कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्ने शुक्रबार अन्तिम दिन हो। तर, त्यसको अघिल्लो दिन बिहीबार गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र तीव्र विवाद देखिएको छ।
बिहीबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री दाबी गर्न लगाउने औपचारिक निर्णय गरेपछि कांग्रेसको कोशी संसदीय दलमा विवाद देखिएको छ।
शेखर कोइराला पक्षधर नौ जना सांसदले गठबन्धनको निर्णय अस्वीकार गर्ने घोषणा गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको छ।
के कांग्रेस केन्द्र कोशीमा यस्तो असन्तोष आउनेवाला छ भन्ने विषयमा बेखबर थियो?
सभापति शेरबहादुर देउवानिकट नेताहरुका अनुसार देउवा यस्तो असन्तोष छताछुल्ल हुने कुराबारे जानकार थिए।
‘सभापतिज्यू र हामी सबैलाई यो विवाद आउँछ भन्ने थाहा थियो,’ बिहीबार बालुवाटार बैठकमा सहभागी कांग्रेसका देउवानिकट ती नेताले सेतोपाटीसँग भने, ‘हामीले पार्टीभित्रको त्यही किचलो पन्छाउन माओवादीलाई समर्थन गर्ने निर्णय गरेका हौं।’
ती नेताका अनुसार कोशीमा सरकारको नेतृत्व छाड्ने मनस्थितिमा कांग्रेस थिएन। तर, संसदीय दलका नेता उद्धव थापा, केदार कार्की र अमृत अर्याल तीनै जनाले मुख्यमन्त्री दाबी गरेको र कोही पनि पछि हट्न नचाहेपछि कांग्रेसले विवाद पन्छाउन माओवादीलाई समर्थन गरेको हो।
मुख्यमन्त्री दाबी गरिरहेका थापा र अर्याल संस्थापन पक्षका हुन् भने कार्की शेखर कोइराला पक्षका हुन्।
कोइराला पक्षका सांसदहरूले सातमध्ये एउटा प्रदेशमा आफ्नो समूहले मुख्यमन्त्री पाउनु पर्ने भन्दै पार्टीभित्र दबाब बढाएको थिए भने यसअघि दुई पटक मुख्यमन्त्री बनेर दुबै पटक अदालतबाट पदमुक्त बनेका थापालाई नै अघि सार्नुपर्ने पक्षमा कृष्णप्रसाद सिटौलासहितको संस्थापन पक्ष थियो। आफ्ना पुराना सहयोगी अमृत अर्याललाई पनि सिधै हुन्न भन्न सक्ने अवस्थामा सभापति देउवा थिएनन्।
‘यो विवाद पन्छाउने सबैभन्दा सजिलो उपाय माओवादीलाई समर्थन गर्नुहुन्थ्यो,’ कांग्रेसका ती नेताको भनाइ छ, ‘त्यही भएर समर्थन गर्ने निर्णय भएको हो।’
ती नेताका अनुसार भर्खरै मात्रै अल्पमतको सरकारबाट राजीनामा दिएको एमालेले पनि कांग्रेसलाई आफूले सघाउने प्रस्ताव देउवासम्म पुर्याएको थियो।
‘त्यो प्रस्ताव एमालेले गठबन्धनभित्र खेल्न ल्याएको हो भन्नेमा सभापतिज्यू प्रष्ट हुनुहुन्थ्यो,’ उनले भने, ‘राप्रपाले पनि उद्धव थापाबाहेक अर्को जो कोही भए पनि मान्छौं भनेको थियो। तर, आन्तरिक विवाद मिलाउन सकिएन। त्यही भएर माओवादीलाई समर्थन गरेका हौं।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र नेता कृष्णप्रसाद सिटौला र उद्धव थापाबीचको झापामा रहेको तिक्ततापूर्ण राजनीतिक सम्बन्धलाई देखाउँदै राप्रपाले थापालाई समर्थन गर्न नसकिने बताउँदै आएको थियो।
यसरी पार्टीभित्रको किचलो पन्छाउन कांग्रेसले माओवादीका आङ्बोलाई समर्थन गरेपछि कोशी कांग्रेसमा विवाद सुरू भएको छ। मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सत्ता गठबन्धनको निर्णय कांग्रेसका नौ जना प्रदेश सांसदले अस्वीकार गर्ने घोषणा गरेका छन्।
