काठमाडौं महानगरपालिका पहिले भएको सहमतिबाट पछि हटेपछि सामाजिक अभियन्ता ईः र उनका प्रतिनिधिसँगको वार्ता निष्कर्षविहीन भएको छ।
ईःका प्रतिनिधि र महानगर प्रतिनिधिबीच राष्ट्रिय सभागृहमा मंगलबार वार्ता भएको थियो। दिउँसोदेखि बेलुकी अबेरसम्म वार्ता हुँदा पनि कुनै निष्कर्ष निस्किन सकेन।
यसबीच सुरूमा सहमति भए पनि महानगरपालिका उक्त सहमतिबाट पछि हटेको अभियन्ता ईःले बताए।
ईःका अनुसार व्यवसायी र उनका प्रतिनिधिहरूले पहिलेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए। महानगर प्रतिनिधिहरूले उक्त माग स्वीकार गरेनन्।
त्यसपछि ईःका प्रतिनिधि र व्यवसायीले केही ठाउँको नाम लेखेर त्यहाँ व्यापार गर्न पाउनुपर्ने माग राखे। दसैं-तिहारजस्ता चाडपर्व नजिकिएकाले उनीहरूले ती ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए।
ती ठाउँमा छठसम्म निश्चित समय तोकेर व्यापार गर्न दिनेमा महानगरले सहमति जनाएको थियो।
'हामीले प्रस्ताव गरेका ठाउँमा व्यापार गर्न दिनेमा सहमति भइसकेको थियो। त्यसको मस्यौदा पनि व्यवसायीसम्म आइपुगेको थियो,' ईःले सेतोपाटीसँग भने, 'तर त्यो प्रस्ताव मेयर बालेन शाहको टेबलमा पुगेपछि फेरियो। वार्ताका सबै प्रयास विफल भए। सम्भावनाका ढोकाहरू बन्द भए। उहाँले आफ्नै प्रतिनिधिले स्वीकार गरेको कुरा बदलेर पठाउनुभयो। दुई पक्षबीच भएको सहमतिको प्रस्ताव नै बदलिदिनुभयो। मेयर बालेन शाहले यस्तो घमन्ड र अहंकार देखाउनुभएको छ। यस्तो नेतृत्व पालिकाका लागि मात्र होइन, देशकै लागि हानिकारक हुन्छ।'
मंगलबार बिहान आफूलाई भेट्न आउँदा उपमेयर सुनीता डंगोलले पनि आश्वासन दिएर गएको उल्लेख गर्दै उनले थपे, 'उपमेयरले मेरो भूमिका सीमित भए पनि नियम-कानुन बनाउन पहल गर्छु भन्नुभएको थियो। हामी आशावादी थियौं। तर अहिले सबै सम्भावना बन्द भए। मेरो आन्दोलन जारी रहनेछ। म खडा भइरहने छु।'
हामीले वार्तामा भएको यो विषयबारे महानगरका प्रतिनिधि तथा प्रवक्ता नवीन मानन्धरलाई पनि सोध्यौं। उनले पनि व्यवसायीहरूले ठाउँ तोकेर प्रस्ताव गरेको स्वीकार गरे।
'उहाँहरूले सुरूमा पहिलेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राख्नुभएको थियो। हामीले त्यसमा असहमति जनायौं,' काठमाडौं वडा नम्बर १७ का अध्यक्षसमेत रहेका मानन्धरले सेतोपाटीसँग भने, 'पछि उहाँहरूले ठाउँको नाम तोकेर दिनुभयो। ती ठाउँ तोकिएको प्रस्तावमा हामी सकारात्मक थियौं।'
उनले थपे, 'त्यसको मस्यौदा तयार भएको थियो। यसबारे खबर सार्वजनिक भएपछि ती ठाउँका वडाध्यक्षले हामीलाई फोन गर्न थाल्नुभयो। हामीसँग छलफल नगरी हाम्रो ठाउँमा किन राख्ने भन्ने कुरा गर्नुभयो। उहाँहरूले महानगरसँग कुरा पनि गर्नुभयो। त्यसैले हामीले प्रस्तावको मस्यौदामा ठाउँको नाम हटाएका हौं। वडाध्यक्षहरूसँग छलफल गर्न समय राखेका हौं।'
मानन्धरले छलफल चलिरहेकै बेला ईःका प्रतिनिधि र व्यवसायीहरूले उक्त प्रस्ताव सार्वजनिक गरेको बताए।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले मेयरको टेबलबाट बुँदा फेरिएको कुरा सत्य नभएको दाबी गरे।
'मस्यौदा नै सहमति होइन। मागहरूको निर्क्यौल मात्र आएको हो। उहाँहरूले छलफलकै बीचमा कुरा बाहिर पुर्याइदिनुभयो,' उनले भने, 'आजको सम्झौता नमिलेको कारण यही हो। छलफलका लागि एक साता माग्दा उहाँहरूले मान्नुभएन।'
ईः र उनका प्रतिनिधिले भने सुरूमा महानगरको वार्ता समितिले स्वीकार गरेको प्रस्ताव मेयरसम्म पुगेपछि फेरिएको बताएका छन्।
दुई पक्षबीच सुरू र पछि भएको प्रस्तावको मस्यौदामा चारवटा बुँदा उल्लेख छन्। बुँदा नम्बर एक, दुई र तीनमा कुनै बदलाव छैन भने चार नम्बरको बुँदा फेरिएको छ।
सुरूको मस्यौदाको चार नम्बर बुँदामा उल्लेख छ- साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ। कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत पछाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्र समेतमा दसैंतिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरूलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइनेछ।
पछिको पत्रमा भने 'साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ' भन्ने मात्र उल्लेख छ।
सुरूमा भएको सहमतिबाट पछि हटेकाले वार्ता निष्कर्षविहीन भएको ईः पक्षको भनाइ छ।
अब महानगरसँग कहिले वार्ता हुन्छ भन्नेबारे कुनै टुंगो नभएको पनि ईःले बताए। उनले बुधबार रातिसम्म उभिएर विद्रोह गरिरहने बताएका छन्। उनले तोकेको १९९ घन्टा बुधबार राति दस बजे पूरा हुनेछ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ईःले 'सौम्य विद्रोह' थालेका हुन्। उनी विगत आठ दिनदेखि उभिएका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने लगायत माग ई:ले राखेका छन्।
महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने माग पनि ई:ले गरेका छन्।
सुरूको प्रस्ताव
पछिको प्रस्ताव