कोशी प्रदेशको छैटौं मुख्यमन्त्री बनेका केदार कार्की नेविसंघका विद्रोही कार्यकर्ताका रुपमा चिनिन्थे।
विद्यार्थी जीवनमा बनाएको त्यही स्वभावलाई अहिले पनि निरन्तरता दिदै उनले प्रदेशको मुख्यमन्त्रीसम्मको यात्रा निश्चित गरेका छन् ।
आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीले यसपटक शेखर कोइरालाको आडमा पार्टी केन्द्रलाई चुनौती दिएर प्रदेशमा मुख्यमन्त्री बनेका हुन्।
२०३० पुस ७ मा जन्मेका उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भएका थिए।
विद्यालय स्तरको २०५२ सालमा नेविसंघकै क्याम्पस इकाई सभापति भए। यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे। उनी हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि क्रियाशील छन् ।
प्रदेश सभा सदस्यबाट सुरु भएको उनको संसदीय यात्राको दोस्रो आयाम संसदीय दलको प्रमुख सचेतकका भूमिकामा देखियो । कार्की २०७८ भदौदेखि २०७९ पौषसम्म कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत बनेका थिए।
कोशी प्रदेशको प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा दोस्रो पटक नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद हुन् कार्की। पहिलो प्रदेश सभामा सबैभन्दा धेरै विशेष समयमा बोल्ने नेताका रूपमा कार्की प्रदेश सभाको सक्रिय सांसदका रूपमा सूचिकृत भएका थिए।
स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित २ छोरा छन्।
कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वको निर्णयको विरूद्धमा उभिएर उनी आज मुख्यमन्त्री नियुक्त भएका छन्।
कोशीलाई मध्यावधिमा जान नदिन यसअघि नै त्यहाँ कांग्रेस र एमालेले मिलेर सरकार चलाउनुपर्ने कुरा उठेको थियो। तर मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि पार्टीमा विवाद उत्पन्न नहुँदा कांग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छोडेको थियो।
प्रदेशको ठूलो दलले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने अडान लिएका कार्कीलाई एमालेले साथ दिएपछि उनी मुख्यमन्त्री बन्ने वातावरण तयार भएको थियो।
सोही अनुसार उनले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेबमोजिम बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदै मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। त्यसअघि आङ्बो पक्षले पनि मुख्यमन्त्री दाबी गर्दै हस्ताक्षर बुझाएको थियो।
दुबै पक्षले हस्ताक्षर बुझाएपछि सनाखतका लागि प्रदेश प्रमुख खापुङले सांसदहरूलाई आज बोलाएका थिए। केदार कार्की पक्षका सांसहरू सशरीर उपस्थित भइ हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियक्त गरेका हुन्।
कार्की कोशीको वर्तमान कार्यकालका पाचौं मुख्यमन्त्री हुन्। उनी संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका हुन्। अबको एक महिनाभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
कोशीमा यसअघि विश्वासको मत नपाउने अवस्था बनेपछि असोज २० गते एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनी ३० दिनमै मुख्यमन्त्रीबाट बिदा भएका थिए।
त्यसअघि मुख्यमन्त्री रहेका उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएपछि सर्वोच्च अदालतले भदौ २१ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो।
सर्वोच्चको परमादेशपछि भदौ २२ मा एमाले नेता कार्की दोस्रोपटक प्रदेशको मुख्यमन्त्री बनेका थिए।
यो सँगै प्रदेश सभा गठनको १० महिनाभित्रै कोशीमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग भएको छ।