नेकपा (एमाले) सुदूरपश्चि प्रदेशको पहिलो अधिवेशन आइतबारबाट धनगढीमा सुरू हुँदै छ। धनगढीस्थित सौराइ ब्यैंक्वेटमा मध्याह्न १२ बजे अधिवेशन उद्घाटन हुने प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली बिहान १० बजे धनगढी पुग्दै छन्। त्यस्तै महासचिव शंकर पोखरेल, सुदूरपश्चिम इन्चार्ज छविलाल बिश्वकर्मा, कर्णाली इन्चार्ज लेखराज भट्टलगायत नेताहरू पनि उद्घाटनमा सरिक हुने छन्।
‘सबै तयारी पूरा भइसकेको छ। अधिवेशनको उद्घाटन पार्टी अध्यक्षले गर्नुहुने छ,’ प्रदेश अध्यक्ष भण्डारीले भने।
५३ हजार ५०० प्रतिनिधिमध्येबाट ६५७ जना प्रतिनिधि छानिएर अधिवेशनका लागि धनगढी आएको दामोदर भण्डारीले जानकारी दिए। आज उद्घाटन सत्र सकिएपछि साँझैबाट बन्दसत्र सुरू हुने र सोमबारबाट नेतृत्व चयन प्रक्रिया आरम्भ हुने पनि उनले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र बचनबहादुर सिंहले आकांक्षा राखेका छन्।
अन्य प्रदेशमा जस्तो नेतृत्वका लागि रस्साकस्सी नरहेको एक प्रतिनिधिले दाबी गरे।
‘सुदूरपश्चिम प्रदेशमा अहिलेका अध्यक्ष दामोदर भण्डारी नै दोहोरिने चाहना थियो। तर, पार्टी सचिवालयको निर्णय, अन्तरपार्टी निर्देशनले सांसदको भूमिकामा रहेकालाई प्रदेशको कार्यकारी पदमा उठ्न निषेध गरेपछि उहाँ उठ्न मिलेन,’ ती प्रतिनिधिले भने, ‘पार्टी नेतृत्वको चाहना कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने देखिन्छ।!’
अधिवेशनमा बोलाइएको छैन भीम रावललाई
३० साउनमा पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच वार्ता भएको थियो। त्यसपछि रावल गृह जिल्ला अछाममै सक्रिय छन्। प्रदेश अधिवेशनमा भने उनलाई आमन्त्रण नगरिएको रावलनिकट नेताले बताए।
‘यहाँ कार्यक्षेत्र नभएका नेतासमेत धनगढी आएका छन्। कतिपय आउने तयारीमा छन्। तर, अछाम भएका भीम रावललाई अधिवेशनमा बोलाइएको छैन,’ ती नेताले भने।
प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू सबैलाई खबर गरिएको उनले जानकारी दिए।
अधिवेशनमा उनलाई नबोलाइए पनि नेतृत्व चयनमा भीम रावल ‘फ्याक्टर’ले काम गर्ने ती नेताको दाबी छ।
अहिले झपट रावल, प्रकाश शाह, तारा लामा तामाङ, दयालबहादुर शाहीलगायत नेता नेतृत्व चयन आफ्नो पक्षमा पार्न खटिएका छन्। केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका चारै जना भीम रावलप्रति सद्भाव राख्ने हुन्।
अछाम भर्सेस अछाम
सुदूरपश्चिम प्रदेश अधिवेशन आफ्नो पक्षमा पार्न कर्ण थापा लागिपरेका छन्। उनले २०५४ सालका जिविस सभापति रहेका कृष्णप्रसाद जैसीलाई अघि सारेका छन्।
हुन त पार्टी अध्यक्ष केपी शर्मा ओली र कर्ण थापाबीच पनि राम्रो सम्बन्ध छैन। थापा पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय गराउनुपर्छ र पार्टी अध्यक्ष बनाउनुपर्छ भन्दै आएका छन्।
तर सुदूरपश्चिम प्रदेशको पार्टी राजनीतिमा थापालाई चिढ्याउन नचाहने ओलीनिकट एक नेताले बताए।
कर्ण थापाको उम्मेदवारविरूद्ध अछामकै कमल तिमिल्सिनालाई भीम रावल पक्षधरहरूले अघि सार्ने तयारी गरेका छन्। उनी बान्नीगढी, जयगढ गाउँपालिका, साविक तिमल्सेनका हुन्।
‘उहाँ पाको र पुरानो नेता हुनुहुन्छ। भूगोलमा क्रियाशील र खटिने नेतामा पनि पर्नुहुन्छ,’ अछामकै एक नेताले भने, ‘उहाँलाई अघि सार्दा भीम रावलको पनि त्यसमा समर्थन रहन्छ। पार्टी अध्यक्ष ओली र उनी निकटहरूले स्वीकारे पनि नस्वीकारे पनि सुदूरपश्चिमको पार्टी राजनीतिमा भीम रावलको ठूलो प्रभाव छ। अधिवेशनमा त्यो प्रस्तुत भइहाल्छ।’
अर्का आकांक्षी बचनबहादुर सिंह अध्यक्षको उम्मेदवारी देखाएर सचिव पद सुनिश्चित गर्न चाहेको ओलीनिकट नेताले बताए।