कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न नेपाली कांग्रेसका सांसद केदार कार्की प्रदेश प्रमुख कार्यालय पुगेका छन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी कार्कीले गरेका हुन्। कार्कीसहित कांग्रेसका केही सांसदहरू प्रदेश प्रमुखलाई भेट्न गएका छन्।
कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्की प्रदेश प्रमुख कार्यालय पुगेका छन्। ‘मुख्यमन्त्रीमा दाबी पेश गर्न उहाँ प्रदेश प्रमुख कार्यालय आउनुभएको छ,’ उनले भने।
कार्कीले आफूलाई ४० जना सांसद भएको नेकपा एमालेको पनि साथ रहेको दाबी गरेका छन्। कार्की कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्।
सत्ता गठबन्धनभित्र कोशी मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो। तर नेता कोइराला पक्षका सांसदहरूले कार्कीलाई नै मुख्यमन्त्री बनाउने अडान लिइरहेका छन्।
कोशी मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।
सत्ता गठबन्धनको समर्थनमा माओवादीका इन्द्र आङ्बो पनि पुगे प्रदेश प्रमुखकोमा
यस्तै सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दल नेता इन्द्र आङ्बो पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका छन्।
नेपाली कांग्रेससहित संघीय सरकारमा रहेका गठबन्धन दलहरूले आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बिहीबार बालुवाटारमा सहमति गरेका थिए। उक्त सहमतिलाई कांग्रेस नेता शेखर कोइराला पक्षका कोशीका सांसदहरूले भने अस्वीकार गरेका थिए।