नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ।
बिहीबार दिउँसो सुरू केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले अहिलेसम्म भए गरेका कामकारबाही र बाँकी कामबारे जानकारी गराएका छन्।
उनले अहिलेसम्म १६ विभाग गठन भएको र अन्य विभाग गठनकै क्रममा रहेको बताएका छन्।
महामन्त्री थापाका अनुसार महासमिति बैठक, समसामयिक विषयलगायत एजेन्डामा केन्द्रीय समितिमा छलफल हुन्छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक सुरू हुनुअघि ८ जनालाई केन्द्रीय सदस्य मनोनीतसमेत गरेका थिए।
सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।
कांग्रेस केन्द्रीय समिति बैठक विधानअनुसार २ महिनाको अन्तरालमा बसेको हो। यसअघि साउन २ देखि १० गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो।
तस्बिरहरू: