नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सत्ता गठबन्धनको निर्णय काँग्रेस प्रदेशका केही सांसदहरुले अस्वीकार गर्ने घोषणा गरेका छन्।
आङ्बोलाई मुख्यमन्त्री दिने निर्णयमा शेखर कोइराला समूहका ९ जना सांसदहरू असन्तुष्ट देखिएका हुन्।
स्रोतका अनुसार प्रदेशमा केदार कार्की, शमशेर राई, गोविन्द गिरी, लीला राई, रामकुमार खत्री, गयानन्द मण्डल , इन्दिरा थापा , मानबहादुर लिम्बू र सुनिता गुरुङले गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारी गरेका हुन्। उनीहरु सबै शेखर कोइराला पक्षमा सांसद हुन्।
'उद्धव थापाको साटो केदार कार्कीलाई अघि सारौं भन्ने हाम्रो प्रस्ताव सभापति शेरबहादुर देउवाले लत्याउनुभयो’, प्रदेशका एक सांसदले भने ‘संविधानको धारा १६८ को उपधारा ५ ले दिएको अधिकार हामी सदनमा प्रयोग गर्छौं। माथिको निर्णय मान्दैनौं।’
ती सांसदले काँग्रेसको नेतृत्वमा त्यसमा पनि प्रदेशमा शेखर कोइराला समूहको एक जना मुख्यमन्त्री हुनुपर्ने आफूहरुको अडान भएको बताए।
‘अहिले हामी काठमाडौं विमानस्थलमा छौं’, ती सांसदले भने ‘हामी विराटनगर आउँदैछौं।’ उनले विराटनगर ओर्लेर एमालेसँग छलफल गर्ने बताए।
एमाले नेता एवम् बिदा हुनै लागेका मुख्यमन्त्री हिक्मत कार्कीले काँग्रेसले संस्थागत निर्णय गरेर आए छलफलका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
धारा १६८ (५) अनुसार सरकार गठन हुँदा सांसदहरूलाई दलको ह्वीप लाग्दैन।
प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० मा पदबाट राजीनामा दिएका थिए।
त्यसपछि प्रदेशमा सरकार बनाउने अन्तिम विकल्प बमोजिम १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएको हो। काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वमा दाबी गरेका बेला गठबन्धनले माओवादी नेता आङ्बोलाई अघि सार्ने निर्णय गरेको हो।
प्रदेशमा काँग्रेसका २९ सांसद छन्। शेखर कोइराला पक्षका ९ जना गठबन्धनको विपक्षमा उभिए र एमालेले गठबन्धन भाँड्न त्यो समूहलाई सघाउने कदम चाले सरकार बनाउन पुगने संख्या पुग्छ। एमालेसँग उपसभामुखसहित ४० सांसद छन्।
सरकारको नेतृत्व दाबी गरिरहेको नेकपा माओवादी केन्द्रसँग १३ नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादीसँग एक जना सांसद् छन्। हालसम्म तटस्थ देखिएको राप्रपासँग ६ जना सांसद छन्।