‘पार्टीमा लागेको ३० वर्ष भयो एमालेको यति भद्रोगल अधिवेशन देखेको थिइनँ, प्रतिनिधि बोलाएर जम्मा गर्ने र नेता आफैं छान्न थालेपछि उत्पन्न भएको समस्या हो यो,’ एमाले बागमती प्रदेशका एक प्रतिनिधिले पोखेको दिग्दारी हो यो।
५ दिन भयो एमाले बागमतीको प्रदेश अधिवेशन सकिएको छैन। भृकुटीमण्डमा उद्घाटन गरेको प्रदेश अधिवेशन प्रज्ञा प्रतिष्ठान हुँदै च्यासलमा आइपुग्दा निकै रोचक दृश्य देख्न सकिन्छ।
प्रतिनिधिलाई चुनावले छपक्कै छोपिसकेको छ। तर, नेतृत्वलाई चुनाव गर्न नै सकस छ। निर्वाचन तालिकामात्रै पाँच पटक संशोधन भइसकेको छ। पछिल्लोपटक शुक्रबार बिहान साढे ११ बजेबाट मतदान गर्ने गरी तालिका टाँस भएको छ। तर, अध्यक्ष मण्डलका अध्यक्ष तथा बागमती इन्चार्ज गुरू बराल उम्मेदवारलाई बोलाएर सर्वसम्मतिका लागि जोड दिइरहेका छन्।
‘नेतृत्वले साह्रै जोड गर्नुभयो। सर्वसम्मति नै गर्नुपर्छ भन्नुभयो। मैले मेरो उम्मेदवारी कायम राखिनँ। मत मागेको थिएँ, क्षमाप्रार्थी छु है!,’ सुवासचन्द्र ठकुरीले उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिहरूलाई हात जोड्दै भनेका थिए।
पार्टीका महासचिव शंकर पोखरेललगायत नेताहरू अझै पनि सर्वसम्मतिका लागि जोड दिइरहेका छन्।
५ पदाधिकारी (अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, उपसचिव–२) मा १८ जनाको उम्मेदवारी कायम छ। २ सय ३५ सदस्यका लागि ३ सय माथि नै उम्मेदवारी परेको छ। काभ्रे, चितवन, रसुवा र सिन्धुपाल्चोक जिल्लामा सर्वसम्मत रूपमा सदस्यहरू छानिएका छन्। काभ्रेमा २० जना सदस्य सर्वसम्मत चुनिएको इन्चार्ज नवीना लामाले जानकारी दिइन।
सिन्धुपाल्चोकमा पनि १३ जना सदस्य सर्वसम्मत भइसकेका छन्। चितवन, रसुवामा सर्वसम्मत सदस्य छानिएको निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
पदाधिकारी तहमा चुनाव नै हुने अध्यक्षका प्रत्यासी कृष्ण दाहाल बताउँछन्।
‘चुनाव भएर पार्टीमा गुटबन्दी होला कि भन्ने नेतृत्वलाई भय देखिन्छ। त्यो चिन्ता हाम्रो पनि हो। स्वस्थ प्रतिस्पर्धा गर्छौं। लोकतान्त्रिक अभ्यासलाई अझ उन्नत बनाउँछौं,’ दाहालले भने।
भित्रभित्रै बन्दैछ प्यानल
भृकुटीमण्डपको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मतिले नेतृत्व चुन्न भनेका थिए। सर्वसम्मत नभए चुनाव गर्न तर प्यानल नबनाउन निर्देशन दिएका थिए।
उनको निर्देशनले पार्टी कार्यालयमै काम गरेको छैन। समूह छलफल र भित्रभित्रै प्यानल बनिरहेको छ। अध्यक्षका प्रत्यासीद्वय कृष्ण दाहाल र कैलाश ढुंगेल पक्षधरले उपाध्यक्ष, सचिव र सहसचिवमा आ–आफ्नो समर्थन बताइरहेका छन्।
जितका लागि क्लस्टर (निर्वाचन क्षेत्र) पनि मिलाइरहेका छन्। दाहाल समूहबाट उपाध्यक्षमा नुवकाटोका नारायणप्रसाद खतिवडाको नाम प्रचारमा ल्याइएको छ। ढुंगेल समूहमा दावादोर्जे लामा रहेका छन्।
ढुंगेल समूहले सचिवमा हस्त पण्डितको नाम प्रचार गरिरहेको छ। दाहाल समूहका तर्फबाट नवराज सिलवाल छन्। उपत्यकाबाट पदाधिकारीमा प्रतिस्पर्धी नरहेकाले उनको नाममा मत तान्न सकिने आकलन दाहाल समूहको छ।
२ उपसचिवमा ११ जनाको उम्मेदवारी छ। त्यहाँ क्लस्टर मिलाएर आ-आफ्नो पक्षका उम्मेदवारको नाममा प्रतिनिधिहरूले भोट मागिरहेका छन्।