प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहेका नेता केदार कार्की र उनको समूहका शमशेर राई, गोविन्द गिरी, लीला राई, रामकुमार खत्री, गयानन्द मण्डल, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिता गुरूङले गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारी गरेका हुन्।
उनीहरू सबै शेखर कोइराला पक्षका सांसद हुन्।
‘उद्धव थापाको साटो केदार कार्कीलाई अघि सारौं, प्रदेशको सरकारको नेतृत्व आफैं गरौं भन्ने हाम्रो प्रस्ताव सभापति शेरबहादुर देउवाले लत्याउनुभयो,’ एक प्रदेश सांसदले भने, ‘संविधानको धारा १६८ को उपधारा ५ ले दिएको अधिकार हामी सदनमा प्रयोग गर्छौं। माथिको निर्णय मान्दैनौं।’
ती सांसदले कांग्रेसको नेतृत्वमा त्यसमा पनि प्रदेशमा शेखर कोइराला समूहको एक जना मुख्यमन्त्री हुनुपर्ने आफूहरूको अडान भएको बताए।
कांग्रेसका प्रदेश सांसदहरूका अनुसार अहिले कोइराला पक्षका सांसदहरू विराटनगरमा एमालेसित छलफलमा जुटेका छन्। एमाले नेता एवम् बिदा हुनै लागेका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसले संस्थागत निर्णय गरेर आए छलफलका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।
माओवादी नेताहरूले भने यसअघि दुई पटक कांग्रेसलाई सहयोग गरेको, कांग्रेसकै नेतृत्वमा सरकार बनाउन आफूहरूले सभामुख पद त्यागेको उल्लेख गर्दै गठबन्धनको निर्णय पालनामा कांग्रेस इमान्दार बन्नुपर्ने बताएका छन्।
‘हामीले कांग्रेसलाई दुई पटक समर्थन गरेको मात्रै होइन, आफूले पाएको सभामुखसमेत त्यागेर सहयोग गरेका हौं,’ माओवादी प्रदेशका एक नेताले भने ‘कांग्रेसले एकढिक्का भएर साथ दिनेमा हामी ढुक्क छौं।’
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद भीम पराजुलीले कांग्रेसभित्र असन्तोष नरहेको, रहे पनि पार्टी निर्णयभन्दा पर कोही जान नसक्ने/नहुने बताए।
‘मैले पनि असन्तोष छ भन्ने अपुष्ट कुरा सुनिरहेको छु,’ उनले भने, ‘तर पार्टी निर्णय कार्यान्वयनमा सबै लाग्नुपर्छ।’
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्। धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन।
नौ जना सांसदले त्यही ह्वीप नलाग्ने सुविधा प्रयोग गर्न खोजेको ती सांसदको भनाइ छ। प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० मा पदबाट राजीनामा दिएका थिए। उनी संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए। उनले राजीनामा दिएपछि प्रदेश सरकार निर्माणको अन्तिम विकल्प उपधारा ५ मा पुगेको हो।
कांग्रेस र माओवादी दुबैले सरकारको नेतृत्वमा दाबी गरेका बेला गठबन्धनले माओवादी नेता आङ्बोलाई अघि सार्ने निर्णय गरेको हो।
प्रदेशमा कांग्रेसका २९ सांसद छन्। शेखर कोइराला पक्षका ९ जना गठबन्धनको विपक्षमा उभिए र एमालेले गठबन्धन भाँड्न त्यो समूहलाई सघाउने कदम चाले सरकार बनाउन पुग्ने संख्या पुग्छ। एमालेसँग उपसभामुखसहित ४० सांसद छन्।
सरकारको नेतृत्व दाबी गरिरहेको माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जनता समाजवादीसँग एक जना सांसद् छन्। हालसम्म तटस्थ देखिएको राप्रपासँग ६ जना सांसद छन्।