्धनकै सरकार बनाउने भन्ने थियो।
यसरी पहिले विद्रोहीलाई सघाएर आफूलाई माथ दिएको एमालेलाई विपक्षमा पुर्याउने स्वार्थसहित गठबन्धन दलहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। त्यो योजना सफल हुने ठाउँमा आइपुगेको गठबन्धन नेताहरू बताउँछन्।
‘एमाले गठबन्धनमा जबरजस्ती घुसेको थियो, अब उसले बिदा लिएर नैतिकता देखाउनुपर्छ’, माओवादी नेता इन्द्र आङ्बो दोहोर्याउँछन्, ‘राजनीतिक रूपमा त्यो नै इमानदार कदम हुन्छ।’
मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरूसँग छलफल तीव्र पारेका थिए। गठबन्धन दलहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आफूले गठबन्धनभन्दा दायाँबायाँ नगर्ने प्रष्ट वचन दिएको छलफलमा सहभागी नेताहरू बताउँथे।
एमालेले गठबन्धनका अरू दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको थियो। यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरूलाई सरकारमा सामेल गराउने तयारीमा थिए। अन्ततः शुक्रबार उनले गठबन्धनका दुई दलबाट मन्त्री बनाएरै छाडे।
यो पनि:
कोशीमा ब्युँतदै गठबन्धन, के गर्छ एमाले?