नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा अध्यक्ष बन्न प्रतिस्पर्धारत दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावअघि अर्को होड पनि देखिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेदवार आफू नै रहेको भन्दै उनीहरूले मत माग्ने अभियान चलाएका छन्। केहीबेरअघि मतदान सुरू हुन्जेलसम्म पनि दुवै पक्षको होड ओलीको उम्मेदवार आफू नै भएको सन्देश फैलाउनेमा बढ्ता केन्द्रित देखियो।
'अहिले पार्टीमा अध्यक्ष ओली सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। उनको समर्थनबिना चुनाव जित्न गाह्रो हुने सबैले बुझेकै छन्,' अधिवेशनस्थलमा रहेका एमाले कार्यकर्ता प्रितम घिमिरेले भने, 'उम्मेदवारहरूले आफूलाई ओली निकट देखाउन गरेको प्रयासको कारण यही हो।'
विराटनगरस्थित होटल 'मनास्लु इन' मा तीन दिनदेखि जम्मा भएका कोशी प्रदेशभरका एमाले कार्यकर्ता यति बेला मतदानका लागि लाइनमा उभिएका छन्। लाइनमा उभिएका ती कार्यकर्तामाझ मत माग्न पुगिरहेका अध्यक्षका दुई दाबेदार ढकाल र खतिवडाबीच आफू नै 'ओलीको उम्मेदवार' भन्ने सन्देश फैलाउने होड देखिएको छ।
दुवै उम्मेदवार आफू नै ओलीको आधिकारिक उम्मेदवार भएको भन्दै मतदातालाई आश्वस्त पारिरहेका भेटिन्छन्।
अध्यक्षमा भिडेका मोरङका दुई नेतामध्ये विनोद ढकाल सुरूदेखि नै केपी ओली गुटका नेता भनेर स्थापित व्यक्ति हुन्।
अध्यक्षका अर्का उम्मेदवार घनश्याम खतिवडा चाहिँ लामो समय माधवकुमार नेपाल समूहमा रहेर आठौं महाधिवेशनपछि ओली समूहमा पुगेका नेता हुन्।
'म जीवनभर केपी ओलीको पक्षमा उभिएर आएको व्यक्ति हुँ,' शनिबार बन्दसत्रमा विनोद ढकालले भनेका थिए, 'तर अहिले केही व्यक्ति विनोद ओलीको उम्मेदवार होइन भन्दै हिँडेका छन्। यस्तो काम गरेर उनीहरूले कमरेड ओलीमाथि घात गरिरहेका छन्।'
ढकालले यस्तो आक्रोश पोख्नुका पछाडि प्रस्ट कारण छ। अध्यक्ष ओलीका खास मान्छे भनेर चिनिएका कोशी प्रदेशका दोस्रो तहका बहुसंख्यक नेताहरू अर्का उम्मेदवार घनश्याम खतिवडाको पक्षमा उभिएका छन्।
दसबुँदे सहमति गरेर एमालेमै रहेका भीम आचार्यबाहेक स्थायी कमिटीका कोही पनि नेता ढकालको पक्षमा उभिएका छैनन्। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट भनिएका ढकालको पक्षमा भण्डारी निकट मानिने शेरधन राई र गुरू बराल पनि उभिएका छैनन्।
यसरी ओली समूहका सबैजसो नेताहरूले आफ्नो पक्षको उम्मेदवार खतिवडा भएको र सोहीअनुसार मतदान गर्न भनेपछि ढकालले बन्दसत्रमा आक्रोश पोखेका थिए।
आठौं महाधिवेशनपछि ओली पक्षमा उभिएका खतिवडाको पक्षमा भने मुख्यमन्त्री हिक्मत कार्कीदेखि सबैजसो स्थायी कमिटी सदस्यहरू उभिएका छन्।
शुक्रबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसै विराटनगर विमानस्थल ओर्लिए, कोशी प्रदेशका नेता कार्यकर्ताहरूले त्यसपछि अनेकौं हल्ला फैलाए।
प्रदेश अध्यक्षका दाबेदारमध्येका एक घनश्याम खतिवडा पक्षधरहरूले 'ओलीले विनोद ढकाललाई यसपटक अध्यक्षमा खतिवडालाई छोडिदिन भनेको' हल्ला चलाए। अर्का दाबेदार विनोद ढकाल पक्षधरहरूले 'ओलीले ढकाललाई अँगालो हालेर शुभकामना भनेको' भन्न भ्याए।
ओलीले भने 'सकेसम्म सहमतिमा नभए स्वस्थ प्रतिस्पर्धा गर्न' भनेर सार्वजनिक रूपमा भनेका थिए।
ओलीले अर्को अर्थपूर्ण वाक्य पनि प्रयोग गरेका थिए, 'नेताहरूको संकेत पनि बुझेर अघि बढ्नुहोला।'
उद्घाटनमा यसो भनेका ओलीका सबै निकट नेताहरू यति बेला खतिवडाको पक्षमा उभिएका छन्।
'यदि ओलीको इशारा हुन्थेन भने भएजति सबै नेता खतिवडाको पक्षमा कसरी उभिन्थे,' एमाले प्रदेशका एक नेताले भने, 'आफ्नै समूहका भए पनि ढकालले आफूले भनेको नसुन्ने गरेको ओलीको बुझाइ छ। त्यसैले यसपटक उहाँलाई लाइन नआएको हो।'
ढकालले भने केही व्यक्तिहरूले अध्यक्षलाई बदनाम गर्न दुष्प्रचार गरेको आरोप लगाएका छन्।
'अध्यक्षले स्वस्थ प्रतिस्पर्धा गर्न भनेको विषयलाई अन्यर्थ लगाउँदै केहीले भ्रम छरेका छन्,' उनले भने, 'त्यो भ्रम तोडिनेछ।'
अर्का दाबेदार खतिवडाले भने आफू पार्टीको इमानदार कार्यकर्ता भएको र अधिवेशनको हल र नेतृत्वले गर्ने निर्देशनभन्दा दायाँबायाँ नगर्ने अभिव्यक्ति दिँदै आएका छन्।
'विनोदजी केन्द्रमा हुनुहुन्थ्यो। उहाँ त्यहाँभन्दा माथि जानुपर्थ्यो। हामीलाई प्रदेश छोड्नुपर्ने मेरो कुरा हो,' खतिवडाले भने, 'अब अधिवेशनले जे म्यान्डेट दिन्छ, त्यहीअनुसार पार्टी अघि बढ्छ।'
निर्धारित समयभन्दा झन्डै ११ घन्टा ढिलो एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सुरू भएको छ।
निर्वाचन समितिले आइतबार बिहान ११ बजे मतदान थाल्ने कार्यतालिका प्रकाशन गरेको थियो। तर मतपत्र छपाइदेखि उम्मेदवारी फिर्ता, मतदानस्थलको व्यवस्थापन लगायत कामले धेरै समय लागेको निर्वाचन समितिले जनाएको छ।
त्यसपछि १२ बजे र साढे पाँच बजे गरी पटकपटक मतदान सुरू हुने जनाइएको थियो। मतदान भने बेलुकी १० बजे मात्रै सुरू भएको छ।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले ३५ स्थानबाट मतदान गर्दैछन्।
'निर्वाचनमा ३५ स्थानबाट मत हाल्ने व्यवस्था मिलाइएको छ,' निर्वाचन समिति संयोजक चुडामणि आचार्यले भने, 'एक जनाले १५ मिनेटमा मत हालिसक्ने अनुमान छ। पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाको उम्मेदवारी कायम छ।'
प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्।
उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ।
दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुँदैछ।
अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन्।