कोशी प्रदेश अध्यक्ष बन्न नेकपा (एमाले) का चार जना नेताले दौडधुप सुरू गरेको महिनौं भइसकेको छ।
ती चारै नेता आफू अनुकूल प्रतिनिधि छनोटको आकांक्षासहित केही महिनायता प्रदेशका १४ वटै जिल्ला दौडाहामा व्यस्त रहे।
प्रदेशका ९५ हजार १ सय ३९ जना पार्टी सदस्यमध्येबाट ११ सय हाराहारीमा चयन हुने प्रदेश अधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा पुगिसक्दा पनि चारै जना आकांक्षीले सार्वजनिक रूपमा उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्।
कोशीमा शुक्रबार (आज) दिनभरीमा प्रतिनिधि छनोट टुंगिदैछ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशन मिति आउन एक साता मात्रै बाँकी छ। अहिलेसम्म पनि सबै आकांक्षी बालकोटको संकेत पर्खेर बसेका छन्।
एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यद्यपि यी सबै नेताहरू नेताहरु अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रीन सिग्नल’ पर्खेर बसेका छन्।
‘अध्यक्ष ओलीसहित पार्टीका धेरै प्रभावशाली नेताहरुको गृह प्रदेश भएका कारण प्रदेशको नेतृत्वमा आफू अनुकूल नेतृत्व स्थापित गर्ने दौड चलिरहेको छ’, एक केन्द्रीय सदस्यले भने ‘अब अध्यक्षको संकेत कसलाई हुन्छ भन्ने कुराको प्रतिक्षा बढी छ।’
अध्यक्ष ओलीसहित सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू अग्नि खरेल, गुरु बराल, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डितलगायतका नेताहरू आफ्नो प्रदेशमा आफू अनुकूल नेतृत्व स्थापित गर्ने इच्छामा छन्। यद्यपि प्रदेशबाट स्थायी कमिटीमा प्रतिनिधित्ुव गर्ने बहुसंख्यक नेताहरू अध्यक्ष ओलीको संकेत पर्खेर बसेको स्रोतको भनाइ छ।
सम्भवतः बालकोटको संकेत कतातिर हुन्छ भन्ने प्रतिक्षामा रहेका अध्यक्ष पदका चारै जना आकांक्षीले ‘साथीहरूसँग छलफलमा रहेको, पार्टीभित्र सल्लाह गरिरहेको’ बताइरहेका छन्।
सार्वजनिक रुपमा ‘पार्टीका साथीहरुसँग छलफल गरिरहेको’ बताउने सबै आकांक्षीहरू खासमा बालकोटको संकेत पर्खेर बसेको एमाले नेताहरू बताउँछन्।
स्थायी कमिटी सदस्य शेरधन राई भने कसैले पनि कहीँको संकेत नपर्खेको पार्टी नेतृत्व लिन दाबी पेश भइरहेको बताए। ‘पार्टीको प्रदेश नेतृत्वमा नेताहरूले आकांक्षा राख्नु अनौठो भएन,’ उनले भने, ‘तर, पूर्व राष्ट्रपति वा अध्यक्षको संकेत भन्ने कुरा गलत हो। नेतृत्व प्रदेशका प्रतिनिधिहरूले चयन गर्नुहुनेछ।’
एमाले प्रदेशका नेताहरूका अनुसार अहिलेसम्मको अवस्थामा चार जनाको आकाङ्क्षा देखिए पनि अन्तिममा दुई जनाको मुख्य दाबेदारी रहने सम्भावना छ। जसमध्ये विनोद ढकाल एक जना अनि तुलसी न्यौपाने र घनश्याम खतिवडामध्ये एक जना गरी दुई जना प्रबल दाबेदार छन्।
‘चार जनामध्ये विनोद ढकाल अध्यक्षको एक दाबेदार निश्चित हो’, एमाले स्रोतले भन्यो, ‘अब तुलसी न्यौपाने र घनश्याम खतिवडामध्ये अर्को को हुने भन्ने यकिन हुन बाँकी छ।’
ती नेताका भनाइअनुसार प्रदेशमा निर्वाचनबाटै नेतृत्व चयन हुने सम्भावना बलियो छ।
‘लुम्बिनीमा चुनावमार्फत नेतृत्व चुनिएपछि यहाँ पनि सम्भावना उच्च भएको छ,’ ती नेताको भनाइ छ ‘तर, अन्तिम समयसम्म सहमतिकै आधारमा नेतृत्व चयन गर्ने पहल जारी रहनेछ। समय छ। अहिले सबै सम्भावना खुला छ।’
