आइतबार बिहान एक हुल कर्मीहरू राष्ट्रिय सभागृहको मूलगेट रंग्याउने ध्याउन्नमा थिए। कोही गेटको धूलो झार्दै थिए, कोही रङरोगन गर्दै थिए।
राष्ट्रिय सभागृह सिँगारपटार गर्न भ्याइनभ्याइ भइरहँदा त्यसैको आडमा सामाजिक अभियन्ता ईः गत मंगलबार दिउँसो १ बजेदेखि अविश्राम उभिइरहेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन 'सौम्य विद्रोह' थालेको बताउने ई:ले शुक्रबार साँझसम्म ७७ घन्टा उभिने निधो गरेका थिए।
तर काठमाडौं महानगरपालिका नेतृत्वको कानमा बतास नलागेपछि उनको आन्दोलन लम्बिएको छ।
उनले सुरूमा आफ्नो शालीन विद्रोह ४६ घन्टा लम्ब्याए। यसबीच काठमाडौं महानगरले वार्ता गर्छु भने पनि कुनै पहल गरेन। त्यसपछि ई:ले आन्दोलन लम्ब्याएर १९९ घन्टा पुर्याएको बताएका छन्।
छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन्। सुम्ला उठेजसरी पिडुँला फुलेका छन्। उभिएर विद्रोहको अनौठो शंखनाद गरेका ई:लाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी खान थालेको छ। रक्तसञ्चारमा गडबडी भएपछि पैतालाहरू सहनै नसक्ने गरी झमझमाउन थालेका छन्।
यति हुँदाहुँदै उनको अनुहारमा थकानका धब्बा भेटिँदैनन्। बरू विद्रोहको फिलिंगो उस्तै गरी जगमगाइरहेको देखिन्छ।
बाह्र वर्षदेखि कुनै न कुनै रूपले विद्रोहमा सामेल ई: विद्रोहको नयाँ विम्ब बनिसकेका छन्। सीमान्तकृतहरूको आवाज नयाँ ढंगले उद्घाटित गर्ने र रचनात्मक विद्रोहको बाटो अँगाल्ने उनको बेग्लै परिचय स्थापित छ। त्यसैले उनको आन्दोलनमा समर्थन जनाउने, गेटको सम्मुख पेटीमा ओछ्याइएको तुलमा हस्ताक्षर गर्ने र मौन साथ दिनेहरू दिनदिनै बढिरहेका छन्।
फुटपाथ व्यापारी तथा महानगरको ज्यादतीबाट उठिबास लागेका दीनहीनको मात्र होइन, बुद्धिजीवी, पेसाकर्मीहरूको पनि समर्थन थपिँदै गएको छ।
'पाँच दिनसम्म प्रवीण र सौरभ उभिनुभयो। फुटपाथबाट विस्थापित भएर रोजीरोटी गुमाएकाहरू पनि समूह-समूहमा आउनुहुन्छ, ऐक्यबद्धता जनाउनुहुन्छ,' ईःले भने, 'यसले रोजीरोटी खोसिएका दीनहीनहरूको आवाजको घनत्व बढ्दै गएको महसुस हुन्छ। अनि म आफ्नो सारा थकान, पीडा र ताडना भुल्छु। दृढ आत्मविश्वास लिएर विद्रोहमा उभिएका खुट्टा दह्रो पार्छु।'
महानगर प्रहरीहरूबाट प्रताडित सडक व्यापारीका पक्षमा आवाज उठाउँदै आएका ई: सत्ताको कुर्सीमा बसेकाहरूले आयआर्जनको अवसर निकाल्न नसक्दा सडकमा आश्रितहरू बढेको बताउँछन्।
'सडकमा कोही रहरले आइपुग्दैन। हुने खानेहरूलाई सडकको किनारमा हाड घोटेर सीमान्त जीवन बिताउने रहर पनि हुँदैन। शासकीय अकर्मण्यता र पुस्तैनी गरिबीको दुष्चक्रमा फसेका विपन्नहरू सडकपेटीमा आश्रय लिन आइपुग्छन्। फुटपाथलाई जीवन गुजाराको माध्यम बनाउँछन्,' उनले भने।
काठमाडौं महानगरपालिकाले भने ती सडक व्यापारीलाई सधैं आफ्नो वैरी ठान्यो। तिनले ऋण काढेर किनेका ठेलागाढा, खर्पन, साइकल जफ्त गरिदियो। यसले विपन्न परिवारको उठिबास लागेको छ। कतिपय सडकमा हात थाप्ने अवस्थामा पुगेका छन्। कति महँगो ऋण काढेर विदेश जान अभिशप्त छन्।
