नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन सोमबार (आज) बाट सुरू हुँदै छ।
आज बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए।
प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।
नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।
संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी मैदानमा देखिएका छन्। नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताए।
तर, सर्वसम्मतिका लागि प्रयास भइरहेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।
‘सर्वसम्मत बनाउनुपर्छ भनेर नेतृत्वले लाद्ने, निर्णय सुनाउने होइन कि, प्रतिनिधिकै बीचबाट सर्वसम्मत भएर आउनुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘पार्टी अध्यक्षज्यू ओखलढुंगा जानु भएकाले हामीले छलफल गर्न पाएका छैनौं। मैले बागमती प्रदेशको मौजुदा नेतृत्वलाई विधिमार्फत् नै टुंगोमा पुग्नूहोस् भनेको छु। केन्द्रीय नेताहरूले त्यसमा सहजीकरण गर्नुहुने छ।’
उनले मैदानमा देखिएका आकांक्षी क्षमतावान् भए पनि लामो समयदेखि पार्टी काममा क्रियाशील, कम जिम्मेवारी पाएकालाई चुन्नुपर्ने पनि बताइन्।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए।
रामेछापको तीन पटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन्। रामेछापको संसदीय निर्वाचनमा चारपटक पराजित भएका उनी २०७४ को निर्वाचनमा भने प्रदेश सभामा निर्वाचित भएका थिए।
कृष्ण दाहाल पनि भूगोलमा लामो समय पार्टी प्रमुख भएर काम गर्नेमा पर्छन्। मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका उनले तीन पटक चुनाव जिते। २०५१ सालमा कमल थापासँग पराजित भएका थिए।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापतिसमेत थिए उनी।
अहिले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका दाहालले नेतृत्व सहज ढंगले चयन हुने बताए।
‘पार्टी नेतृत्व यसमा निरपेक्ष नै रहन्छ, बस्नु पनि पर्छ। सकेसम्म सर्वसम्मतिको प्रयास हुन्छ। नभए उम्मेदवारहरू बसेर सहमतिको प्रयास गर्छौं। सहमति भएन भने प्रतिनिधिहरूले आफ्नो नेता आफैं छान्नुहुन्छ। पार्टीको विधि, पद्धति यही हो,’ उनले भने।
बागमती प्रदेश अध्यक्षमा अहिले केशव पाण्डे छन्। पार्टीको एउटा पंक्ति उनको नाममा सर्वसम्मतिको प्रयास पनि गरिरहेको छ।
तर, केही जिल्ला अध्यक्षबाहेक उनको पक्षमा नदेखिएकाले उनको नाममा सर्वसम्मतिको सम्भावना नरहेको एक नेताले बताए।
स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायत केही नेताको चाहना सानुकुमार श्रेष्ठ पनि देखिएको छ। अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन्।
उनी भूगोलबाटै प्रतिनिधि छानिएर आएका छन्। उपत्यकाका केही नेताहरूको चाहना उनलाई सर्वसम्मत अध्यक्ष बनाउन पाए हुन्थ्यो भन्ने पनि रहेको एक पदाधिकारीले बताए।
तर, चुनावै हुँदा कैलाश ढुंगेल र कृष्ण दाहालका बीचमा प्रतिस्पर्धा हुने ती पदाधिकारीको भनाइ छ।
एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ। प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुने छ। प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले निर्वाचित हुँदा २४० जना पुग्ने छ।
जिल्ला अध्यक्ष प्रदेशको पदेन अध्यक्ष हुने छन्। प्रदेश अध्यक्ष पोलिटब्युरोको पदेन सदस्य हुने छन्।
यो पनि-
एमाले बागमतीमा अध्यक्षका आकांक्षीको लर्को