प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच 'गठबन्धन बलियो बनाउने' बालुवाटारको सहमति कोशी मन्त्रिपरिषद गठनमा 'उल्लङ्घन' भएको छ।
प्रचण्ड, देउवा र कोइरालाले शनिबार बिहान बालुवाटारमा छलफल गरी 'गठबन्धनलाई कमजोर हुन नदिने' सहमति गरेका थिए।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं। यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेको सहमतिमा उल्लेख छ।
तर यो सहमति एक दिन पनि टिक्न सकेन।
आइतबार दिउँसो कोशीमा मन्त्रिपरिषद गठन गर्दा गठबन्धनमा नरहेको नेकपा (एमाले) लाई पनि मन्त्री बनाइएको छ।
मुख्यमन्त्री केदार कार्कीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गरेका थिए। उनले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई बिनाविभागीय मन्त्री बनाएका छन्।
कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ जना र एमालेका ४० मध्ये ३९ जनाले हस्ताक्षर गरेका थिए।
कोशीमा सत्ता गठबन्धनका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेका थिए। आङ्बोले प्रदेश प्रमुखकहाँ पुगेर मुख्यमन्त्रीमा दाबी पेश पनि गरेका थिए।
तर माओवादीलाई मुख्यमन्त्री छाड्न कांग्रेस नेता शेखर कोइराला तयार भएनन्। उनीनिकट कार्की नेतृत्वमा कांग्रेसका ८ जना सांसदले एमालेका ३९ जना सांसदको समर्थन जुटाएर बहुमत (४७ जना सांसद) को हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेर सनाखत गरेका थिए।
तर आङ्बो भने सनाखतका लागि शनिबार प्रदेश प्रमुख कार्यालयमा गएका थिएनन्। किनभने बालुवाटारमा कांग्रेसका कार्कीलाई नै मुख्यमन्त्रीमा अघि बढाउने र गठबन्धन बलियो बनाउने सहमति भइसकेको थियो।
कांग्रेस केन्द्रको निर्देशनविपरीत एमाले समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शनिबार काठमाडौं आएर नेता शेखर कोइराला, सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवासमै पुगेर भेटेका थिए।
कार्कीलाई सत्ता गठबन्धनभित्रका दलहरूबाट नै मन्त्री बनाउन दवाव थियो। तर आफूलाई मुख्यमन्त्री बनाउन साथ दिएका एमालेका एक जनालाई कार्कीले आइतबार मन्त्री बनाएका छन्।
संघीय सरकार बनाएको सत्ता गठबन्धनमा नेकपा एमाले सहभागी छैन।
एमालेलाई पनि कोशीमा मन्त्री बनाएपछि बालुवाटारमा प्रचण्ड, देउवा र शेखरबीच भएको शनिबारको सहमति उल्लङ्घन भएको चर्चा चलेको छ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री र सभापति देउवालाई जानकारी दिएरै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा एमालेलाई पनि सहभागी गराएको दाबी गरेका छन्।
‘कोशीमा गठबन्धन नभत्कने गरी गठबन्धनकै नेतृत्वमा सहमति सरकार बनाउने तयारी भइरहेको छ,’ विश्वकर्माले भने, ‘राप्रपालगायत सहभागी गराएर अहिलेको सरकारलाई सहमतिको सरकार बनाउने पहल हुन्छ।’
कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ जनाले हस्ताक्षर गरेकोले मन्त्री बनाउनुलाई स्वभाविक रूपमै लिनुपर्ने उनले बताए।
‘कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको पनि लगानी छ,’ उनले भने, ‘विश्वासको मत लिनका लागि पनि एमालेको साथ लिनुपर्ने हुन्छ, अहिलेको सरकारलाई सहमतिको सरकार बनाउने पहल पनि भइरहेकै छ।’
तर नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्कीले भने सहमतिय सरकारको पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिएका छन्।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादी सहितका दलहरू सहभागी हुने भए भने एमाले सरकारमा नरहने उनको भनाइ थियो।
‘सरकारमा अरू दल पनि सहभागी गराउने निर्णयमा मुख्यमन्त्री पुग्नुभयो भने हामी यो सरकारमा सहभागी हुँदैनौं,’ कार्कीले सेतोपाटीसँग भने,‘उहाँलाई मुख्यमन्त्री बनाउँदाको सहमति कायम भयो भने सरकारलाई समर्थन पनि रहन्छ, विश्वासको मत पनि दिन्छौं र सहभागी पनि हुन्छौं।’