'हुँदा खाने विपन्न परिवारको तुलनामा मेरो पीडा केही पनि होइन,' दर्द लुकाउँदै ईःले भने, 'गरिखाने वर्गमाथिको अन्याय, अत्याचार र ज्यादतीविरूद्ध सामाजिक सञ्जालमा टिप्पणी, आलोचना गर्दै बसिराखेको थिएँ। त्यसो गर्दा म भित्रैभित्रै निसास्सिएको थिएँ। अहिले त्यो उकुसमुकुस पोख्न पाएँ।'
फुटपाथ व्यवसायीमाथि काठमाडौं महानगरपालिका आक्रामक बन्दा उनको चित्त थामिनसक्नु गरी फाटिएकै छ, त्योभन्दा बढ्ता पिरलो समाजले क्रूरता पचाउन सक्ने भएकोमा छ।
'हामी कहिलेदेखि यस्तो क्रूर भयौं? हाम्रो समाज त गरिब, बटुवालाई बाटोमा देख्यो भने पेटभर खुवाएर पठाउने, बेखर्ची फेला पर्यो भने खर्चबर्च दिएर पठाउने मनकारी हो,' उनले भने, 'विपन्नहरूमाथि यत्रो ज्यादती भइरहेको छ। अपराध भइरहेको छ। सबै मुख बाँधेर बसेका छन्। कोही बोल्दैनन्। त्यो पीडाले नै मलाई असाध्यै गाह्रो बनाएको हो। त्यो पीडाको तुलनामा खुट्टा सुन्निएको पीडा केही पनि होइन।'
काठमाडौं महानगरको मौजुदा नेतृत्वले मानवीय भावना र मूल्य–मान्यता भुलेर विपन्न वर्गको वस्तुकरण गरेको ईःको बुझाइ छ।
पछिल्लो स्थानीय तह चुनावमा बालेनको समर्थन गरेका ई:ले भने, 'त्यति बेला बालेनलाई समर्थन गर्न जरूरी थियो। पुराना पार्टीले काठमाडौंलाई असाध्यै हेपे। राम्रो, युवा र प्रतिभावान् उम्मेदवार जसरी आउनुपर्थ्यो, आएनन्। मानिसहरूले विद्रोहको मत दिएर उहाँलाई जिताउनुभयो।'
त्यसबाहेक सामाजिक सञ्जालका भिन्नभिन्न आयामलाई पनि बालेनले मजैले उपयोग गरे। पुराना राजनीतिक दलप्रतिको नैराश्यलाई आफ्नो पक्षमा पार्न सामाजिक सञ्जालका सबै कडीमा आफ्नो प्रभाव बढाए।
'युवा पंक्तिले बालेनलाई भरसिलो नेतृत्व स्वीकार गरेका थिए। बालेन हाम्रो नेता हो, यसले सबै ठिक पार्छ भनेर मानिसहरूले विश्वास गरे,' ईःले सम्झिए, 'नेता भएपछि उहाँले सहरको सबभन्दा कमजोर र संरक्षण गर्नुपर्ने वर्ग (सडक, फुटपाथ, नाङ्लो, खर्पनमा सामान बेचेर गुजारा चलाउने), परम्परागत व्यापारीहरूमाथि हिंसा र दुर्व्यवहार देखाउनुभयो।'
यति हुँदाहुँदै अहिले उनी बालेन र सुनीताको खोइरो खन्न आएका होइनन्। न त उनीहरूको विरोध नै गरिरहेका हुन्। उनी त चुनावअगाडिका बाचा सम्झाउन मेयर कार्यालयको गेटमा उभिएको बताउँछन्।
मेयर आउजाउ गर्ने मूलढोकामै उभिएर उनलाई आफ्नो प्रतिबद्धता सम्झाइरहेको उनको भनाइ छ।
'हिजो चुनावअगाडि जसरी तपाईंले फुटपाथ व्यवसायीलाई वैकल्पिक स्थान, वैकल्पिक समय, विभिन्न देशले प्रयोगमा ल्याएका इजाजत शुल्क आदिका माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ भनेर भन्नुभयो, आज महानगरबाट त्यसको उल्टो काम भइरहेको छ,' ईःले भने, 'महानगरले उनीहरूको व्यवस्थापन होइन, विस्थापन गरिरहेको छ।'
नगर प्रहरी र फुटपाथ व्यवसायीको दिनहुँको द्वन्द्व र नगर प्रहरी सिर्जित आतंक अन्त्य गर्ने चुनावअघिको आश्वासन पूरा होस् भनी खबरदारी गर्न उभिएको उनी बताउँछन्।