पार्टीको पदेन पोलिटब्युरो सदस्य हुने र प्रदेश पार्टीमा कार्यकारी भूमिका पनि रहने भए पछि धेरैतिर केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन्। त्यसबाहेक वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुख, प्रदेश र प्रतिनिधिसभा सदस्यले पार्टीमा कार्यकारी भूमिका नपाउने भएपछि पार्टी प्रदेश अध्यक्षमा यसअघि निर्वाचन हारेका नेताहरुलाई दाबी गर्न सजिलो भएको छ।
अध्यक्षका चार आकांक्षीमध्ये सबै जना ओलीकै समूहका नेताहरू हुन्। तर, त्यसभित्र पनि प्रदेशका अन्य नेताहरुको इच्छा र लविङका कारण ओलीको संकेत कसलाई हुने भन्ने टुंगो छैन।
स्रोतका अनुसार अध्यक्ष ओली निकट नेता विनोद ढकाल पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट छन्। एमाले मोरङमा दुई कार्यकाल पार्टी प्रमुख रहेका ढकाललाई अध्यक्ष बनाउन ओली तयार छैनन्। ढकालप्रति ओली सकारात्मक नभएकै कारण न्यौपाने र खतिवडा अध्यक्षको तर्फबाट उम्मेद्वार बन्ने कसरतमा छन्।
‘मोरङ र कोशी प्रदेशमा उहाँ (ओली) को टिम बलियो पार्न लागेको लाग्यै गरे पनि अध्यक्षले विनोदजीलाई सधैं भूमिका दिन अस्वीकार गर्दै आउनुभएको छ’, ढकाल निकट एक नेताले भने ‘यसपटक पनि त्यस्तै संकेत छ। तर, प्रतिष्पर्धाका लागि उहाँ तयार रहेकाले समस्या छैन।’
ढकाल स्वयम्ले भने ‘अहिले पनि साथीहरुसँग छलफल चलिरहेको, नेताहरुसँग पनि परामर्श गरिरहेको’ मात्रै बताए। पार्टीको जिम्मेवारी लिन खोजेको संकेत मात्रै गर्दै उनले भने, ‘अहिले पनि सल्लाहकै क्रममा छु। थप परामर्शपछि मात्रै यसबारे प्रष्ट होला। अहिले हामी प्रतिनिधि छनोटमा व्यस्त छौं।’
अध्यक्षका अर्का दाबेदार हालका प्रदेश अध्यक्ष न्यौपाने पनि ‘सल्लाहकै क्रममा रहेको’ बताउँछन्।
‘हामी प्रतिनिधि छनोटको चरणमा छौं, अहिले साथीहरुसँग छलफलकै क्रममा छौं,’ न्यौपानेले भने ‘पार्टीका साथीहरूको राय, सुझाव अनुसार अघि बढ्ने तयारीमा छु।’ प्रदेशको हालका अध्यक्ष न्यौपाने संखुवासभाका नेता हुन् ।
उनी २०७४ मा प्रदेशसभा सदस्यमा चुनिएका थिए । संखुवासभाबाटै प्रतिनिधित्व गर्ने नेता राजेन्द्र गौतमसँग कुरा नमिलेपछि माधव नेपालतिर लागेका न्यौपाने एमाले विभाजनअघि नै ओलीतिरै फर्किएका थिए। छोटो समय भीम आचार्य मुख्यमन्त्री बन्दा उनी प्रदेशको आर्थिक मामिलामन्त्री बनेका उनी पछिल्लो समय ओलीको विश्वास कमाएका नेता हुन्।
अर्का दाबेदार खतिवडाले पनि छलफलकै क्रममा रहेको बताए। तर, उनी पार्टीलाई नेतृत्व गर्न आफू चुनाव लड्न पनि तयार रहेको बताउँछन्। ‘अहिले छलफलकै चरणमा छौं, सहमतिको सम्भावना कायमै छ,’ उनले भने ‘तर, निर्वाचन हुने अवस्था हुँदा मेरो उम्मेदवारी रहन्छ।’
खतिवडा यसअघि मोरङ-१ बाट संघीय संसद्का सदस्य भइसकेका पुराना नेता हुन्। कुनैबेला माधव नेपाल निकट उनी नवौं महाधिवेशन देखि ओली निकट बनेका नेता हुन्।
ओली निकट एक नेताका अनुसार न्यौपाने र खतिवडामध्ये ओलीले एक जनालाई संकेत दिने सम्भावना छ।
अध्यक्षकै दाबीमा रहेका अर्का नेता चेम्जोङलाई भने कमिटीमा जातीय सन्तुलन मिलाउन पदाधिकारीमा मिलाएर लैजाने तयारी भइरहेको एमाले नेताहरू बताउँछन्। धनकुटाका चेम्जोङ अहिले प्रदेश कमिटीको उपाध्यक्ष हुन् भने संविधानसभा सदस्य रहिसकेका उनी धनकुटाको पार्टी नेतृत्व सम्हालिसकेका नेता हुन्।