कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको हस्ताक्षर सनाखत सुरू भएको छ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले सांसदहरूको हस्ताक्षर सनाखत सुरू गरेका हुन्।
कोशीको मुख्यमन्त्रीका लागि अहिले कांग्रेसका केदार कार्कीको पक्षमा रहेका सांसदहरू हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन्।
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि बहुमत सांसदहरूको हस्ताक्षरसहितको दाबी पेश गरेका थिए।
आङ्बो पक्षका सांसहरू भने सनाखतका लागि उपस्थित भएका छैनन्। अहिले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छन्।
हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले दिउँसो २ बजेसम्मको समय निर्धारण गरेका छन्।
कार्कीलाई नेकपा एमाले र कांग्रेसको शेखर कोइराला पक्षको समर्थन छ। आङ्बोलाई कांग्रेस संस्थापन पक्षसहित गठबन्धनको समर्थन छ।
कोशीमा आज बन्ने सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। प्रदेश सभाको निर्वाचनपछि कोशीमा आज बन्ने सरकार पाँचौं हुनेछ। दलीय अंकगणित र दलहरूको निहीत स्वार्थका कारण कोशीमा यसअघि चार पटक सरकार ढलेको छ।
आज बन्ने सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए कोशी मध्यावधिमा जानेछ।