'म आजका नेता बालेन होइन, हिजोका उम्मेदवार बालेन खोज्दै महानगर कार्यालयको गेटमा आइपुगेको हुँ,' ई:ले भने।
'आज महानगर नेतृत्व आफ्नो कमी-कमजोरी ढाक्न उद्यत् छ। सानो काम गर्यो भने त्यसलाई बढाइचढाइ प्रस्तुत गर्छ,' उनले अगाडि भने, 'बालेनलाई देवत्वकरण मात्र होइन, ईश्वरीकरण भइरहेको छ। शास्त्रमा हेर्यो भने देवताहरूको पनि कमी-कमजोरी भेटिन्छ। तर उहाँलाई देव मात्र होइन, परम परमेश्वर, कुनै गल्ती नै गर्न नसक्ने मसिहाका रूपमा प्रस्तुत गरिएको छ। त्यो गलत हो। यस्तो ईश्वरीकरणले तत्काल लाभ होला, दीर्घकालमा न उहाँलाई राम्रो गर्छ, न लोकतन्त्रलाई।'
व्यवस्थित फुटपाथको भ्रम फिँजाइयो
महानगर नेतृत्वले 'काठमाडौंमा व्यवस्थित फुटपाथ थियो, त्यसलाई व्यवसायीले ओगटे' भन्ने भ्रम छरेको ईः बताउँछन्।
काठमाडौंमा फुटपाथ भत्काएर सडक चौडा गर्ने क्रम ५० कै दशकदेखि चलेको हो। अहिले विस्तार भइरहेको चाबहिल–साँखु, त्रिपुरेश्वर–नागढुंगा सडक खण्ड त्यसका प्रमाण हुन्। सहरका भित्री सडकको पनि यही हालत छ। कतिपय सडक पैदलयात्रीसमेत हिँड्न नसक्ने गरी साँघुर्याइएका छन्। खाल्डाखुल्डी र भ्वाङ फुटपाथको दुर्दशाको साक्षी छँदैछन्।
यति हुँदाहुँदै सडक साँघुरिनुको सम्पूर्ण दोष फुटपाथ व्यवसायीमाथि थोपरेर उनीहरूमाथि क्रूरतापूर्ण व्यवहार गरिएको र रोजीरोटी खोसिएको ई:ले बताए।
'हामी काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि उभिएका छौं। यहीँको फुटपाथमा भ्वाङ थियो। हामीले नै टालटुल पारेका हौं। अलि पर हेर्नुभयो भने त्यस्तै छ,' उनले भने, 'काठमाडौंमा पैदल यात्रुमैत्री फुटपाथ छन् भन्ने भ्रम पनि छरिएको छ। यथार्थ त्यस्तो होइन, काठमाडौं केवल गाडीमैत्री छ। महानगर नेतृत्वले साइकल, ठेलागाडा गुड्न नदिएर यसलाई झन् गाडीमैत्री बनाउने काम गरिरहेको छ।'
महानगर नेतृत्वमा सहर कसका लागि बनाउने भन्ने आधारभूत बुझाइमै उनी समस्या देख्छन्।
'सम्भ्रान्त वर्गका लागि मात्र हो कि गाडी हुनेहरूका लागि मात्र हो कि, सहर सबैको साझा हो?' उनको प्रश्न छ, 'बुझाइ थिग्रन नसकेपछि महानगर नेतृत्व लाठीमुङ्ग्री लिएर सडकमा निस्किएको देखिन्छ।'
'दृश्यम् फिल्मका अजय देवगनको भूमिका काठमाडौं महानगरको शासन पद्धतिमा देखिएको छ,' ईःले अगाडि भने, 'कुनै कुरामा पछि हट्यो भने कमजोर होइन्छ, निर्णय सच्यायो भने नेतृत्व कमजोर हुन्छ भन्ने मानसिकता देखिन्छ। मेरो विनम्र आग्रह के छ भने – शासक सच्चिँदा लोकतन्त्रलाई फाइदा पुग्छ।'
अभियन्ता ईःले देखेको खतरा अर्को पनि छ।
उनका अनुसार देशका ७५३ वटै पालिकाको नेतृत्व बालेनलाई हेरेर काम गरिरहेका छन्। बालेनको लोकरिझ्याइँ पछ्याइरहेका छन्। काठमाडौंमा डोजर चल्दा छिमेकी ललितपुर महानगरमा मात्र होइन, पोखरा महानगर र धनगढी उपमहानगरमा पनि डोजर चल्छ। काठमाडौंमा सडक व्यापारी हटाउने अभियान चल्दा देशभरि फुटपाथमा आश्रित व्यापारीमाथि धावा बोलिन्छ। काठमाडौंमा दस हजार सडक व्यापारीको उठिबास लाग्दा देशैभरिबाट सडक व्यापारी लखेटिने अवस्था आउँछ।