अध्यक्ष मण्डलले उम्मेदवार र प्रतिनिधिहरूलाई थकाउने र चुनावबाट सर्वसम्मतिमा लैजाने प्रयास नगरेको होइन। अध्यक्ष मण्डल बुधबार र बिहीबार निर्वाचनको सुरसारै नगरेर उम्मेदवारी फिर्ता गराउने काममा लाग्यो। बिहीबार राति २ बजे उम्मेदवारको अन्तिम नामावली टाँस्यो।
निर्वाचन धकेल्नकै लागि शुक्रबार बिहान दुई पटक संशोधन गरियो।
दोस्रो तहको नेताको शक्ति परीक्षण
नेकपा (एमाले) को जारी प्रदेश अधिवेशनहरू दोस्रो तहका नेताहरूको शक्ति परीक्षणको थलो बन्न थालेको एमालेका नेता बताउँछन्।
नेतृत्वको रूपमा केपी ओलीलाई स्वीकार गर्ने तर दोस्रो तहको नेता कसैले कसैलाई नस्वीकार्ने परिस्थिति निर्माण हुँदा प्रदेश अधिवेशन पेचिलो बनिरहेको एमालेका नेताहरूले निष्कर्ष निकाल्न थालेका छन्।
लुम्बिनी प्रदेश अधिवेशन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिस्पर्धाजस्तो देखिएको थियो।
बागमती प्रदेशको अधिवेशनमा पनि महासचिव शंकर पोखरेल आफ्नो उम्मेदवार जिताउन लागिपरेका छन्। कर्णाली प्रदेशमा सर्वसम्मत गराउने जिम्मा इन्चार्ज लेखराज भट्टलाई दिएर बिहीबार काठमाडौं फर्किएका उनी सिधै च्यासल आएका थिए।
उनी आएपछि कार्यकर्ताले केहीबेर कैलाशको पक्षमा नाराबाजी गरे। बाहिर सन्देश जाला भन्ने भयले उनी हतारहतार भित्र पसे।
पदाधिकारी तहका नेताहरू आ-आफ्ना उम्मेदवार जिताउन भित्रभित्रै लागे पनि पोलिटब्युरो सदस्यद्वय गोकुल बाँस्कोटा र महेश बस्नेत आमुनेसामुने देखिएका छन्। बाँस्कोटा दाहालको पक्षमा छन्। बस्नेत ढुंगेलको पक्षमा देखिएका छन्।
दुबैको नेता केपी शर्मा ओली नै भए पनि भूगोलमा एकले अर्कालाई स्वीकार्दैनन्।
कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्यद्वय गोरख बोगटी र यामलाल कँडेलले आ-आफ्नो उम्मेदवार अघि सारेका छन्। अध्यक्ष ओली र महासचिव पोखरेलले इन्चार्ज लेखराज भट्टलाई राखेर सर्वसम्मतिले नेतृत्व छान्न भने पनि बागमतीको प्रभाव पर्ने निश्चितै छ।
अध्यक्ष ओली र महासचिव पोखरेलले कर्णाली अध्यक्षमा मीनबहादुर शाहीलाई घोषणा गर्न दबाब दिएका छन्।
अहिले यामलाल कँडेल पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह र सचिव ध्रुवकुमार शाही राखेर प्यानल बनाउने कसरतमा जुटेका छन्।
कोशीमा पनि विनोद ढकालविरूद्ध उम्मेदवार अघि सार्ने तयारी भइरहेको छ। विशाल भट्टराई, यज्ञराज सुनुवारलगायतका नामसमेत चर्चामा ल्याइएको छ। तर, मैदान ढकालकै पक्षमा देखिएका एमालेका नेता बताउँछन्।
‘दोस्रो तहमा प्रभाव जमाउन सक्ने नेताको अभाव देखियो,’ एमालेका एक नेताले भने, ‘दोस्रो तहका नेता कसैले कसैलाई नस्वीकार्दा सातै प्रदेशमा प्यानल बन्ने र चुनाव हुने देखिन्छ।’
एमालेमा नवौं महाधिवेशनपछि लोकतान्त्रिक अभ्यास ठीक ढंगले हुन सकेको छैन। नेतृत्व जाम भएर रहेको छ। प्रदेश कमिटीहरूको आकार विधानले तय गरेको भन्दा पाँच गुणासम्म ठूला थिए।
संगठन कमिटी भएकाले प्रदेश सदस्यहरू तलैबाट प्रतिनिधि चुनिएर आउनुपर्ने अवस्था थियो। जसले गर्दा पनि पदाधिकारी र सदस्यमा आकांक्षी व्यवस्थापन गर्न सकस भएको छ।