'बालेन र सुनीता मेयर र उपमेयर मात्र होइनन्, जनताले देशको भावी प्रधानमन्त्रीका रूपमा हेरेका व्यक्ति हुन्। उनीहरूले नै हिंसालाई प्रश्रय दिँदै जाने हो भने, जवाफदेही नहुने हो भने यसको प्रभाव कहाँसम्म पुग्छ? यो सोचनीय विषय हो,' उनले भने।
सहरमा आश्रित श्रमजीवीप्रति घृणा फैलिएकोमा ईःले चिन्ता व्यक्त गरे। फुटपाथबाट लखेटिएपछि उनीहरूले समाजमा पनि आश्रय नपाउने अवस्था बन्दै गएको उनको भनाइ छ।
'हाम्रो समाजमा श्रमजीवी र मजदुर वर्गलाई हेर्ने दृष्टिकोणमा फेरबदल आइसकेछ! उहाँहरूलाई वस्तुकरण गर्ने, उहाँहरूलाई व्यक्तिका रूपमा नहेर्ने, उहाँहरूको भावनाको उपेक्षा गर्ने, सडकमा रगत–पसिना बगाएर बाँच्ने वर्गलाई फोहोर कसिंगर मान्ने र कुचो लगाइहाल्नुपर्छ भन्ने चिन्तन बढेर गएको छ, जुन घातक हो,' ईःले भने।
उनी यसविरूद्ध उभिने साहस कसैको देख्दैनन्। असंगठितहरू त आएर उभिन सक्दैनन् नै, मूलधारको राजनीति गर्नेहरू पनि मूकदर्शक रहेको उनी बताउँछन्।
'कस्तो विडम्बनापूर्ण अवस्था छ भने मूलधारका पार्टीहरू यसमा मौन छन्। कांग्रेस, एमाले, समाजवादी त हुने नै भए, हिजो मजदुर वर्गलाई अघि सारेर हतियार उठाएकाहरूले पनि आज उनीहरूका पक्षमा चुइँक्क बोल्न सकेनन्। दीर्घकालमा यसले पार्टीकै अस्तित्वमा प्रश्नचिह्न उठाउँछ,' उनले भने।
ई:को यो आन्दोलन सुरू भएपछि सडक व्यापारीहरूको आत्मबल बढेको देखिन्छ। उनीहरू 'नगरपालिकाले छुट्टयाएको ठाउँमा बस्छौं र तोकिएको शुल्क बुझाउँछौं, गरिखान देऊ' भन्दै ईःसँग हातेमालो गर्न आइपुगेका छन्।
'हाम्रो त कोही रहेनछ भनेर निःसहाय बनेका थियौं। महानगर त हाम्रो भएन भएन, संघीय सरकारप्रति पनि हाम्रो चित्त दुःखाइ थियो,' राष्ट्रिय स्वतन्त्र व्यापार व्यवसायी समूह नेपालका अध्यक्ष सुजन गिरीले सेतोपाटीसँग भने, 'दसैंको मुखमा गरिखान पाउँछौं भन्ने आस पलाएको छ।'
महानगरको अभियान बिथोल्ने गरी फुटपाथ व्यवसायीले ठाउँ नखोजेको उनले बताए।
'सहरको सौन्दर्य र फुटपाथको महत्त्वबारे हामी सचेत छौं। तर श्रमजीवीले सहरमा गरी खान पाउनुपर्यो भन्ने हाम्रो माग हो। महानगरले ठाउँ र शुल्क तोकोस्, त्यसमा रहेर हामी व्यापार गर्छौं,' उनले भने।
वार्तामा बालेन!
छ दिनसम्म सभागृहको गेटमा मूर्तिवत् उभिइरहँदा ईःलाई मेयर बालेनको कार्यालय आउजाउ गर्ने समय कण्ठस्थ भइसकेको छ।
बालेन प्रायः १० बजेर २५ मिनेटमा कार्यालय आउने गरेको उनले बताए। कार्यालयभित्र छिरिरहँदा बालेनसँग देखादेख नहुने होइन, तर संवाद भएको छैन।
शनिबार महानगरका प्रतिनिधि ईःसँग अनौपचारिक कुराकानीका लागि आएका थिए। त्यसले वार्ताको वातावरण बनाउने ईःले विश्वास व्यक्त गरेका थिए।
ईःसँगको वार्ताबारे काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई हामीले सोधेका थियौं। उनले आइतबार अपराह्न ४ बजे वार्ताका लागि समय निर्धारण गरिएको बताएका थिए। तर त्यो वार्ता हुन सकेन।
ई:ले भने आफूलाई वार्ताबारे कुनै जानकारी नभएको बताएका छन्।
यी पनि पढ्नुस्: